रानी झरनामा पर्यटकको आकर्षण

मिलन वि.क
मिलन वि.क २६ श्रावण २०७९, बिहीबार
2 Min Read
Aa

पाल्पा, २६ साउन । जिल्लाको तिनाउ गाउँपालिका–२ दोभानस्थित ढापखोला सामुदायिक वनमा रहेको रानी झरनाप्रति पर्यटकको आकर्षण बढेको छ ।

पाल्पासहित छिमेकी जिल्ला रुपन्देहीको बुटवल, भैरहवा र भारतको गोरखपुरबाट यहाँ पर्यटक आउने गरेको ढापखोला सामुदायिक वन उपभोक्ता समितिका सचिव जनकबहादुर खड्का क्षेत्रीले बताउनुभयो । रानी झरनाको प्रचारप्रसार हुन नसकेर ओझेलमा परेको थियो । पछिल्लो समयमा यसको संरक्षण र व्यवस्थापन गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहबाट १५ लाख र डिभिजन वन कार्यालयको ५ लाख गरी २० लाख लगानी गरेर यस झरनालाई आकर्षित बनाइएको उहाँले बताउनुभयो । झरनाको वरिपरि बार्दली बनाइएको छ । सेल्फी स्टेज बनाइएको छ । पैडी खेल्ने पोखरी निर्माण भएको छ । अहिले थप आकर्षक देखाउनका लागि झोलुङ्गे पुल निर्माण गर्ने काम भइरहेको क्षेत्रीले बताउनुभयो ।अहिले यो झरना निकै आकर्षक बनेको छ । दैनिक २०० वढी संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । बुटवलबाट नजिकको दुरीमा रहेको यस झरनामा पर्यटकहरूको घुँईचो लाग्ने गरेको उहाँले बताउनुभयो । पर्यटक आउन थालेपनि स्थानीय उत्पादनको बिक्री हुँदा स्थानीयको आर्थिक आम्दानीमा सहयोग पुगेको छ ।

यस झरनाले यहाँका पर्यटकलाई थप विकास गर्ने छ । झरना र झरना वरिपरिका परिसरलाई अझै सुन्दर बनाउन सके पर्यटकको संख्यामा वृद्धि गर्न सकिन्छ । जसले गर्दा यहाँका नागरिकको आम्दानीका स्रोत बढ्ने स्थानीय गाउँपालिका पूर्व अध्यक्ष ओमबहादुर घर्तिमगरले बताउनुभयो । प्राकृतिक सुन्दरतालाई पर्यटकीय रुपमा विकास गरेर यहाँका नागरिकको आर्थिक उपार्जनमा टेवा पुग्ने उहाँले बताए।

प्रकृतिले दिएका यझरनालाई थप व्यवस्थित गर्न सके पर्यटकीय जिल्लाको रुपमा परिचित पाल्पामा प्रकृतिप्रेमी पर्यटक आउने छन् । जसले गर्दा यहाँको स्थानीय उत्पादन बिक्री हुने छ । यहाँका नागरिकको आर्थिक समृद्धिमा टेवा पुग्ने डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो । स्थानीय सरकारसँग समन्वय गरेर आफूहरु झरनाको व्यवस्थापनमा काम गर्न तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्