पर्खेको पर्खै आना !

खबर खुराक

काठमाण्डौ, १६ चैत । फिल्म ‘जेरी’ पछि धेरै निर्देशक तथा निर्माताको रोजाईमा परेकी अभिनेत्री आना शर्मा अहिले गुमनाम जस्तै छिन् । उनले फिल्ममा काम नगरेकै दुई वर्ष भन्दा बढी भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ मा देखिएकी थिइन् । नेपालको पहिलो हलिउड फिल्म भनेर प्रचार गरिए पनि फिल्मले हलमा सिन्को भाँचेन ।

न त आनाको अभिनयकै प्रशंसा भयो । यो फिल्म भन्दा अगाडि उनले हेमराज विसी निर्देशित फिल्म ‘ग्यांगस्टार ब्लूज’ मा काम गरेकी थिइन् । यसमा उनको अपोजिटमा अभिनेता आशिरमान देशराज जोशी थिए । प्रदर्शन भन्दा अगाडि फिल्मको हल्लाखल्ला ठूलै थियो । तर, बक्सअफिसमा फिल्मले आशातित व्यापार गर्न सकेन । ‘ब्याक टू ब्याक’ दुई फिल्म असफल भए पछि यति बेला आनाको करिअर धरमरको स्थितिमा छ । यसै वर्षको साउनमा उनले प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्म साइन गरेकी थिइन् ।



उनी सँगै फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता मनिष राउत पनि अनुबन्ध भएका थिए । परिस्थिति सामान्य भए पछि फिल्मको छायांकन सुरु हुने बताइएको थियो । तर, निर्देशक पौडेलले यो फिल्म भन्दा अगाडि शुक्रवारबाट अर्को फिल्म ‘बिहे पास’ को छायांकन थालेका छन् ।

छायांकनका लागि ८ महिना कुरिसकेकी आनाले निर्देशकका कारण अझै केही महिना पर्खिनु पर्ने देखिन्छ । जसले गर्दा दर्शकले आफूलाई विर्सिने त होइनन् भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । फिल्मको छायांकन सुरु भइदिएको भए उनलाई धेरै राहत हुने थियो । तर, छायांकन नै कहिलेबाट सुरु हुने भन्ने ठेगान छैन । प्रदर्शन त झन् कहिले कहिले । तनाव छ आनालाई पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *