रिब्दीकोट गाउँपालिकाले सम्झियो स्वर्गीय पुष्पलाल र विपीलाई

खबर खुराक

पाल्पा, ७ साउन । रिब्दीकोट गाउँपालिकाले बिहिबार जननेता स्वर्गीय पुष्पलाल श्रेष्ठ र विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ ।

पुष्पलालको ४३औं र विपीको ३९औं स्मृति दिवशको सन्दर्भमा गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो । मञ्च र व्यानरमा पुष्पलाल र विपीको तस्बीर राखिएको थियो । कार्यक्रममा सहभागिले माल्यार्पण गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपाली काँग्रेसमा संस्थापक नेता स्वर्गीय विपीको योगदानबारे चर्चा गरिएको थियो ।



कार्यक्रममा उहाँहरूको जीवनीबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । नेकपा एमाले गाउँ कमिटी अध्यक्ष चिरञ्जीवी पोखरेलले पुष्पलाल र नेपाली काँग्रेस गाउँ सभापति रामचन्द्र पाण्डेले विपीको जीवनी र राजनीतिक सिद्धान्त र विचारबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

पछिल्लो समयमा एमालेले पुष्पलाल र काँगेसले विपीको नीति, सिद्धान्त र विचारलाई अवलम्बन गर्न छाडेको कार्यक्रममा सहभागिले बताएका थिए । जनतालाई सर्वोपरि ठानेर उनीहरूले राजनीति गरेको स्मरण गरियो । तर पछिल्लो समयमा अहिलेका नेताले जनता र राष्ट्रभन्दा पनि व्यक्तिगत अभिष्ट पूरा गर्ने सोंचका साथ राजनीति गरिरहेका बामपन्थी नेता माधव आचार्यले बताउनु भएको थियो । अहिले मुलुकमा राष्ट्रवादी नेता छैनन् । पद र कुर्सीका लागि राजनीति केन्द्रित गरिएका कारण मुलुकमा अस्थिरता पैदा भएको उहाँले बताउनुभयो । कम्युनिष्टले पुष्पलाल र काँग्रेसले विपीको विचारलाई बोकेर अगाडि बढे मुलुकको समृद्धि हुन्छ । अनुशासनहिन राजनीति र अराजकता पैदा गर्ने खालको राजनीतिले देश र जनताको कहिल्यै हित नहुने अचार्यले दाबी गर्नुभयो ।

राजनीतिक आस्था र विचार फरक फरक बोकेका भएपनि पुष्पलाल र विपिले देश जनताको हितमा काम गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । उनीहरूले मार्गनिर्देश गरेका नीति, विचार र आदर्शलाई निस्वार्थ भावनाले अवलम्बन गरेर अगाडि बढ्नुपर्ने केन्द्रका नेताहरूलाई उहाँले आग्रह गर्नुभयो ।

पछिल्लो समयमा राजनीतिले मुलुकको अवस्था बिग्रिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो । पुष्पलाल र विपीका राम्रा विचारको सम्मान गरेर अगाडि बढेमा मुलुकले निकास पाउने उहाँको बुझाइ छ । देश र जनताको हितमा राम्रा काम गरेका नेताको रुपमा चिनिएका पुष्पलाल र विपीका विचारलाई आम नागरिक समक्ष पु¥याउन गाउँपालिकाले नै स्मृति दिवसका अवसरमा यो कार्यक्रम गरेको उहाँले बताउनुभयो । हिजो उनीहरूले गरेका कामका बारेमा स्थानीय सरकारले सम्मानस्वरुप यो कार्यक्रम गरेको हो ।

शिक्षा शाखा प्रमुख मणी खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका गाउँस्तरका नेता तथा कार्यकर्ता र जनप्रतिनीधि तथा कमर्चारीको सहभागिता रहेको थियो ।

यसैबीच नेकपा एमाले पाल्पाले पनि एक कार्यक्रमको आयोजना गरी पुष्पलालको सम्झना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: