एसिया कपः चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको भिडन्त

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
4 Min Read
Aa

काठमाडौं । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधैँ रोमाञ्चक हुने गर्छ । कारण हो, दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध । पछिल्लो समय भारत र पाकिस्तानबीचको खेल हेर्न आईसीसी वा एसीसीको आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्नुपर्छ ।

पछिल्लोपटक २०१३ मा भारत र पाकिस्तानले दुई देशीय शृंखला खेलेका थिए । संयोग, यी दुई टोली भारत र पाकिस्तान यूएईमा जारी एसिया कप क्रिकेटमा एकै समूहमा परेका छन् । र, आज यी दुई चीरप्रतिद्वन्द्वी आमने सामने हुँदैछन् ।

प्रतियोगितामा भारत सातपटकको विजेता टोली हो । पाकिस्तानले दुईपटक एसिया कपको उपाधि उचालेको छ । दुबै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छन् ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तान ९ पटक आमनेसामने भएका छन् । त्यसमा भारतले सात खेल जितेको छ भने पाकिस्तानले २ खेल जितेको छ ।

पछिल्लोपटक २०२१ को ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । त्यसपछि भारतीय टोलीको चर्को आलोचना भएको थियो । भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ मा अर्को टोली हङकङ रहेको छ । त्यसकारण यस समूहबाट भारत र पाकिस्तानले सुपर–४ मा स्थान बनाउने लगभग पक्का छ ।

समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश तथा श्रीलंका छन् । दुबै समूहका शीर्ष दुई टोलीले सुपर–४ मा स्थान पक्का गर्नेछन् । ट्वान्टी–२० स्वरुपमा हुन लागेको प्रतियोगितामा भारत रोहित शर्माको कप्तानीमा हुनेछ भने पाकिस्तान बाबर आजमको कप्तानीमा हुनेछ ।

भारत 
भारत यस प्रतियोगिताको सदाबहार उपाधि दाबेदार हो । साथै, भारत साविक विजेता टोली पनि हो । भारतले २०१८ मा यूएईमै बंगलादेशलाई हराउँदै उपाधि उचालेको थियो । भारत अहिले आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा छ ।

भारतले एसिया कपअघि वेष्टइन्डिज, इंग्ल्यान्ड र आयरल्यान्डविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो । त्यस्तै, दक्षिण अफ्रिकाविरुद्धको शृंखला बराबरीमा सकिएको थियो ।

तीव्र गतिका बलर जसप्रित बुमराहको अनुपस्थिति कप्तान रोहित शर्माका लागि सबैभन्दा चिन्ताको विषय छ । बुमराह चोटका कारण टिममा छैनन् । उनको अनुपस्थितिमा भारतको तीव्र गति बलिङको नेतृत्व भुवनेश्वर कुमार, आभाष खान र अर्शदीप सिंहको काँधमा आएको छ । आभाष, अर्शदीपमा अनुभवको कमी छ । दुवैले यसै वर्षमात्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।

ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव अहिले उच्च लयमा छन् । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व वरीयताको दोस्रो नम्बरमा छन् । उनले इंग्ल्यान्डविरुद्ध करिअरकै पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शतक बनाउन सफल भएका थिए । सूर्यकुमार भारतको मध्यपंक्तिमा दरिलो खम्बा हुन् । टिममा पूर्वकप्तान विराट कोहली, कप्तान रोहित शर्मा, अलराउन्डर हार्दिक पाण्डेय, दीपक हुडा, केएल राहुल, रिषभ पन्तलगायत खेलाडीको उपस्थितिमा भारतले जुनसुकै टोलीलाई हराउन सक्ने क्षमता राख्छ ।

कोहलीका लागि यो १००औं ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट हुनेछ । त्यससँगै उनी क्रिकेटको तीनै स्वरुपमा १०० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने दोस्रो खेलाडी बन्नेछन् । यसअघि न्युजिल्यान्डका रोस टेलरले त्यो सफलता हासिल गरेका थिए ।

पाकिस्तान
आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तान तेस्रो नम्बरमा छ । पाकिस्तानलाई अनुमान गर्न नसकिने टिमका रुपमा हेरिन्छ । तर, पछिल्लो समय पाकिस्तानले एकरुपको प्रदर्शनलाई निरन्तरता दिएको छ । पाकिस्तान पनि विश्वका जुनसुकै टोलीलाई हराउन सक्ने क्षमता राख्छ ।

पाकिस्तान र भारतबीचको तनावपूर्ण सम्बन्धका कारण खेलमा पनि यी दुई टिमबीचको खेललाई विशेष रुपमा हेरिन्छ । एसिया कपमा पनि दुई टोलीले समूह चरणमै प्रतिस्पर्धा गर्दैछन् ।

कप्तान बाबर आजम र मोहम्मद रिजवान आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयताको पहिलो र तेस्रो स्थानमा छन् । दुई ब्याट्सम्यानले टिमलाई राम्रो सुरुआत दिन सक्छन् ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवको कमी र बलर शाहीन शाह अफ्रिदीको अनुपस्थिति पाकिस्तानको मुख्य चिन्ताको विषय हो । पाकिस्तानले यो वर्ष एकमात्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ, अष्ट्रेलियाविरुद्ध । तीव्र गतिका बलर अफ्रिदी घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । अफ्रिदीको अनुपस्थिति पाकिस्तानका लागि महँगो पर्न सक्छ ।

https://baahrakhari.comबाह्रखरी

प्रतिक्रिया दिनुहोस्