हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

खबर खुराक

नवलपरासी, २० चैत । गैँडा गणनामा खटिएको टोलीका सदस्यसहित टोलीमा खटिएका माहुते हात्तीबाट लडेर घाइते भएका छन् ।नवलपरासी बर्दघाट–सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका २ नजिक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैँडा खासा टेम्पल क्षेत्रमा गैँडा गणनामा खटिएका टोलीलाई जङ्गली हात्ती ध्रुबेुले लखेट पछि हात्तीबाट लडेर कम्तीमा पाँच जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

गैँडा गणनामा खटिएका प्राविधिक र माहुतेहरू घाइते भएको उहाँले बताउनुभयो । गैँडा गणनाका क्रममा जङ्गली हात्ती ध्रुबेु ले गणनामा प्रयोग भएको हात्तीलाई लखटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् । गणनामा खटिएको हात्तीलाई ध्रुबेु लखेट्दा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएका संरक्षण अधिकृत बरालले बताउनुभयो । हात्तीबाट लडेर गणनामा खटिएका प्राविधिक राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाहीको हरिपुर नगरपालिका ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ का ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको उहाँले बताउनुभयो ।



ध्रुबेु हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर र कोही भाग्ने क्रममा लडेर , ठोक्किएर घाइते भएका बरालले बताउनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरू सामान्य घाइते भएको उहाँले बताउनुभयो । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाण्डौ लगिएको छ । गम्भीर घाइते श्रेष्ठको नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको हो । नेपाल आर्मीको हेलिकप्टरमार्फत कावासोतीबाट उद्धार गरी श्रेष्ठलाई काठमाण्डौ पठाइएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ । UNN

Leave a Reply

Your email address will not be published. Required fields are marked *