पश्चिम बंगालमा चुनाव : हिंसात्मक झडपमा दुई जनाको मृत्यु

खबर खुराक

भारतको पश्चिम बंगाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा विधानसभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ। ठूला भेला हुन प्रतिबन्ध लगाइए पनि बंगाल राज्यको सत्तारूढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरूबीच ठाउँठाउँमा झडप भएका छन् ।

राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उनको दल भारतीय जनता पार्टी र पश्चिम बंगालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ। बंगालको नन्दीग्राम शहरमा खासगरी दुवै पक्षबीच कडा प्रतिस्पर्धा छ। त्यहाँको वातावरण पनि निकै तनावग्रस्त छ ।



प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी यही नन्दीग्रामबाट उठेकी छन् । गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कंग्रेसका नेता यसपटक ममता बनर्जीलाई छाडेर भाजपाबाट चुनाव लड्ने भएपछि वातावरण अझ तनावग्रस्त बनेको छ । बिहीबार नन्दीग्रामको मतदान केन्द्रबाहिर भेला भएका ठूलो संख्याका बनर्जीको पार्टी त्रिणमुल कङ्ग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भएका छन् ।

निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाए पनि दुवै दलले त्यसलाई अवज्ञा गरेका छन् । पश्चिम बंगालमा आठ चरणमा मतदान हुँदैछ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। आगामी अप्रिल २९ मा अन्तिम चरणको चुनाव हुनेछ। बिहीबार भइरहेको दोस्रो चरणको चुनावमा नन्दीग्राम सहित ३० वटा निर्वाचन क्षेत्र रहेका छन् । नौ करोडभन्दा बढी जनसंख्या रहेको पश्चिम बंगालमा करिब सात करोड ३० लाख योग्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना आगामी मे २ मा हुनेछ । भारतमा हाल पश्चिम बंगाल सहित असम, केरला, तमिल नाडु र पुडुचरीमा विधान सभाको चुनाव हुँदैछ। असम राज्यमा तीन चरणमा निर्वाचन हुनेछ, जसको दोस्रो चरणको चुनाव आज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: