पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बियो, थप कडाइ गरिने

मिलन विश्वकर्मा

पाल्पा, ३ जेठ । निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले तेस्रो चरण अन्तर्गत निषेधाज्ञाको समयावधि थप गरेको हो ।

यसअघि जारी गरिएको समय मंगलबार (भोली) राति १२ बजेदेखि सकिदै छ । थप गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि १५ गते शनिबारराति १२ बजेसम्म कायम रहने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो ।



थप गरिएको निषेधाज्ञाको समयावधिमा यसअघि भन्दा थप कडाइ हुने भएको छ । सडक तथा बजारका चोक चोकमा प्रहरी परिचालन गरिने छ । खाद्य पसल दैनिक दुइ घण्टा मात्र खुला रहने छन्। बिहान ७ देखि ९ बजेसम्म खाद्य पसल खुला रहने उहाँले बताउनुभयो । अन्य कुनै पनि पसल बन्द खुला गर्न पाइने छैन । विवाहमा १५ जना मात्र जन्ती जान पाउने छन् । १५ जनाभन्दा बढी मलामीसमेत जान नपाइने सहायक प्रजिअ घिमिरेले बताउनुभयो ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ का संक्रमितको संख्या पाल्पामा पनि दिनानुदिन बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लगाउनु परेको हो । जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी भएको उहाँले बताउनुभयो ।

यो सयमा अत्यावश्यक काम बाहेक कुनैपनि मानिस घर बाहिर निस्कन पाउने छैनन् । उनका अनुसार औषधि उपचार तथा अत्यावश्यक कामका लागि भने रोकावट हुने छैन् ।

औषधी पसल चौविसै घण्टा खुला रहने छ। स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द रहने छन् । यस्तै एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ, चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय जान आउन प्रयोग गर्ने, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी साधनहरू संचालन हुन पाउने उहाँले बताउनुभयो ।

यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन संचालनममा रोक लगाइएको छ। पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनले पाल्पाका कुनै पनि ठाउँमा यात्रु चढाउन वा ओराल्न पाउने छैनन् ।

आदेशको उल्लंघन गर्ने जो कसैलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने हुने छ । स्वास्थ्य मापदण्डको पालना गरेर कोरोना महामारीबाट आफू बाँच्न र अरूलाई पनि बचाउन घिमिरेले अपिल गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: