राजनीति

प्रदेश १ का मुख्यमन्त्रीले पाए विश्वासको मत : पक्षमा ५०, विपक्षमा २९

काठमान्डौं, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। कात्तिक १६ मा मुख्यमन्त्रीमा नियुक्त राईको पक्षमा बहुमत ५० मत परेको छ। विपक्षमा २९ मत परेको छ।

गठबन्धनको नेतृत्व गर्दै गत कात्तिक १६ गते गते राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


advertisement

प्रदेशसभामा बहुमत प्राप्त संसदीय दल नभएपछि संविधानको धारा १६८(२) बमोजिम उनी मुख्यमन्त्री बनेका थिए।

बुधबार भएको मत विभाजनका क्रममा प्रदेशसभाका ९२ सांसदमा ७९ जना उपस्थित भएका थिए।

जसअनुसार सभामुख प्रदीपकुमार भण्डारीले राईको पक्षमा ५० र विपक्षमा २९ मत परेको जानकारी दिए। उनका अनुसार मत दिन्न भन्ने पक्षमा कसैले मतदान गरेनन्।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता राईको नेतृत्वमा गएको कात्तिक १६ गते प्रदेश १ मा नयाँ सरकार बनेको थियो। मुख्यमन्त्री राईलाई एमाले बाहेक प्रदेश सभाका सबै दलले समर्थन गरेका छन्।

मुख्यमन्त्री राईले हिजै प्रदेशसभामा विश्वासको मत लिन खोजेका थिए। तर, प्रमुख विपक्षी दल नेकपा (एमाले) का सांसदहरू अनुपस्थित भएपछि विश्वासको मत लिने कार्यक्रम आजको लागि सारिएको थियो।

एमालेले मंगलबार विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेको थियो।

प्रदेश सभाको सत्ता गठबन्धनमा ५० सांसद छन्। सभामुखसहित प्रदेशसभामा हाल कायम सांसद संख्या ९२ छ। बहुमतका लागि मुख्यमन्त्री राईलाई ४७ मत आवश्यक थियो।

गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद थिए।

९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १-१ जना प्रदेश सांसद छन्।

स्वास्थ्य
%d bloggers like this: