बूढीगंगा चुनावलाई लिएर एमालेले माग्यो गृहमन्त्री र प्रमुख आयुक्तको राजीनामा

खबर खुराक
खबर खुराक २४ जेष्ठ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं, २४ जेठ । नेकपा एमालेले बुढीगंगा चुनावलाई लिएर गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको राजीनामा मागेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसद लालबहादुर थापाले बूढीगंगामा कानुनविपरीत निर्वाचन प्रक्रिया प्रभावित पारिएको भन्दै गृहमन्त्री खाँण र प्रमुख आयुक्त थपलियाको राजीनामा माग गरेका हुन् ।

बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरूमा कांग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरेर मतदान गर्दा कतिपय स्थानमा ९९ प्रतिशत बढी मतदान भएको विवरण सार्वजनिक भएको थियो । त्यहाँ यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

तर, एमाले सांसद थापाले पुनः मतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले जनताको अभिमतमाथि अन्याय गरेको टिप्पणी गरे । “बूढीगंगा निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सगुन शमसेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानबिन समितिको प्रतिवेदनविपरीत राजनीतिक जालझेल, षड्यन्त्र एवम् प्रचलित कानुन विपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरू रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरी जनताको अभिमतमा अन्याय गर्नुभएको छ । त्यसकारण प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित दुई जना आयुक्तको सभामुखमार्फत राजीनामा माग गर्दछु,” थापाले भने ्

त्यसक्रममा सांसद थापाले गृहमन्त्रीको राजीनामा माग गर्दै गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डीएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका थिए । थापाले प्रचलित कानुनबमोजिम नै बूढीगंगामा मतदान भएको भन्दै पुनः निर्वाचन गर्नुको सट्टा मतगणना सुरु गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्