प्रदेशी बनेका ४६ वर्षीय परियार घर फर्कदा न श्रीमती, न सम्पत्ति

खबर खुराक

काभ्रेपलाञ्चोकको पनौती–८ का एक युवा आफ्नो अंशको जग्गा बेचेको ३१ लाख रुपैयाँ श्रीमतीको खातामा राखेर मलेसिया उडे। रगतपसिनाले साटेर तीन वर्ष अवधिमा १२ लाख रुपैयाँ पठाए । तर, घर फर्किंदा न त्यो पैसा पाए न त अंश बेचेर ल्याएको सम्पत्ति बाँकी रह्यो । श्रीमती पनि आफ्नो रहिनन् । बरु उनी सम्बन्धविच्छेदको मुद्दा खेपिरहेका छन् । हालै विदेशबाट फर्किएका ती युवा काठमाडौं जिल्ला अदालत परिसरमा भेटिए। अदालतले घरि सम्पत्ति बुझाउने आदेश गर्छ घरि जग्गा बेचबिखन गरेको प्रमाण ल्याउन भन्छ। काठमाडौं–पनौती आउजाउ गर्ने गाडी भाडासम्म छैन । बेखर्ची अवस्थामा भेटिएका उनी अदालतमा तल–माथि गरिरहेका थिए ।

  • उनले १३ वर्षअघि तेह्रथुम खाम्लालुङकी युवतीसँग बिहे गरेका थि ए। श्रीमतीले तीन वर्षअघि एक्कासि विदेश जान आग्रह गरिन् । आफूले ब्युटिपार्लर सिक्न र व्यवसाय गर्ने भनेर श्रीमान्लाई पुख्र्यौली सम्पत्ति बेच्न लगाइन् । श्रीमतीलाई चाबहिलमा ब्युटिपार्लर खोलिदिएर आफूले मलेसियाको भिसा लगाए । श्रीमतीले कहिले जग्गा खोज्दै गरेको त कहिले बैना गरिसकेको भन्दै पैसा माग्थिन् । उनी कहिले ऋण गरेर पैसा पठाउँथे त कहिले दुई–तीन महिनाको अग्रिम तलब बुझेर । उनले नेपाल फर्किनु अघिल्लो दिनसम्मको तलब श्रीमतीकै खातामा पठाए । तर, फर्किन लागेको भन्दा श्रीमती खुसी भइनन् । बेवास्ता गरेर फोन काटिन् । एयरपोर्टमा लिन पनि गइनन्। काठमाडौंमा ओर्लिएर कोठा खोज्दै जाँदा सरिसकेकी रहेछन् । बरु पार्लरमा दुई जना पुरुषको साथमा भेटिइन् । केही दिनमा पैसाको हिसाबकिताब र भावी योजना सुनाउँदै गर्दा श्रीमतीले मान्छे लगाएर कुटाइन् । कोठाबाट लत्याएर निकालिन् ।

०००



मोरङको उर्लाबारी–४ आइतबारेका ४६ वर्षीय रामबहादुर परियार श्रीमती खोज्दै आफन्त, प्रहरी र छरछिमेक गुहारिरहेका छन् । परियारले १२ वर्ष विदेशमा दुःख गरेर कमाएको सम्पत्ति श्रीमतीसँगै गायब छ । ४२ वर्षीया सोना परियारले श्रीमान् आइपुग्नु अघिल्लो दिन नै घर छाडिन्। उनीहरूका २२ र १४ वर्षका छोरा र १९ वर्षीय छोरी छन्। बिहे गर्ने उमेर पुगेका छोराछोरी र श्रीमान् छाडेर सोना गाउँकै एक युवकसँग भागेको रामबहादुरले बताए । दुःखमा साथ दिएकी श्रीमतीले सुखका साथ जोबन काट्ने बेला घर छाडेकोमा रामबहादुर भावविह्वल बनेका छन्। ‘मेरा हरेक दुःखमा साथ दियौ । अब केही सम्पत्ति पनि जोडियो, छोराछोरीको कमाइ खाने बेला भयो । जस्तो अवस्थामा भए पनि फिर्ता आऊ उनले भने ।

०००

  • नुवाकोटका एक युवकले पुख्र्यौली अंश बेचेर काठमाडौं गोंगबुमा श्रीमतीका नाममा घर किने । त्यस पछि छोरा र श्रीमती छाडेर कोरिया गए । श्रीमती घरमा बसेर छोरा पढाउने, श्रीमान् कोरियामा कमाइ गर्ने। जिन्दगी राम्रै चलिरहेको थियो। श्रीमतीले छोरालाई पढ्न लन्डन पठाइन् । त्यस पछि घरै बेचेर दोस्रो विवाह गरिन्। तर, पूर्वश्रीमान्सँग पैसा मागिरहिन्। श्रीमतीको चाला उनले थाहा पाएनन् । चार वर्षमा घर आउँदा अर्कै व्यक्तिले गेट खोलेपछि उनी झस्किए । तब थाहा भयो कि दुई वर्षअघि नै घर बेचेर श्रीमती अन्तै गएकी रहेछन् । कोरियामा कमाएर पठाएको लाखौं रुपैयाँ, घर बेचेको ७० लाखसमेत श्रीमतीले उडाइन् । पीडितले श्रीमतीविरुद्ध मुद्दा हाले । पछि अदालतले ६ लाख रुपैयाँ दिलाएर मेलमिलाप गराइदियो । 

०००

उदयपुरका नवराज श्रेष्ठ काठमाडौंमा गाडी चलाउँथे । पछि ड्राइभिङकै कामका लागि कतार उडे। नाबालक छोरा र श्रीमतीलाई काठमाडौंमा डेरामा छाडे। उनी तीन वर्षमा फर्किंदा केही बाँकी रहेन। छोरालाई माइतमा छाडेर श्रीमती गायब भइन् । अर्को बिहे गरे पछि पनि श्रेष्ठ सँग निरन्तर फोन सम्पर्कमा रहेको खुल्यो । तर, श्रीमान् फर्किने दिन देखि सम्पर्क विहीन भइन् । श्रेष्ठले विदेशबाट १० लाख रुपैयाँ श्रीमतीका नाममा पठाएका रहेछन्। श्रीमतीसँगै सम्पत्ति गायब भयो ।
०००

  • यी त प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भित्रीयो । तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ। छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ । देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन् । श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन् । विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन्। यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ । श्रीमती हुँदा हुँदै अर्को बिहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नु पर्ने हुन्छ । तर, यस्तै अवस्थामा महिलालाई सजाय छैन । पहिलो श्रीमान्सँग स्वतः सम्बन्धविच्छेद भएको ठहरिने कानुनी व्यवस्था छ । अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन । घरसारमा पठाएको रकम मासियो, नासियो भनेको अवस्थामा सजाय गर्ने कानुन नै छैन ।

देवानी संहिताको लेनदेन महलमा साहु र आसामीको हकमा ऋण लिएको, दिएको, खाएको देखियो भने सावाँब्याज तिराइदिने, सम्पत्ति बन्डा गराइदिने व्यवस्था छ । कानुनअनुसार एकाघरमा श्रीमान् श्रीमती, दाजुभाइको बीचमा भएको सगोलको कारोबारमा ऋणधनको अर्थ लाग्दैन । यसलाई सगोलको सम्पत्ति मानिन्छ । सगोलमा सम्पत्ति भएको वादी प्रतिवादीले देखाउन सके मात्रै बन्डा लाग्ने अवस्था हुन्छ । तर, वैदेशिक रोजगारको हकमा एउटा पक्षले मैले पठाएको भन्छ र अर्को पक्षले मैले मासेर सके भन्छ भने अदालतले बाँकी सम्पत्ति देख्दैन’, भण्डारीले भने, अदालतले देख्ने सम्पत्ति भनेको नगदमा, चलमा र अचलमा कहाँ छ प्रमाण हेरेर मात्रै बन्डा लगाइदिने हो । अचलमा जग्गा जमिन छ भने मालपोतमा बुझेर स्रेस्ताअनुसार बाँडिदिन्छ । न देखिने सम्पत्तिलाई बन्डा गर्न सकिने कानुनी अवस्था छैन । नगद र गरगहनाको हकमा वादी प्रतिवादीले छ भनेर देखाउन सके भने मात्रै बन्डा हुनेछ । खातामा रकम रहेको प्रमाण हुनपर्‍यो । दसी प्रमाण देखाउन सक्नु पर्‍यो ।

  • प्रायः अन्तर्राष्ट्रिय प्रचलन, अधिकारकर्मी र एनजीओले उठाएका मागका आधारमा कानुन बन्ने हुँदा वैदेशिक रोजगारीमा गएकाको हक नसमेटिएको भण्डारीको दाबी छ । यही फितलो कानुनको फाइदा उठाई रेमिट्यान्समा मोजमस्ती गर्ने, पारिवारिक सम्बन्धमा बाधा पार्ने गरेको जनाइएको छ । रेमिट्यान्स पठाइएको छ भने पठाएको प्रमाणलाई आधार बनाएर बन्डा गरिदिनु पर्ने कानुन निर्माण हुन जरुरी छ  उनले भने, रीतपूर्वक, कानुनबमोजिम परिवारका सदस्यको खातामा रकम पठाएकोे प्रमाण छ भने यस्ता सम्पत्तिलाई अचल सम्पत्तिको रूपमा मानेर बन्डा लाग्ने, अंश लाग्ने, मासेनासे पनि तिर्नु पर्ने अवस्था हुने व्यवस्थासहितको कानुन बन्न जरुरी छ । प्रचलित अहिलेको कानुनले रेमिट्यान्सबाट पठाएको रकमलाई अचल सम्पत्ति मान्दैन ।

महिला हुन् कि पुरुष गलत कर्म गरेको छ भने सजाय हुन जरुरी छ । अहिले दुःख गर्नेले केही पाएन, ‘उडाउने’ले उन्मुक्ति पाउने अवस्था छ । जिल्ला अदालत काठमाडौंमा २०७६ साउन १ गतेयता सम्बन्धविच्छेदका ४ हजार १ सय ७८ मुद्दा दर्ता भएका छन् । यी मुद्दा अधिकांश वैदेशिक रोजगारमा जोडिएका छन् ।  वैदेशिक रोजगारमा गएका पुरुष फर्किएपछि ५० प्रतिशत जोडीमा समस्या देखिने गरेको जनाइएको छ । अधिकांश मुद्दामा रकम हिनामिना गरेको, घरपरिवार नहेरेको, बाहिर सम्बन्ध गाँसेको लगायतत समस्या देखिन्छ । भण्डारीका अनुसार यस्ता समस्या प्रायः मेलमिलापबाट टुंग्याइन्छ । यसबाट पनि पीडितलाई न्याय दिन सकिएको छैन । चार वर्षमा लाखौं रकम घर किन्न, जग्गा किन्न पठाएका हुन्छन् तर आउँदा केही हुन्न। मेलमिलाप गर्दा २–४ लाखमा सीमित हुनुपर्ने अवस्था छ । श्रीमतीले खर्च गरेर सकियो, मासियो भने पछि अदालतले क्षति पूर्ति भराइदिन सक्ने कानुनी व्यवस्था छैन ।

  • यस्ता मुद्दा प्रायः जिल्ला अदालतमा चल्ने हुँदा विशेष नजिर बन्न नसकेको उनको दाबी छ । पीडितहरू जिल्लामा हार्छन् । बेखर्ची भएका पीडितहरू उच्च र सर्वोच्च पुग्न सक्ने अवस्था छैन उनले भने, श्रीमतीले सडकमा पुर्‍याएका हुन्छन् उनीहरू कुन पैसाले मुद्दा लड्ने ? सर्वोच्चसम्म यस्ता मुद्दा नपुग्ने हुँदा नजिर बन्न सकेको छैन । वर्षौं कमाएको सम्पत्ति सकिने, परिवार र सम्बन्ध पनि बिग्रने गर्दा यसले समाजमा विचलन ल्याइरहेको देखाउँछ । धेरै जसो कुलतमा फस्ने, डिप्रेसनमा जानेलगायत गम्भीर समस्या पनि देखिएका छन् ।  
  • annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: