कता जादैँछ बिधार्थी आन्दोलन र यसको भविष्य ?

दिलिप पौडेल
दिलिप पौडेल २२ श्रावण २०७९, आईतवार
9 Min Read
Aa

सन्तोष न्यौपाने ,पोखरा
२०७९/०४/२१

आलोचना आगो जस्तो हैन कैंची जस्तो हुन्छ । जसले सबै जलाएर खरानी बनाउने हैन आलो कपडालाई काटेर सुन्दर बस्त्र बनाउँछ ।

तर, खरानी बनाउन उद्यतहरूको भीडमा कुन आगो हो, कुन कैंची, सियो हो छुट्याउन गाह्रो हुन्छ । विरोध र आलोचनालाई एकै टोकरीमा राख्ने हो भने दुवैप्रति अन्याय हुन्छ । विरोध आगो हो जलाउँछ ।

उल्लेखित हरफ विषय प्रवेश पहिले नै यो लेखलाई विरोधको नजरले हैन, आलोचनात्मक दृष्टि मिलोस् भन्ने अपेक्षाले लेखिएको हो । म यहाँ विभिन्न संगठनबारे केही राख्न चाहन्छु । संगठन भावना, ऊर्जा, एकता र विचारहरूको संगम हुन्छ । संगठन आफैंमा एक निश्चित विचार, उद्देश्य र पद्धतिबाट चल्न गठित हुन्छ ।

यसको मर्म भावनालाई बुझ्नु हरेक असल सदस्यको पहिलो जिम्मेवारी हुन्छ । समयसापेक्ष संगठनमा रूपान्तरण जरूरी हुन्छ जसले पुरानो ढंगका सधैंका नियमित प्रक्रियालाई भाँच्ने र नयाँ आयामका साथ अगाडि बढ्ने बाटो खोज्दछन् । जस्तो कैंचीले आलो कपडा काटेर छेउटुप्पा फाल्ने र आवश्यकता अनुसारको रूप दिने कार्य गर्नैपर्छ
यहाँ वर्तमान सन्दर्भमा विद्यार्थी आन्दोलनको रूपान्तरणबारे यस्तै बहस गर्न खोजिएको छ ।

विगतमा नेपालको लोकतान्त्रिक आन्दोलन, राजनीतिक क्रान्ति, जनताको अधिकार प्राप्तिको आन्दोलन, जनजीविकाको सवालमा विद्यार्थी संगठनले खेलेका भूमिकालाई सबैजसो बौद्धिक वर्गले उच्च मूल्यांकन गरेको यथार्थ हाम्रोसामु छ । युवा विद्यार्थी स्वभावैले परिवर्तन प्रेमी, क्रान्तिकारी, नवीनतम विचारका खोजी गर्ने, अधिकारप्रति सजग र अन्याय अत्याचारप्रति कठोर हुन्छन् ।

विद्यार्थी शिक्षा आर्जनको क्षेत्रमा रहेको हुनाले सही र गलत छुट्याउन सक्ने, गलत विरुद्ध छिटो र चर्को आवाज बुलन्द गर्दै संघर्षको लागि तयार समूह हो । यसैकारणले विगतका राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले सिंगो देशको प्रगतिशील आन्दोलनको नेतृत्व गरिरहेको हुन्थ्यो ।

पञ्चायतका समयमा त अझ राजनीतिक दलहरू माथि नै प्रतिबन्ध थियो । त्यसबेला पनि विद्यार्थी संगठनले नै जनतामा राजनीतिक चेतना भर्ने, निर्दलीय पञ्चायतविरुद्ध संघर्षको नेतृत्व गर्ने काम गरे । जसको बल र जगमा देशले बहुदलीय व्यवस्था प्राप्त गर्‍यो । यस्ता सबैजसो राजनीतिक आन्दोलनको प्राप्तिमा विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण रहेको सबैले स्वीकार्दै आएका छन् र हाम्रो लागि यो गौरवको विषय पनि हो ।

अहिले पहिलेजस्तो स्थिति छैन । समयक्रमसँगै राजनीतिक मुद्दाहरू पनि परिवर्तन हुँदै गएका छन् । जनतामा पनि विकास निर्माण, आर्थिक उन्नति लगायत क्षेत्रमा परिवर्तनको तीव्र अपेक्षा जागृत भएको छ ।

तर, हाम्रो देशका मूल नेतृत्वमा रहेको पुरानो शैली, पुरानै बुझाइ, पुरानै व्यवहार, आनीबानीले जनता आजित छन् । राजनीतिको मूल नेतृत्वमा रहेका नेतागणकै कारण पनि विद्यार्थी आन्दोलनप्रति औचित्यताको प्रश्न खडा भएको छ । एक हिसाबले यो स्वाभाविक पनि हो ।

कोही विरोधीहरूले भन्ने गरेका छन्, ‘यो औचित्यहीन भयो, आवश्यक छैन, विद्यार्थीको काम सिर्फ घोक्ने, पढ्ने मात्र हो ।’ तर, ती टिप्पणीहरू सतही हुन् । उनीहरूलाई विद्यार्थी आन्दोलनको इतिहासबारे गहिरो अध्ययनको आवश्यकता छ ।

तर, केही बौद्धिक जमात, चासो राख्ने शैक्षिक वर्ग र स्वयं क्याम्पस पढ्दै गरेका विद्यार्थीले समेत विभिन्न कोणबाट बहस गरेको बारे हामी विद्यार्थी संगठनका सदस्यहरू घोत्लिनु अनिवार्य हुन्छ । आजको विद्यार्थी आन्दोलनको दिशा, यसले लिएको गति र यसप्रतिको आकर्षण गिर्दो छ भन्ने सत्यतालाई आत्मसात् नगरी यसको रूपान्तरणको ठोस बहस सुरु हुनै सक्दैन ।

आजका विद्यार्थी नेताहरूले कस्तो जीवनशैली अपनाएका छन् ? उनीहरूको कस्तो आचरण छ ? मातृ पार्टीसँगको सम्बन्ध कस्तो छ ? कस्तो संगतमा विद्यार्थी नेताहरू छन् ? कस्तो लक्ष्य राखेको छ ? समाजमा कस्तो चिनारी बनाएका छन् ? आदि सवाल जबर्जस्ती हामीमाथि आइरहेका छन् ।

‘रेडिमेड’ वा ओठे जवाफले मात्रै आजका जनताले विश्वास गरिहाल्ने स्थिति समेत छैन । यसको जवाफ नितान्त हाम्रो व्यवहारमै भर पर्छ ।

यी सवालका जवाफ दिन विद्यार्थी संगठनको संरचनागत, अनुशासनात्मक आचरण, न्यूनतम क्षमता बोकेको विद्यार्थी नेता र संगठन आवश्यक पर्दछ । विद्यार्थी विऽोहका बन्दुक मात्र हैनन्, सृजनशीलता, रचनात्मकता, नवनिर्माणका अभियन्ता पनि हुन् । यही मर्म र भावना अनुरूप बदलिंदो परिस्थितिमा बदलिंदो रूपान्तरण आजको अनिवार्य आवश्यकता हो ।

विद्यार्थी कालबाटै समाजका विकृति, विसंगति, रुढिवाद, गलत मार्गहरू विरुद्ध जनचेतना फैलाउँदै सचेततापूर्वक समाज विकासमा हिस्सेदार बन्ने दिशामा विद्यार्थी आन्दोलन अगाडि बढ्नुपर्छ ।

हाम्रा पुर्खाले संघर्ष गरी ल्याएको राजनीतिक व्यवस्थाको बलमा सोहीबाट मागिखाने वर्ग बन्न गइरहेका छौं । हामी विद्यार्थी नेतासमेत उपल्ला नेताको चाप्लुसी गर्ने, नेता, मन्त्रीका स्वकीय वा अन्य कुनै राजनीतिक नियुक्तिको तँछाडमछाडमा रुमलिरहेको आजको निर्मम यथार्थ हो ।

तर, विद्यार्थी संगठन सरकारको निर्मम समीक्षा गर्ने स्थायी प्रतिपक्षी हुन्छन् र हुनैपर्छ । त्यसमाथि विद्यार्थीसँग जोडिएका विषयमा राजनीतिक आस्थाकै कारण जिम्मेवारी र दायित्वबाट भाग्न हामीलाई किमार्थ छुट छैन ।

सत्ताले जनतामाथि गरेका अन्याय, अत्याचार, भ्रष्टाचार, महँगी, अनियमितता, बेथिति विरुद्ध आवाज बुलन्द गर्दै दबाव र जागरणको भूमिकामा हुनु अनिवार्य हुन्छ । हामीले जनताका प्रतिनिधिले नै निर्माण गरेको संविधान समाजवाद उन्मुख संविधान भनेर लेखेका छौं ।

समाजवादको आधार शिक्षा हो, नेपालमा शिक्षाको स्थिति अत्यन्तै नाजुक अवस्थामा छ भने शिक्षा क्षेत्रका विकृति हटाउन विद्यार्थी संगठनको भूमिका अब्बल हुनुपर्छ । तब मात्र हामीले कल्पना गरेको समाजवाद सम्भव हुनेछ ।

आज देशमा दुई प्रणालीय शिक्षा छ- निजी र सरकार । निजी विद्यालयले शिक्षाजस्तो नैसर्गिक अधिकारमाथि पनि भव्य फाइदाको व्यापार गरिरहेका छन् । यता सामुदायिक विद्यालयमा राज्यकै बेवास्ता छ ।

व्यावहारिक, अनुसन्धानात्मक, व्यावसायिक, प्रयोगात्मक, माटो सुहाउँदो, उत्पादनसँग जोडिने शिक्षा नै आजको मुख्य आवश्यकता हो । स्वास्थ्य क्षेत्रको कहालीलाग्दो अवस्था छ । हरेक क्षेत्रमा परिवर्तनको आवश्यकता छ ।

तर, हाम्रा विद्यार्थी संगठन नेताको वरिपरि, अनैतिक आम्दानीको वरिपरि घुमिरहेको छ । यसमा बोल्ने को ? राजनीतिक प्रणालीभित्र विद्यार्थी संगठनलाई सदैव दबाव समूह -प्रेसर ग्रुप) को बलियो भूमिकामा खडा गर्नुपर्छ ।

उल्लेखित अनेक मुद्दा बोक्ने संगठन, यसको संरचना र यसको सदस्यहरूका भूमिका उत्तिकै अब्बल हुनु अपरिहार्य छ । आजको विद्यार्थी संगठनहरूका कमी-कमजोरीहरूलाई नियालेर हेर्दा यसभित्र अनेकन् समस्या छन् । कुनै पनि संगठनको नियमित बैठक हुँदैनन्, विद्यार्थी नेताको छनोट पनि पार्टी नेताले जसलाई टीका लगाइदियो उही हुन्छ ।

पञ्चायतका पालामा समेत नरोकिएको सबैको साझा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बहुदल, लोकतन्त्र, गणतन्त्र आएपछि नियमित हुन सकिरहेको छैन । योभन्दा लज्जाको विषय अरु केही हुन सक्ला ?

अनेक बहानामा ३५/४० वर्षसम्म क्याम्पस गेट कुर्दै विद्यार्थी नेताको ट्याग भिरेर अनेक धन्दामा लाग्नेहरूले नै विद्यार्थी आन्दोलनप्रतिको दृष्टिकोण नै धुमिल पारिदिएका छन् । यसका लागि संगठनमा सदस्यभन्दा माथिल्लो जिम्मेवारी लिन ३२ वर्षभन्दा मुनिको हुनुपर्ने व्यवस्था गर्नैपर्छ ।

स्ववियु निर्वाचनका लागि २८ वर्ष हदबन्दी राखेको अवस्थामा बाँकी ४ वर्षसम्ममा उसले केन्द्रीय तहको जिम्मेवारी पनि पूरा गरी आफूलाई काबिल नेतृत्वको रूपमा स्थापित गर्ने समय प्राप्त गरिसक्छ । यसरी नयाँ नयाँ व्यक्ति, विचार र नया नेतृत्व स्थापित हुँदै जान्छ ।

विद्यार्थीको न्यूनतम काम भनेको अध्ययन गर्नु र अध्ययन गरेको विषयमा सफल हुनु नै हो । यस्तै क्याम्पस गेटमा बसेर सदैव पुनःपरीक्षा दिने अनि विद्यार्थी नेता भइटोपल्नेलाई पनि विद्यार्थी राजनीतिबाट बिदाइ गर्न जरूरी छ ।

कमसेकम आफ्नो विषयमा नियमित पास हुने मात्र केद्रीय कमिटीमा र स्नातक गरेको मात्र पदाधिकारीमा र स्नातकोत्तर गरेको विद्यार्थी मात्र अध्यक्ष महासचिव हुने व्यवस्था गर्नुपर्छ । सबै तहका विद्यार्थी नेताहरू अनिवार्य भर्ना हुनुपर्छ ।

विद्यार्थी नेताहरू अहिलेका विश्व परिवेशका नवीनतम मुद्दाहरू सामाजिक न्याय, बौद्धिक पलायन, प्राकृतिक प्रकोप समाधान, पर्यावरण संरक्षण, परम्परागत चिन्तनको उन्मूलन, अन्याय, अत्याचार, गरिबी, अशिक्षा, भ्रष्टाचार, महँगी, अनियमितता, अतिदलीयकरण विरुद्ध जानकार र संघर्ष गर्न सक्ने नेतृत्व छनोट गरेर अगाडि बढ्नुपर्छ ।
ठूलाठूला पद सृजना गरेर संगठनलाई अलौकिक, व्यक्तिलाई हेरेर संगठनको संरचनामा परिवर्तन गर्ने, नामको मात्र ठूलो संगठन बनाउने र मान्छेको हुल मात्र जम्मा गर्ने सोच विचारले हिजोको गौरव फिर्ता हुन सक्दैन । नवीनतम विचार र समयसापेक्ष रूपान्तरण भएन भने इतिहासको गौरव गाथाले मात्र विद्यार्थी आन्दोलन जीवित रहन सक्दैन ।

बदलिंदो परिवेशमा अस्तित्व पुष्टि गर्न कसैले न कसैले गम्भीर समीक्षासहित आवश्यक र साहसिक निर्णय गरेरै जानुपर्दछ । यसले मात्रै समग्र विद्यार्थी आन्दोलन र संगठनको वैचारिक भविष्य निर्माण गर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्