इजरायली हवाई आक्रमणबाट १८८ प्यालेस्टाइनीको मृत्यु

खबर खुराक

इजरायली हवाई आक्रमणबाट आइतबार बेलुकी सम्म प्यालेस्टाइनी क्षेत्रमा १८८ जनाको ज्यान गएको छ । दुई पक्षबीच शुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ। मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टाइनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ ।



इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेस्टाइनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्‌ । शनिबार राति दुबै देशका नेताहरूसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बास सँग एक्लाएक्लै फोन वार्ता गरेका हुन्‌ । इजरायली र प्यालेस्टाइनीबीच विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ ।

पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिविरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा एपी तथा अल जजिरालगायत विदेशी सञ्चारमाध्यमका कार्यालय रहेको टावरलाई पनि इजरायलले निशाना बनाएको छ ।

आक्रमणमा ती सञ्चारमाध्यमका कार्यालय रहेको भवन ध्वस्त भएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गए पछि चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आइतबारका लागि बोलाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: