मिलन विश्वकर्मा
पाल्पा, ११ असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार आयोजित ११औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले ५६ करोड ९१ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
जम्मा विनियोजित रकमको चालुतर्फ ३२ करोड २५ लाख ५५ हजार अर्थात् ५६.६७ प्रतिशत र पुँजीगततर्फ २४ करोड ६५ लाख ९५ हजार अर्थात् ४३.३३ प्रतिशत रहेको छ ।
विनियोजित रकम मध्य वडा स्तरीय आयोजना कार्यक्रमको लागि २ करोड ३५ लाख र बाँकी ५४ करोड ५६ लाख ५० हजार बजेट पालिकास्तरीय योजना, पालिका गौरवका योजना, प्रशासनिक तथा कार्यालय व्यवस्थापनमा खर्चिने उहाँले बताउनुभयो ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उत्पादन, रोजगारउन्मुख, पूर्वाधार र मानवस्रोत साधनको विकासमा जोड दिइएको कोइरालाले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा एक घर एक धारा अभियानअन्तर्गत कालीगण्डकी गाउँपालिका भित्रका सबै घरधुरीमा खानेपानीको धारा पुग्ने बजेट तथा कार्यक्रममा व्यवस्था गरिएको छ ।
यसैगरी कोरोना भाइरस र मंकीपक्स भाइरसको महामारी रोकथाम, उपचारका लागि सचेतना अपाउनँदै बजेटको व्यवस्था गरिएको छ ।
गाउँपालिका भित्रका सबै घरपरिवारलाई नागरिक स्वास्थ्य बिमा र अध्यक्षसँग निशुल्क औषधि कार्यक्रमका लागि १ करोड ६० लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । विर्घा स्वास्थ्य चौकीको स्तरोन्नति र वैघा स्वास्थ्य चौकीको भवन निर्माणका लागि संघ सरकार विशेष अनुदानमार्फत १/१ करोड बजेटको व्यवस्था गरेको कोइरालाले बताउनुभयो । यस्तै कालीगण्डकी अस्पतालमा थप विशेषज्ञ सेवासहितको उपचार व्यवस्थालाई प्रभावकारी बनाउन बजेटको व्यवस्था मिलाइएको छ ।
४ हजार ६१० घरधुरीमा न्यूनतम विद्युत महसुल निशुल्कः उपलब्ध गराउनको लागि १८ लाख बजेट विनियोजन भएको छ । नवीकरणीय उर्जा प्रविधि जडानको लागि र ग्यास विस्थापन तथा विद्युतीय चुलो वितरण कार्यक्रम एवम् पूर्वाधार निर्माणका लागि नेपाल सरकार नेपाल सरकारमार्फत ७० लाख बजेटको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
सुरक्षित नागरिक आवास कार्यक्रमको लागि १९ लाख बजेट विनियोजन गरिएको छ ।
संस्कृति प्रवद्र्धनका लागि ७३ लाख बजेटको व्यवस्था गरिएको छ ।
आलमदेवी बहुप्राविधिक शिक्षालयको लागि जग्ग खरिद, भवन निर्माण र सिपमुलक तालिम सञ्चालनका लागि ७० लाख बजेट विनियोजन भएको छ ।
युवालाई रोजगार सिर्जना गर्न सामूहिक जमानिमा ऋण उपलब्ध गराउन युवा प्रोत्साहन कार्यक्रमको लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।
खाद्यन्न वालीको उन्नत बिउ उपयोगमा मूल्य अनुदानको लागि ८ लाख, व्यवसायिक कागती खेती विस्तारका लागि १० लाख ५० हजार, खाद्य गोदाम निर्माणका लागि नेपाल सरकारबाट ७४ लाख, गाउँपालिकाबाट ७४ लाख गरी १ करोड ५८ लाख बजेटको व्यवस्था मिलाएको उपाध्यक्ष कोइरालाले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिका भित्रका सबै सामुदायिक र निजी विद्यालयरू र सबै टोलमा इन्टरनेटको पहुँचका लागि बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । इसिडी र विद्यालयका कर्मचारीका लागि नेपाल सरकारबाट प्राप्त हुने रकम बाहेक १५ हजार तलब पु¥याउन आवश्यक पर्ने रकमको व्यवस्था मिलाइएको छ ।
नेपाल सरकारबाट ढुसखोला (आलमदेवी) लिफ्टिङ खानेपानी आयोजना, रिप्दी लिफ्टिङ खानेपानी आयोजना, बिर्घा खानेपानी र कालीगण्डकी वृहत खानेपानी आयोजनाका लागि बजेट व्यवस्था गरिएको छ । दब्छे, मिर्मी, बिर्घा, मौला छिस्दी, किपट मिर्मी, बारिचौर, लसर्घावेसी, र कोटाकोट इम्सिल, सिमलबगर, सरुन बरनडाँडा खानेपानीलाई प्रदेश सरकारबाट बजेटको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
वडास्तरीय आयोजनाको विस्तृत विवरण अनुसूचीमा संलग्न गरिएको छ । यस्तै वडाबाट प्राप्त हुन आएका अन्य आयोजनाको हकमा विस्तृत विवरण आयोजना बैंकको रुपमा समावेश गरिएको कोइरालाले बताउनुभयो ।
गाउँसभा संसदीय अभ्यासमा सञ्चालन भएको थियो । बजेट भाषण सकिए लगत्तै सभाका अध्यक्ष गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले यही असार २१ गते अर्को बैठक बस्नेगरी स्थगित भएको घोषणा गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत टंकराज पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्