बर्दियामा बाघ संख्या बढे संगै असुरक्षा पनि बढ्यो

खबर खुराक

१६ चैत २०७७ बिहान ५ बजे घर नजिकैको खेतमा पानी लगाउन गएका बर्दिया गेरूवा नगरपालिका १ जनकनगरका ३५ वर्षीय चुलाराम थारू पाटे बाघको आक्रमणमा परे । थारूको टाउको, कान र ढाडमा गहिरो चोट लागेको छ । घाइते थारूलाई आफन्तले एम्बुलेन्समा हालेर तत्कालै नेपालगञ्ज पुर्‍याएका थिए । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जको आईसीयू वार्डमा उपचाररत थारूले घटना विवरण सुनाउँदै भने- चैत महिना धान रोप्ने सिजन छ । खेतमा सिँचाइ गर्न गएको थिएँ । पानी लगाए पछि नजिकैको झाडीतिर दिसा गर्न जान लागेको थिएँ । झाडीमा बाघ बसेको रहेछ । एक्कासी मलाई आक्रमण  गर्‍यो । जोडले चिच्चाएँ ।

नजिकैका छिमेकीले होहल्ला गरेर बाघ लखेटेकाले म बाच्न सकेँ । अस्पतालका सहायक निर्देशक डा. रोमन किदवाइका भनाइमा पनि थारूको टाउको, कान र ढाडमा चोट लागेको  छ । उनी भन्छन्, ‘आईसीयुमा भर्ना गरेर उपचार गरिरहेका छौं । बिरामी होसमै हुनुहुन्छ । अस्पतालको तर्फबाट निको पार्न हरसम्भव कोसिस गरिरहेका छौं । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन आसपासका सामुदायिक वनमा घास दाउरा लिन, गाईबस्तु चराउन निकुञ्ज र निकुञ्जसँग जोडिएका सामुदायिक वनमा काम विशेषले पुग्ने मानिसहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका छन् ।



पछिल्लो एक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जको नजिकका बस्तीहरूमा बाघको आक्रमण बढ्दै गएको छ । २०७७ वैशाखदेखि चैत १९ गतेसम्म बर्दिया राष्ट्रिय निकुञ्जको विभिन्न क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भई सकेको छ भने ८ जना घाइते भएका छन् ।बाघले आक्रमण गर्ने क्रम बढ्दै गएपछि यो निकुञ्ज क्षेत्रसँग जोडिएको मधुवन, गेरूवा र ठाकुरबाबा गाउँपालिकाका बस्तीमा त्रास बढ्दै गएको छ । विशेष गरेर बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता करिडोर, गेरूवा नदी किनाराका बस्ती र पूर्व-पश्चिम राजमार्गको भुरीगाउँ कर्णाली क्षेत्रमा पाटे बाघले मान्छेलाई आक्रमण गर्ने गरेको छ ।

पीडितका आफन्तहरूले मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन सरकारसँग माग गर्दै आएका छन् । बाघको आक्रमणबाट पीडित परिवारका सदस्य अमरबहादुर थारू भन्छन्, ‘पहिला हात्ती गैंडाको डर थियो । पछिल्ला दिनहरूमा पाटे बाघको डर थपियो । साँझ पख घरबाहिर निस्कन, घाँस दाउरा गर्न, गाईबस्तु चराउन जाँदा पनि डराउनु पर्ने अवस्था आयो । उनले भने, ‘सरकारले मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना वा अन्यत्र राख्ने व्यवस्था मिलाउनु पर्‍यो । मान्छे माथि आक्रमणका घटना बढ्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियाले मान्छेमाथि आक्रमण गर्ने बाघ पहिचान गरेर नियन्त्रणमा लिन सुरू गरेका छन् ।

२०७७ पुस देखि अहिले सम्म गेरूवा नदी किनाराको क्षेत्रबाट २ वटा र खाता करिडोर क्षेत्रबाट एउटा गरी ३ वटा पाटे बाघ नियन्त्रणमा लिएर बर्दिया र बाँकेका ‘होल्डिङ सेन्टर’हरूमा राखिएको थियो । चैत ५ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको खैरीस्थित ‘होल्डिङ सेन्टर’ मा राखेको बाघ चैत ९ गते भागेको थियो । सेन्टरबाट भागेको त्यो पाटेबाघको आक्रमणबाट हालसम्म ७ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा बर्दियाको खाता करिडोर क्षेत्रका ५ जना र सीमावर्ती भारतीय क्षेत्रका २ जना रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका बाघ विशेषज्ञ डा. नरेश सुवेदीले बताए ।

डा. सुवेदीका अनुसार, खाता करिडोर क्षेत्रबाट नियन्त्रणमा लिइएको उक्त बाघ करिब ५ वर्षको भाले हो । त्यो बाघ आफ्नी आमासँग हुर्केने क्रममा छुटि्टएर खाता करिडोर क्षेत्रमा बस्दै आएको अनुमान छ । सात जना मान्छे मारिसकेको त्यो बाघ ‘होल्डिङ सेन्टर’ बाट भागेपछि बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कचनापुर शम्शेरगञ्ज क्षेत्रमा अहिले त्रास छ । बाघले आक्रमण गर्नसक्ने भनेर निकुञ्ज प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । त्यसै गरी गेरूवा नदी किनारा क्षेत्रबाट नियन्त्रणमा लिइएको पाटेबाघचाहिँ बुढो र घाइते छ ।

निकुञ्जभित्रै वयस्क बाघसँगको लडाइँमा घाइते भएर निकुञ्जको ‘कोर’ क्षेत्रबाट लखेटिएको अनुमान गरिएको त्यो बाघ बस्ती नजिकैको सामुदायिक वन क्षेत्रमा बस्दै आएको थियो ।बुढो र घाइते भएकाले शिकार खेल्न नसकेपछि त्यो बाघले घरपालुवा जनावर र मान्छेलाई आक्रमण गर्न थालेको डा. सुवेदीको भनाइ छ । उक्त बाघलाई नियन्त्रणमा लिएर अहिले बर्दिया निकुञ्जकै ‘होल्डिङ सेन्टर’ मा राखिएको हो । मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना, निकुञ्जकै ‘होल्डिङ सेन्टर’ र बाघको संख्या कम भएका अन्य निकुञ्जमा लगेर व्यवस्थान गर्ने गरिन्छ ।

अन्य निकुञ्जमा लगेर छाड्दा बाघमा रेडियो कलर जडान गरेर छाड्ने र रेडियो कलरबाट मोनिटरिङ गर्नुपर्ने सुझाव विज्ञहरूको छ । तर बाके निकुञ्जको होल्डिङ सेन्टरबाट भागेको बाघमा भने रेडियो कलर जडान गरिएको छैन ।बर्दियामा पाटे बाघले आक्रमण गरी सर्वसाधारणको ज्यान लिइरहँदा एउटा प्रश्न उठेको छ कि के बर्दिया निकुञ्ज क्षेत्रमा बाघको संख्या बढेका कारण सर्वसाधारणमाथि आक्रमण हुने घटना बढेको हो वा अरू पनि केही कारणहरू छन् ? विज्ञको भनाइमा बाघको संख्या बढेकै कारणले मात्रै आक्रमण बढेको भन्नचाहिँ मिल्दैन । एउटा उदाहरण, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय वर्गकिलोमिटर क्षेत्रमा ६ वटा पाटे बाघ बस्छन् ।

जबकि त्यही निकुञ्जसँग हावापानी, जैविक विविधता र आहार प्रजाति समान भएकोे भारतको नैनीताल क्षेत्रमा पर्ने कार्बेट नेसनल पार्कमा एक सय वर्गकिलोमिटर क्षेत्रमा १४ वटा पाटे बाघ छन् ।  कार्बेट नेसनल पार्कको क्षेत्रफल १२८८ वर्ग किलोमिटर छ । पछिल्लो गणना अनुसार त्यहाँ २ सय ५२ वटा बाघ छन् । तर यहाँ भन्दा दोब्बर बढी घनत्व भएर पनि कार्बेट नेसनल पार्क क्षेत्रमा बाघले मान्छेलाई आक्रमण गरेका घटना निकै थोरै छन् । दुवै निकुञ्जबीचको दूरी करिब ३ सय किलोमिटर मात्रै छ । हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्जमा २१ गरी १०८ वटा पाटे बाघ छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ र बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किमी क्षेत्रफलमा फैलिएका छन् । दुवै निकुञ्जको क्षेत्रफल जोड्ने हो भने करिब एक हजार ५१८ वर्गकिलोमिटर हुन्छ । त्यति क्षेत्रफलमा १७५ वटासम्म पाटे बाघ बस्न सक्छन् । यस हिसाबले बर्दिया र बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा अझै पनि थप ६० वटा पाटे बाघ बस्न सक्ने आकलन विज्ञहरूको छ । फेरि बाघको अहारा प्रजातिका जनावरहरूको संख्या पनि बर्दिया राष्ट्रिय निकुञ्जमा बढी छ । जरायो, बँदेल, लगुना र चित्तल बाघका लागि अहारा प्रजातिका वन्यजन्तु हुन् ।

राजमार्गमै बाघ

बर्दिया राष्ट्रिय निकुञ्जको भुरीगाउँ, चिसापानी खण्डको राजमार्गमै पछिल्ला दिनमा बाघ देखिने गरेको छ । निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले त्यहाँ बाघ देखिनु स्वाभाविकै भएको विज्ञहरूको भनाइ छ । २०७६ चैत्र महिनादेखि कोभिड १९ नियन्त्रणका लागि लकडाउन सुरू भएपछि राजमार्गमा यातायातका साधन खासै चलेनन् । पाटे बाघको बासस्थान क्षेत्रमा पर्ने भनिएको बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने अम्रेनीदेखि कर्णालीतर्फ जाने झण्डै १४ किलोमिटर पूर्व-पश्चिम राजमार्ग सडकखण्डमा त्यसयता बाघको चहलपलह बढेको छ ।

१५ फागुन २०७७ मा पूर्व-पश्चिम राजमार्ग अन्र्तगत् बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सको ठक्करबाट एउटा वयस्क पाटेबाघ घाइते भएको थियो । निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गको रम्मापुर-सैनवार सडकखण्डको बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट त्यो पाटेबाघ घाइते भएको थियो । यसअघि पनि पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडक बीचमा बस र कारको ठक्करबाट दुईवटा वयस्क पाटेबाघ मारिएका थिए । १७ पुस २०७७ राति पाटे बाघले निकुञ्ज क्षेत्रभित्रपर्ने राजमार्गबाटै एकजना महिलालाई आक्रमण गरेको थियो । आक्रमणमा परी ती महिलाको मृत्यु भयो । मोटर साइकलमा नेपालगञ्जबाट कर्णाली चिसापानी जाँदै गरेका आमा छोरामध्ये आमालाई बाघले आक्रमण गरेको थियो ।

सडकको किनारामा मोटरसाइकल रोकेर पिसाब फेर्न लागेका बेला ती महिला बाघको आक्रमणमा परेकी थिइन् ।भर्खरै मात्र वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत् ठोरीको शिकारी बासमा पनि गुडिरहेको अटोमाथि बाघले आक्रमण गरेको छ । १४ चैत २०७७ साँझ ७ बजे ठोरी गाउँपालिका- २ चोकबजारबाट विजय बस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए ।बाघको आक्रमणबाट अटो अनियन्त्रित भई पल्टिएको थियो । बाघ भने भारतको जंगलतर्फ छिरेका कारण कुनै मानवीय क्षति हुन पाएन । बाघले आक्रमण गरेको उक्त स्थान जंगली हात्ती, बाघ, भालु जस्ता जनावर आवतजावत गर्ने करिडोर हो ।

जोखिम बढे सँगै सावधानी

बाघले मानिस माथि आक्रामण गर्न थाले पछि बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बर्दियाले सूचना जारी गरी जंगलमा घाँस-दाउरा काट्न नजान आग्रह गरेको छ । कुनै कारणवश जंगलमा जानै परे समूहमा जान भनिएको छ । राजमार्ग किनारामा बाघको आक्रमण हुने सक्ने जोखिम बढेसँगै पुस १८ गतेदेखि निकुञ्ज प्रशासनले निकुञ्जको ‘कोर’ क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म ओहोरदोहोरमा रोक लगाएको छ । यसका साथै सवारी साधनमा लगाइएको ‘टाइम कार्ड’ मा थप कडाइ गरिएको छ । तीव्र गतिमा सवारीका साधनहरू कुदाउँदा ठोक्किएर वन्यजन्तुहरूको ज्यान जाने गरेपछि निकुञ्जले ‘टाइम कार्ड’ लागू गरेको हो । निकुञ्ज क्षेत्रभित्र रम्मापुरदेखि सैनवारसम्म २२ मिनेट र अम्रेनीदेखि कर्णाली चिसापानीसम्म २२ मिनेट समय तोकिएको छ । यसको अर्थ प्रतिघन्टा ४० किलोमिटरभन्दा कम गतिमा मात्रै यहाँ सवारी साधन चलाउन अनुमति दिइएको छ ।

राजमार्ग क्षेत्रमा बाघबाट थप आक्रमण हुन नदिन निकुञ्जभित्र पर्ने राजमार्गको दायाँ बायाँ ३१/३१ मिटर क्षेत्रमा रहेको झाडी तत्काल सफा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । पाटेबाघको ओहोर दोहोर हुने क्षेत्रको पहिचान गरी पूर्व-पश्चिम राजमार्गको कर्णाली चिसापनी क्षेत्र र हुलाकी सडकको खाता करिडोर क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने श्रीराम  नगर उपभोक्ता समिति ठाकुरद्वारा बर्दियाका पूर्वअध्यक्ष एवं संरक्षणकर्मी नवराज न्यौपानेले बताए । जंगली हात्तीलगायत वन्यजन्तुबाट हुने जनधनको क्षति रोक्न विक ल्पहरू अपनाउने प्रयास भइरहेका बेला पाटे बाघले मान्छे मार्न थालेपछि स्थानीयवासी थप त्रसित भएका छन् ।दूलर्भ वन्यजन्तु र लोपोन्मुख जनावर भएकाले बाघ संरक्षण राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राथमिकताको विषय भएको छ । बाघ हेर्नेका लागि वर्षेनि ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटकहरू बर्दिया निकुञ्ज क्षेत्रको भ्रमण गर्छन् ।

तर मान्छेको जीवन जोगाउनुभन्दा वन्यजन्तु संरक्षणको काम ठूलो हुन सक्दैन, त्यसैले मान्छे र वन्य जन्तु दुवै जोगिने खालको दिगो व्यवस्थापन जरूरी भएको संरक्षणकर्मी न्यौपाने बताउँछन् ।  बर्दिया निकुञ्जमा पाटे बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ को बाघगणना अनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ छन् । यस अघि सन २०१३ मा गणना गर्दामा यहाँ यो संख्या ५० थियो । संख्या बढेसँगै पछिल्लो समय बाघ आक्रमणका घटना पनि बढिरहेका छन् । पछिल्ला दिनहरूमा बर्दिया निकुन्जमा चोरी शिकारी धेरै हदसम्म नियन्त्रणमा छ । ६ पुस २०७३ गते साँझ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा यात्रु बसको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको थियो ।

२०७५ पुसको अन्तिम साता बर्दिया निकुन्जको सीमावर्ती क्षेत्रमा पर्ने गेरूवा गाउँपालिकाको धोकोनिया गाउन नजिकैको जंगलमा खेतमा बँदेललगायतका वन्यजन्तुका लागि थापेको करेन्टको पासोमा परेर मृत अवस्थामा पाटे बाघ फेला परेको थियो । त्यस यता बर्दियामा चोरी शिकारीका कारण बाघको मृत्यु भएको कुनै घटना सार्वजनिक भएको छैन । निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रको दायाँ बायाँ ३१/३१ मिटर क्षेत्रमा रहेको झाडीहरू सफा गर्नुपर्ने जिम्मेवारी सडक विभागको हो । सडक विभागले नियमित रूपमा झाडी सफा नगर्दा निकुञ्ज क्षेत्रभित्रको राजमार्ग किनार आसपास रूख, बिरूवा र घाँसले ढाकेको छ ।

यस्तोमा पाटेबाघ लुकेर बस्ने सम्भावना धेरै रहन्छ । तर, सडक डिभिजन कार्यालय नेपालगञ्जले झाडी सफा गर्न आफूसँग बजेट नभएको बताउँदै आएको छ । पूर्ववार्डेन थापाको भनाइमा, वन्यजन्तु त्यही घाँसमा बसिरहेका हुन्छन् । सवारी साधनको आवाज सुनेपछि तर्सिने र आक्रमण गर्ने जोखिम रहन्छ । त्यसैले, अर्को वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रूख, विरूवा र घास तत्काल काट्न जरूरी छ । थापाका भनाइमा, निकुञ्जभित्र पर्ने राजमार्ग र हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचनाहरू बनाउनु जरूरी छ । यसका लागि माथिबाट वन्यजन्तु हिँड्न मिल्ने, तलतिरबाट यातायातका साधन गुड्न मिल्ने (अन्डरपास) अथवा माथिबाट यातायातका साधन गुड्न मिल्ने र तलतिरबाट वन्यजन्तु ओहोरदोहोर गर्न मिल्ने खालका (ओभरपास) निर्माण गर्नुपर्ने पूर्ववार्डेन थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *