पुष्पलाल स्मृति दिवस पाल्पामा पनि मनाइयो

मिलन वि.क
मिलन वि.क ८ श्रावण २०७९, आईतवार
3 Min Read
Aa

पाल्पा, ७ साउन । नेकपा एमाले पाल्पाले एक कार्यक्रमको आयोजना गरी शनिबार पुष्पलालको ४४औं स्मृति दिवश तानसेनमा मनाएको छ ।

एमालेका संस्थापक महासचिव पुष्पलालको शालिकमा पुष्प अर्पण गरिएको थियो । उनको जीवनीबारे चर्चापरिर्चा गरिएको थियो । एमाले केन्द्रीय अनुशासन आयोग सदस्य झपेन्द्र जिसीले पुष्पलालले प्रतिपादन गरेको नीति, सिद्धान्त र विचारबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरेले कम्युनिष्ट स्थापनाकालमा पुष्पलालले अंगिकार गरेको नीति, सिद्धान्त र विचारलाई कम्युनिष्टका नेताले बिर्सिदै गएको बताउनुभयो । यद्यपि उनका सिद्धान्त वर्तमान अवस्थामा पनि सान्दर्भिक रहेको उहाँले बताउनुभयो । पुष्पलालले विदेशी साम्राज्यवाद र भारतीय विस्तारवाद विरुद्ध सचेत हुनुपर्ने, सामन्तवादी शासनको अन्त्य गर्नुपर्ने, मजदुर किसानको शासन खडा गर्नुपर्ने, जातीय, लिङ्गीय र वर्गीय विभेदको अन्त्य गर्नुपर्ने नीति अवलम्वन गर्नुभएको थियो । अहिले कम्युनिष्ट पार्टीका एजेण्डा यिनै छन् । सिद्धान्त र ब्यवहार भने फरक बन्दै गएको छ । नेता व्यक्तिगत स्वार्थमा लागेको उहाँले बताउनुभयो । पुष्पलालको नीति, सिद्धान्त र विचारमा विचलित भएका छन । दक्षिणवादी प्रवृत्ति नेताहरूमा हाबी हुँदै गएको छ । निर्वाचनका बेला उमेदवार नपाए पार्टी हित विपरित गतिविधि सञ्चालन गर्ने, पार्टीमा भनेजस्तो पद नपाए गुटबन्दी गर्ने, पार्टी फुटाउने प्रवृत्तिले पुष्पलालको उपहास गरेको नेता गैरेले बताउनुभयो । गठबन्धनका नाममा विचारहिन दलका नेताले आफ्नो स्वार्थको लागि मुलुक तहसनहस पारेको उहाँले आरोप लगाउनु भयो । नागरिकता विद्येयक नेपालीको हितमा नरहेको गैरेले दाबी गर्नुभयो ।

अहिले मुलुकको हितमा काम गर्ने एक मात्र पार्टी एमाले भएको एमाले प्रदेश कमिटी सदस्य देवीप्रसाद बश्यालले बताए। आगामी निर्वाचनमा एमाले पहिलो शक्ति भएर नेपाल नेपालीको पक्षमा काम गर्ने बताउनुभयो । अर्का प्रदेश सदस्य नारायणी शर्मा घिमिरेले लोकतान्त्रिक गणतन्त्रलाई बचाउने जिम्मेवारी एमालेको काँधमा रहेको बताउनुभयो । सत्ता स्वार्थको लागि आफ्नो नीति र सिद्धान्त लात मारेर गठन्धन गरेका दलले राष्ट्र र राष्ट्रियताको निम्ती काम गर्न नसक्ने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा राजनीति व्यक्ति केन्द्रित हुँदै गएको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । कम्युनिष्टका नेता कार्यकर्ता इमानदार, अनुशासित हुन्छन्। पार्टीले दिएको निर्देशनलाई पालना गरेर आगामी निर्वाचनमा पाल्पा जिल्लालाई एमालेको लालकिल्ला बनाउने गरी पार्टीको गतिविधि सञ्चालन गर्न उहाँले अनुरोध गर्नुभयो ।

एमाले पाल्पाका कार्यालय सचिव दीपक विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन उपसचिव टीकाबहादुर थापाले गर्नुभएको थियो ।

जिल्लाका १० वटै स्थानीय तहमा पुष्पलाल स्मृति दिवशका अवसरमा विविध कार्यक्रम सम्पन्न भएका कार्यालय सचिव विश्वकर्माले बताउनुभयो । वृक्षारोपण, सरसफाई लगायतका कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्