नाम : अन्जना राना मगर

खबर खुराक
खबर खुराक ४ जेष्ठ २०७९, बुधबार
9 Min Read
Aa

नाम : अन्जना राना मगर

जन्ममिति :२०५८–१०–०४

तौल : ५२

हाईट : ५.३ इन्च

बुबा :क्षेत्र बहादुर रानामगर

आमा : शुसिला देवी रानामगर

शिक्षा : ११ मा अध्यनरत

झट्ट सुन्दा अचम्म लाग्न सक्छ । एउटा प्रश्न, १५ वर्षको उमेरमा एउटा छात्राले राष्ट्रिय फुटबल टिममा आफुलाई कसरी स्थापित गराउन सक्छ ?
यथार्थ यही हो, कलिलै उमेरमा अन्जना राना मगरले राष्ट्रिय महिला फुटबल टिममा आफुलाई स्थापित गराएकी छिन् ।

राष्ट्रिय टिममा उमेरले अरु भन्दा कम भएकाले सबैले उनलाई ‘कान्छी’ उपनाम दिएका छन् । सानै उमेरमा राष्ट्रिय टिममा आफुलाई स्थापित गर्न सफल अन्जना नेपाली फुटबलकै सम्भवत कान्छी पात्र हुन् ।

दुई साताअघि सकिएको प्रथम राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम आर्मी दोस्रो बन्यो । त्यही टिमको गोलपोस्ट समाल्ने भुमिकामा अन्जना थिईन् । विभागीय डर्बीमा आर्मीले सो खेल ३–१ ले गुमायो । तर, अन्जनाले खेलमा लोभलाग्दो प्रर्दशन गरिन् ।

‘खेल हार्नु दुखद कुरा हो, तर हरेक हारले जिततर्फ अघि बढ्न प्रेरित गर्छ ।’ अन्जना यस्तै भन्छिन् ।

उनी विभागीय टिम आर्मीकी महत्वपुर्ण सदस्य हुन् । नेपालमा महिला प्रतियोगिता धेरै हुदैनन्, जति हुन्छन् आर्मीको गोलपोस्ट समाल्ने जिम्मेवारी उनै अन्जनालाई पर्छ ।

उनको वर्तमानको कुरा फेरीपनि गरौला, एकैछिन् विगतमा फर्कौ ।

कान्छी अर्थात अन्जनांको जन्म रौतहटको चन्द्रनिगाहपुरस्थित बेल्डि गाउँमा भयो । रौतहट, नेपाली महिला फुटबलको उर्वर भुमि हो, त्यही भुमिमा जन्मिएकी स्टार हुन अन्जना ।

यहाँ रौतहटको थोरै चर्चा जायजै होला ।  रौतहटले धेरै महिला फुटबल खेलाडी जन्माएको छ । विभागीय टिम होस वा राष्ट्रिय टोली । रौतहटका अनुहार धेरै देख्न पाईन्छ । त्यही जिल्लामा उत्पादीत खेलाडीको विभागीय टिममा समेत वर्चस्व छ । त्यसैबाट लोभिएर अखिल नेपाल फुटबल संघ एन्फाले रौतहटमा टेक्निकल सेन्टर बनाउने निर्णय गरिसकेको छ ।

अब अन्जनाकै कुरा गरौ ।

उनले १० बर्षको उमेरमा फुटबल खेल्न सुरु गरिन् । सोही समयमा एन्फाले रौतहमा महिला एनसीएल लिग आयोजना गरेको थियो ।
घर नजिकै हुन लागेको प्रतियोगितामा अन्जनाका बुबा र आमाले आफ्नी छोरीलाई समेत लैजाने निधो गरे ।

‘मलाई खेल्न त मन थिएन तर बाबा, आमाले धेरै जोड गर्नुभयो ।’ अन्जना सम्झिन्छन् । त्यहीबाट हो उनको फुटबलसंग नाता जोडिएको । अझ भनौ फुटबललाई उनले अपनाएको । उनी भन्छिन्, ‘सायद बाबा आमाले कर नगरेको भए म फुटबलमा आउने थिईन होला ।’

अभिभावकको करमै उनले फुटबल सुरु गरिन् । सुरुमा कर, त्यसपछि रहर । खेल्दै जादाँ अन्जनालाई फुटबल मन पर्न थाल्यो । उनलाई पनि बाबा आमाको सपना साकार बनाउनु पर्छ भन्ने लाग्न थाल्यो । त्यसपछि उनको फुटबल यात्राले उडान भर्न सुरु गरेको हो ।

दुई दाई र एक दिदीको प्यारी बहिनीले पहिलो पटक रौटहटको जनज्योति माध्यामिक बिद्यालयबाट कोका कोला कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा सहभागिता जनाइन् ।

उनीले गोलकिपर भुमिका पाईन् । त्यो प्रतियोगितामा जनज्योतिले राम्रो प्रर्दशन गर्न सकेन । अर्को पटक जनज्योेतिले प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गर्यो ।

त्यसपछि अन्जनाले दुर्गा माध्यामिक विद्यालयबाट अन्तर विद्यालय फुटबल प्रतियोगिता खेल्ने निर्णय गरिन् । निर्णय सार्थक बन्यो । उनी खेलेको दुर्गापुर च्याम्पियन मात्रै भएन, सो प्रतियोगितामा अन्जना सर्बाेत्कृष्ट गोलकिपर बन्न सफल भईन् ।

दुुर्गापुरबाट सर्बाेत्कृष्ट गोलकिपर भएसंगै उनको चर्चा राष्ट्रिय स्तरमा हुन पुग्यो । तत्काल अन्जनालाई एन्फाले ताजकिस्तानमा हुने एएफसी अन्डर १४ प्रतियोगिता खेल्न काठमाडौ बोलायो ।

त्यसपछि सुरु भयो अन्जनाको अन्तराष्ट्रिय खेलको उडान ।

अन्जना नेपाली टिमको पहिलो रोजाईमा परिन् ।

‘त्यो मेरो मेरो पहिलो अन्तराष्ट्रिय खेल थियो । गोलको बर्षानै भयो । भनेको जस्तो खेल्न सकिएन ।’ उनी फिस्स हाँस्छिन् ।
ताजकिस्तान यात्राले अन्जनालाई प्रशस्त ‘एक्सपोजर’ दियो । त्यसपछि उनी नियमित रुपमा रौतहटबाट खेल्न सुरु गरिन् । जिल्ला फुटबलमा रहदाँ स्वर्गीय शेरबहादुर दर्मालीले अन्जनालाई प्रशिक्षण सिकाए ।

‘उहाँकै धेरै माया र स्नेहले फुटबलमा अगाडी बढ्न प्रेरित गर्यो  । मेरा लागि उहाँले धेरै गर्नुभयो । तर गुरु आज हामीमाझ हुनुहुन्न ।’ उनी भन्छिन् ।

रौतहटका गुरुहरु चित्र दर्लामी मगर र नुरराज काफ्लेलाई समेत अन्जना धेरै सम्झिराख्ने बताउछिन् ।

‘तीन जना गुरुले मलाई यहाँसम्म ल्याउन धेरै ठुलो भुमिका निर्वाह गर्नुभएको छ । आज जहाँ छु त्यो सबै उहाँकै कारण हो । गुरुहरुलाई कहिल्यै विर्सन सक्दिन ।’ अन्जना भन्छिन् ।

रौतहटको टोलीमा भएपनि उनले पहिलो रोजाईमा खेल्ने मौका कमै पाईन् ।

केही बर्ष अघिको कुरा हो ।

२०७३ सालमा काठमाडौमा हुने प्रधानसेनापति कपका लागि मध्यमाञ्चलले खेलाडी छनोट गर्न थाल्यो ।

गोलकिपरमा अन्जनालाई छनोट गर्यो । तर शर्त राख्यो, दोस्रो रोजाईमा खेल्नुपर्ने ।
अन्जना राजी भईन् ।

उनको भाग्य मान्नपर्छ, मध्यमाञ्चलको पहिलो रोजाईको किपर घाईते हुन पुगिन् । पोस्ट समाल्ने जिम्मेवारी अन्जनालाई आईलाग्यो । आफ्नो भुमिकामा उनी दृढ संकल्पकासाथ उत्रिईन् ।

उनकै बेजोड प्रर्दशनमा मध्यमाञ्चलले प्रतियोगिताको फाईनल यात्रा तय ग¥यो । सेमिफाईनलमा मध्यमाञ्चलले आर्मीलाई पेनाल्टी सुटआउटमा ३–१ ले शिकार बनायो । विभागीय टिमको बर्चस्वलाई तोड्ने क्रममा अन्जनाले उत्कृष्ट प्रर्दशन गरिन् । क्षेत्रिय टोलीले प्रतियोगिताको फाईनल खेल्ने तय भयो ।

त्यो समय आर्मीका कप्तान अञ्जली, दिपा राई र सुमित्रा योन्जनको पेनाल्टीलाई अन्जनाले विफल तल्याएकी थिइन् । प्रतियोगितामा १४ वर्षिय अन्जना राना मगर उत्कृष्ट गोल किपर घोषित भइन् ।

प्रतियोगितामा आर्मीलाई पराजित गर्न महत्वपूर्ण भुमिका खेलेकी अन्जनालाई त्यसपछि पछाडी फर्केर हेर्न परेन ।
अन्जना विभागीय क्लबको आखाँमा परिन । आर्मीले मौका गुमाउन चाहेन ।

आर्मीले अन्जनालाई टिममा राख्ने निर्णय गर्यो । त्यसपछि अन्जना आर्मीकै एक नम्बर गोलकिपर बनेर बसेकी छिन् ।
‘अहिले मेरो उमेर नपुगेर करारमा खेलिरहेको छु । समय पुगेपछि नेपाल आर्मीमै भर्ना भएर खेल्ने लक्ष्य रहेको छ ।’ उनी भन्छिन् ।

राष्ट्रिय टिममा अन्जनाको डेब्यु मलेसियासंगको खेलबाट भएको हो । सातदोबाटोको एन्फा टेक्निकल सेन्टरमा भएको सो खेलमा नेपाल १–० ले अघि थियो । खेलको ७५ औ मिनेटमा नेपालकी पहिलो रोजाईकी गोलकिपर एन्जिला सुब्बालाई विस्थापित गराउदै उनले अन्तराष्ट्रिय खेलमा राष्ट्रिय टिमबाट खेलेकी थिईन् ।

अन्जनाले सन् २०१६ मा भारतको सिलगुढिमा भएको साफ च्याम्पियनसिपमा श्रीलङ्कालाई समूह चरणमा पराजित गर्ने क्रममा नेपालको गोलपोष्ट समालेकी थिइन् । सो खेलमा नेपाल १–० ले विजयी भएको थियो । अन्जनाले अन्तिम पटक मलेसियासँग अवे मैदानमा भएको खेलमा नेपालको गोलपोस्ट समालेकी थिईन् ।

विदेशी खेलहरु धेरै हेरिने भएपनि उनलाई आफ्नो आईडल नेपालका गोलकिपर किरण चेम्जोङलाई मान्छिन् ।

‘बाहिरी लिगहरु पनि धेरै हेर्छु । तर किरण दाईनै मेरो आइडल हो । म उहाँको खेल पछ्याउने गर्छु । उहाँ जस्तै नम्बर वान बन्ने मेरो लक्ष्य हो । तर त्यो भने जस्तो सजिलोे पनि छैन । त्यसकालागि धेरै मेहनत गनुपर्छ ।’ उनी भन्छिन् ।

‘अहिले महिला टिममा एन्जिला दिदी हुनुहुन्छ । म पनि प्रयास गर्दैछु । एकदिन सफल हुने विश्वास छ ।’ उनी थप्छिन् ।
अन्जनालाई घरेलु फुटबलमा धेरै प्रतियोगिता नहुदाँ दुख लाग्छ ।

‘नेपालमा धेरै समय पछि बल्ल बल्ल महिलाको प्रतियोािगता हुन्छ । त्यहीपनि चाडैँ सकिन्छ । यस्तो हुदाँ निकै दुख लाग्छ ।’ उनि थप्छिन्, ‘खेल नभएको धेरै भएको थियो । बल्ल तल्ल महिला लिग भयो । त्यो पनि ९ दिनमा सकियो ।’

राष्ट्रिय स्तरको खेलमा २ लाख र स्कुल स्तरको खेलमा तीन लाख पुरस्कार राख्ने प्रचलन उनलाई चित्त बुझेको छैन् ।

‘दाईहरुको (पुरुष फुटबल) जस्तै हाम्रो पनि सधै खेल हुने भए हामीपनि खुसि हुने थियौ । खेल्ने बाताबरण हुन्थ्यो ।’ उनको गुनासो छ ।
अन्जनाको अबको लक्ष्य नेपाललाई साफ च्याम्पियन गराउनु हो ।

‘सुरुमा मेरो अनि बाबा, आमाको लक्ष्य चाहाना भनेको राष्ट्रिय टिममा स्थान बनाउनु थियो । त्यो पुरा भएको छ । अब हाम्रोमात्र होईन सारा नेपालको चाहाना नेपाललाई साफ च्याम्पियन बनाउनु हो । त्यो सपना साकार बनाउनु छ ।’ कान्छी गोलकिपरले खिस्स हाँसेर कुरो टुङ्गयाईन् ।

प्रतिक्रिया दिनुहोस्