काठमाडौंका मजदुर र सडक बालबालिकाको भारत लगेर मिर्गौला बेच्‍ने ५ पक्राउ

खबर खुराक
खबर खुराक १ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ — काठमाडौंको सडकपेटीमा बस्ने सडक बालबालिकाहरुलाई फकाएर भारतको कोलकाता पुर्‍याई मिर्गौला बिक्री गर्ने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले असार १५ गते भारतको कोलकता लैजानका लागि तयारी गरिरहेको अवस्थामा सुरुमा तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाहीलाई अदालतबाट म्याद थप गरी सोधपुछ गरेपश्चात फरार रहेका विधान र हिमाल श्रेष्ठ भनेर चिनिने धनबहादुर रोका र आशिष तामाङलाई पक्राउ गरेको थियो ।

ब्युरोका अनुसार पक्राउ परेकाहरुमध्ये विमल र धनबहादुरले आफ्नो एउटा मिर्गौला भारतमा बेचिसकेको खुलेको छ । उनीहरुले आफ्नो मिर्गौला बेचेपछि अन्यलाई प्रलोभनमा पारेर मिर्गौला बेच्नका लागि तयार पार्ने गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले दुई बालकलाई असार १५ गते कोलकता लैजानका लागि आवश्यक मेडिकल परीक्षण गराएर तयारी अवस्थामा राखेका थिए । प्रहरीले दुवै बालकलाई पनि उद्धार गरेको छ ।

प्रहरीले पक्राउ परेकामध्ये धनबहादुर मुख्य व्यक्ति रहेको र उनैले मिर्गौला ग्रहणकर्तासँग मिर्गौला प्रत्यारोपणको लागि मोलमलाई गर्ने ग्रहणकर्ताको आवश्यकता अनुसारको मिर्गौला दाता खोज्नका लागि आफ्ना सहयोगीलाई परिचालन गर्ने गरेको पाइएको बताएको छ । मिर्गौलादाता खोज्ने क्रममा सहयोग गर्ने आफ्ना सहयोगीलाई भूमिका अनुसार उनैले पैसा समेत वितरण गर्ने गरेका थिए । आरोपी धनबहादुरले नै पीडितलाई भारतमा लैजाने र मिर्गौला प्रत्यारोपणको काम सकिएपछि नेपाल फिर्ता ल्याउने गरेको पनि प्रहरीले दाबी गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्