तीन महिने ढाका सिलाई कटाई तालिम सम्पन्न

खबर खुराक

पाल्पा, १८ चैत । दलित महिला संघ पाल्पाको आयोजनामा तानसेनमा संचालित तीन महिने ढाका सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापन समारोहमा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सिकेको सीपलाई जीवन व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । उहाँले सिकेको सीपलाई व्यवसायिक बनाउन सुझाव दिनुभयो । सीपलाई गुणस्तरीय बनाइ व्यवसाय गर्न चाहेका महिलालाई स्थानीय सरकारले आवश्यक सहयोग गर्ने शाहीले बताउनुभयो ।

वडा नम्बर ६ का वडाध्यक्ष सागरमान महर्जनले आधारभूत तालिम सिकेका महिलालाई गुणस्तरीय तालिमको व्यवस्था मिलाइने बताउनुभयो । ढाका व्यवसायी संघ पाल्पाको आयोजनामा हुने उन्नत तालिममा यस तालिममा सहभागी भएका महिलालाई पनि सहभागी गराउने उहाँले बताउनुभयो । ढाका व्यवसाय आम्दानीको राम्रो स्रोत भएको उहाँले बताउनुभयो । ढाकासम्बन्धी कामबारे दक्ष महिला बेरोजगार बस्नु नपर्ने महर्जनले बताउनुभयो ।



कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तीर्थ प्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य गोमा गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, पत्रकार कृष्ण दर्नाल, प्रशिक्षक अर्जुन रणपाल लगायतले सिकेको सीपलाई कार्यान्वयनमा ल्याइ आर्थिक उपार्जनमा जोड्न सुझाव दिनुभएको थियो । तालिममा सहभागी शोभा गैरेले सिलाई तालिम पाएकोमा खुसी लागेको बताउनुभयो ।

आफूहरुलाई व्यवसाय गर्नको लागि आर्थिक तथा भौतिक सहयोग गर्न उहाँले माग गर्नुभयो । करुणा जर्मनीको आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा १८ जना महिला सहभागी थिए । कर्मठ बालिका तथा सीमान्तकृत समुदायका बालिकाहरुका लागि शैक्षिक उपलब्धी प्रवद्र्धन परियोजना अन्तर्गत तालिम दिइएको कार्यक्रम संयोजक साबित्रा विश्वकर्माले बताउनुभयो । आमा आर्थिक रुपले सबल भए छोरीलाई अध्ययनका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

दलित महिला संघ पाल्पाका अध्यक्ष शान्ति गहतराजको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तुलसी प्रिथीले गर्नुभएको थियो । तालिममा ढाकाका टोपी, व्याग, बच्चाले लगाउने भोटो लगायतका कपडा सिलाउन सिकाइएको थियो । तालिममा सहभागी महिलालाई सिलाउने मेसिन समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *