एमालेले सोध्यो थप १२ सांसदलाई स्पष्टीकरण, सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

झलनाथ-माधवसहित ११ जना पार्टी सदस्यबाट निष्कासित

खबर खुराक

काठमाडौँ , १० जेठ । नेकपा एमालेले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी गराएका छन् ।

एमालेले समर्थन फिर्ता लिएको ३० दिन भित्र मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।



नेकपा एमालेले थप १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने ११ सांसदलाई पार्टी सदस्यबाट निष्कासन गर्दै बाँकी १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

: नेकपा एमालेले पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले  खनाल, नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, कलिला खातुन र निरा देवी जैरू, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरीलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो।

गत शनिबार स्पष्टीकरण माग गरे पनि जवाफ नदिएपछि कारबाही गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने अन्यलाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए । आज एमालेका २३ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: