पाल्पा, १५ साउन । नेकपा एमाले पाल्पाअन्तर्गत रहेका सबै जनवर्गीय संगठनलाई थप सक्रिय बनाइने भएको छ ।
जनवर्गीय संगठन समन्वय संयन्त्र (मोर्चाफाँट) को आइतबार तानसेनमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रमुख टीका थापाले बताउनुभयो । उहाँकाअनुसार जिल्लामा २३ वटा जनवर्गीय संगठन छन । अधिकांश संगठन सक्रिय छन् । निस्क्रिय रहेका केही संगठनलाई समेत सक्रिय बनाइने छ । यही साउन महिना भित्र संगठनका बैठक बस्ने, अधिवेशन सम्पन्न गर्ने, नयाँ सदस्यता वितरण गर्ने, सदस्यता नवीकरण गर्ने, पार्टीले निर्देशन गरेका निर्णय कार्यान्वयन गर्नका लागि प्रभावकारी गतिविधि सञ्चालन हुने उहाँले बताउनुभयो ।
बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नारायणी शर्माले जनवर्गीय संगठन सक्रिय भए एमाले पार्टी बलियो हुने बताउनुभयो । जनपक्षीय र जनताका हितमा काम गर्ने गरी संगठनका कामलाई चुस्तदुरुस्त बनाउन उहाँले आग्रह गर्नुभयो । एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेले पार्टीसँग समन्वय गरेर जनवर्गीय संगठन सक्रिय र प्रभावकारी बनाउन सुझाव दिनुभयो । संगठनलाई सफल बनाउन पार्टीले आवश्यक सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
एमाले पाल्पाका सचिव रामजी पोखरेलले पार्टीले सर्कुलर गरेको निर्णय सुनाउँदै तोकिएको मितिमा बैठक तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभयो । नयाँ कमिटी गठन गर्नुपर्ने, गठन भएका कमिटीका गतिविधिलाई आगामी प्रदेश र संघीय निर्वाचन केन्द्रित भएर अगाडी बढाउनु पर्ने उहाँले बताउनुभयो ।
बैठकमा जिल्लास्थित सबै जनवर्गीय संगठनका इन्चार्ज, अध्यक्ष, पार्टीका जिल्ला कमिटी र प्रदेश कमिटिका नेताहरूको उपस्थिति रहेको थियो । सबै अध्यक्षहरूले आ–आफ्ना संगठनले गरेका प्रगतिबारे रिपोर्टिङ प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्