पाल्पा, २४ साउन । नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिबार जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पदाधिकारी तथा नेताहरूका विशेष उपस्थितिमा मंगलबार बसेको बैठकले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
तानसेन नगरपालिकाको सभाहलमा हुने प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू, प्रदेश सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश विभाग, जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार परिषद र जिल्ला विभाग सदस्यहरू सहभागी हुने छन्। यस्तै पालिका कमिटीका पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारी, वडा कमिटीका अध्यक्षहरू, निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, सम्पर्क मञ्चका पदाधिकारीहरू सहभागी हुन पाउने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सह-इन्चार्ज सिर्जना काफ्ले, एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसीले प्रशिक्षण दिने उहाँले बताउनुभयो ।
पालिका स्तरिय प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजना र व्यवस्थापन पालिका कमिटीले गर्ने गर्नुपर्ने छ । तानसेन नगरपालिकामा २०७९ भदौ १०, रामपुर नगरपालिकामा आगामी भदौ ६ गते, निस्दी गाउँपालिकामा भदौ ७, पूर्वखोलामा भदौ ८, रम्भामा भदौ ९, माथागढीमा भदौ १०, रैनादेवीछहरामा भदौ ४, तिनाउमा भदौ ६, रिव्दीकोटमा भदौ ७, बगनासकाली गाउँपालिकामा भदौ ११ गते प्रशक्षिणक कार्यक्रम हुने छ ।
यस्तै वडा स्तरिय प्रशिक्षण तथा भेला यही भदौ १६ गते देखि २५ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँका अनुसार टोल प्रशिक्षण तथा भेला यही भदौ २६ गते देखि भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।
पार्टी केन्द्रको निर्णय बमोजिम यही भदौ १५ गते भित्र पार्टी सदस्यता अनिवार्य नवीकरण गर्न गर्नुपर्ने नेकपा एमाले पाल्पाका कार्यालय सचिव दीपक विश्वकर्माले बताउनुभयो ।
जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला कमिटीका पदाधिकारी, एमाले पोलिटव्यूरो सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, उपलब्ध प्रदेश सदस्यको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्