टेलिकमकाे टावर टिपेन, समस्या समाधान होस्

खबर खुराक

काठमाण्डौ, २० चैत । सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा शुक्रवार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा गुणस्तर’ विषयक अन्तरक्रियामा सांसदहरूले प्रत्येक वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीलगायत गाउँगाउँमा इन्टरनेट सेवा पुर्‍याउनु सरकारको योजना व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसकी नेतृ तथा सांसद चित्रालेखा यादवले सबैभन्दा पहिला ग्रामीण क्षेत्रमा देखिएको टेलिकमको टावरको समस्या समाधान गर्न सरकारसँग अपिल गर्नुभयो । पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले सरकारले अघि सारेको डिजिटल नेपालको फेर्मवर्कलाई पूर्णरूपमा सफल बनाउने गरी दूरसञ्चारको विकासमा जोड दिनुभयो । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भन्नुभयो, ‘दूरसञ्चार कम्पनीले जनताको पैसा चोर्छ भन्ने गुनासो छ, कसैलाई फोन गरेको हुँदैन तर पैसा काटिरहेको हुन्छ, यो समस्या के हो ।



प्रदेश नम्बर २ र वाग्मती प्रदेशका सांसद सहभागी कार्यक्रममा सांसद नवराज सिलवालले नेपाल टेलिकमले पैसा कमाएको छ तर गुणस्तरीय सेवा दिन सकेको छैन भन्नुभयो । सांसद गणेशकुमार पहाडीले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्नका लागि मिडियासम्बन्धी भएका ऐनरकानूनलाई संशोधन गरी सञ्चारमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार क्षेत्रमा देखिएका नीतिगत र अन्य समस्या समाधानका लागि लिखित सुझाव दिन आग्रह गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाललाई दूरसञ्चार मैत्री बनाउने उद्देश्यका साथ तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *