मदन पुरस्कार विजेता भन्छन्– ‘अग्निले उठाएको मुद्दामा जीवनभर वकालत गर्नेछु’

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
4 Min Read
Aa

मदन पुरस्कार गुठीले वर्ष ०७८ का लागि नवराज लम्सालको ‘अग्नि’ महाकाव्यलाई पुरस्कृत गरेको छ । यसअघि गुठीले मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको थियो । रेडियोकर्मी लम्सालका यसअघि कर्ण र धरा गरी दुई महाकाव्य प्रकाशित छन् ।

पहिले अलि अल्लारे हुँदा, कर्ण र धरा लेख्दासम्म मदन पुरस्कारको सपना थियो होला । यसपालि म विषयवस्तुमै बढी केन्द्रित भएर लेखेँ । यो कृति धेरै मानिसले पढून् भन्ने थियो । मदन पुरस्कार नै प्राप्त गरूँ भन्ने सोचेर यसपालि काम गरेको थिइनँ ।

यसै वर्ष अग्निलाई सुदूरपश्चिम साहित्य समाज, सर्लाही लालबन्दीको नगरवाङ्मय परिषद् र चितवन साहित्य परिषद्ले पनि पुरस्कार दिएको छ । मदन पुरस्कारको छनोट सूचीमा परेपछि मलाई यस पुरस्कारको आशा लागेको थियो । तर, त्यति धेरै गहिरो आग्रह र अपेक्षा थिएन ।

पुरस्कारबारे यहाँको धारणा के छ ?

पुरस्कारले व्यक्तिलाई शुद्धीकरण, जिम्मेवार बनाउँछ । थप केही गर्न, प्रतिबद्ध हुन पुरस्कारले व्यक्तिमा सकारात्मक तरंग पैदा गर्छ । व्यक्तिका लागि कुनै पनि पुरस्कार सामाजिक, सार्वजनिक र बहुमतको स्वीकृति वा स्वीकार्य हो । सर्वस्वीकार्य हुने संसारमा कुनै पुरस्कार हुँदैन होला ।

एउटा लेखकले पुरस्कार पाउँदा सामाजिक स्वीकृति बढ्छ । मानिसले उसको चर्चा परिचर्चा गर्छन् । लेखकले आफ्नो कृति धेरैले पढून् भन्ने अपेक्षा राखेकै हुन्छ, पुरस्कारले उसको अपेक्षालाई मलजल गर्छ, मनोबल बढाउँछ ।

साहित्य भनेको यस्तो चिज हो, पाठकले आफू अनुकूल व्याख्या गर्न सक्छन् । साहित्य दुईमा दुई जोडेर चार हुनेजस्तो होइन । साहित्यको विषय, प्रस्तुति, प्रवाहलाई पाठकले आफ्नो क्षमता, रुचि र आफ्नो स्वाद अनुसार ग्रहण गर्छ । पुरस्कार प्रदान गर्ने व्यक्तिहरूले आफ्नो रुचि र स्वाद अनुसार पढेर निर्णय गर्ने हुन् । सबै निर्णय सर्वस्वीकार्य हुन्छ भन्ने होइन, कुन उद्देश्य राखेर कसरी पुरस्कार स्थापना गरिएको छ, त्यसमा पनि निर्भर हुन्छ ।

यहाँकै शब्दमा अग्नि कस्तो कृति हो ?

अग्निअघि मैले दुइटा महाकाव्य लेखेँ– कर्ण र धरा । म यस्तो देशको लेखक हुँ । आज पनि मेरो देश रोग, भोक, अशिक्षा र गरिबीमा छ । आज पनि मेरो देशमा छुवाछुतजस्तो जातीय कलंक बाँकी नै छ । त्यसैले मैले यो देशका हेपिएका, चेपिएका सीमान्तकृत जनताको पक्षमा लेख्नैपर्छ ।

इतिहास जित्नेहरूको हो भनिन्छ । यहाँ विजेताकै इतिहास लेखिन्छ । पराजित र सीमान्तकृत मानिसको कथा र इतिहास लेखिनुपर्छ भन्ने मेरो आग्रह हो । र, यही आग्रहको ‘क्लाइमेक्स’ हो अग्नि ।

यो देश युद्धले बनाएको देश हो, मैले युद्धका लागि हतियार बनाउने मान्छेका बारेमा लेखेको छु । यो देश सीमान्तकृतहरूले बनाएको देश हो, उनीहरूको बारेमा लेखेको छु । इतिहासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका तर इतिहासमा कतै नलेखिएकाहरूको बारेमा मैले लेख्ने कोसिस गरेको छु ।

यो देशको एकीकरणका लागि प्रत्येक घरधुरीसँग एक–एक रुपैयाँ उठाउन पृथ्वीनारायण शाहलाई सल्लाह दिने बिसे नगर्चीका सन्तान कहाँ होलान् ? यसरी उठाइएको पैसा बोकेर हतियार बनाउन पृथ्वीनारायण जसवीर कामीकहाँ गएका थिए, तिनका सन्तान कहाँ होलान् ।

पृथ्वीनारायणका सेनालाई जलेबा माझीले त्रिशुली नदी तर्नका लागि डुंगा बनाइदिएका थिए, ती माझीका सन्तान कहाँ होलान् ? तर इतिहास राजाहरूको र पार्टीका नेताहरूको मात्रै लेखियो । त्यसैले अब इतिहास नयाँ ढंगले लेखिनुपर्छ भन्ने आग्रह भएको कृति हो अग्नि ।

आज लोककल्याणकारी राज्य जसलाई भन्छौँ, त्यो लोककल्याणकारी राज्य बनाउने आग्रहका निम्ति इतिहासको लुकेको पाटोमाथि छ अग्नि ।

अन्तमा केही भन्न चाहनुहुन्छ कि ?

मदन पुरस्कार पाएर म असाध्यै खुसी छु । मलाई यो पुरस्कार जति प्रिय लागेको छ, यो वर्ष मदन पुरस्कारभन्दा अघि पाएका अरु तीन पुरस्कार पनि मेरा लागि उच्च छन् । यी चारै पुरस्कारलाई सम्मान गर्दै मैले अग्निमा जुन मुद्दा उठाएको छु, त्यही मुद्दाको वकालत गर्दै म जीवनभर लागिरहनेछु ।

रातोपाटीबाट साभार 

प्रतिक्रिया दिनुहोस्