केन्यामाथि नेपालको जित

खबर खुराक
खबर खुराक ९ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं , नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा आसिफ शेखले १९ रनको योगदान गरे । नेपालका लागि आरिफ शेखले २४ रन बनाउँदा रोहित पौडेलले १३ रन जोडे । बलिङतर्फ केन्याका लागि लुकास ओउच र विराज पटेलले दुई–दुई विकेट लिए । त्यस्तै निहेमिहा ओडिआम्बोले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै लुकास ओउचले ३० रन बनाउँदा नेल्सन ओडिम्बेले १९, सचिन बुढाइले १७ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए  जितसँगै पाँच खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको पनि जितसँगै यात्रा सुरु गरेका छन् । दुई टोलीबीचको दोस्रो खेल भदौ १० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्