भोजपुरबाटै उम्मेदवार बन्ने मुख्यमन्त्री राजेन्द्र राईको चाहना

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
3 Min Read
Aa

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो निर्वाचन क्षेत्र भोजपुर नछाड्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सुनसरीको शनिवार बसेको बैठकले सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभातर्फ उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । सुनसरीको सिफारिसमा नाम परेपछि उनले भोजपुर छाड्नसक्ने अनुमान गरिएका थिए ।

सुनसरीले निर्णय गरेको २४ घन्टा नबित्दै नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका मुख्यमन्त्री राईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भोजपुर नछाड्ने स्पष्ट पारेका हुन् । गठबन्धनमा रहेको अर्को दल नेकपा माओवादी केन्द्रले पनि भोजपुर माओवादीले नछाड्ने बताइरहेको छ । भोजपुरबाट हाल माओवादी केन्द्रका सुदन किराती सांसद छन् ।

मुख्यमन्त्री राईले भोजपुरे जनताले माया र विश्वास गरेसम्म सांसद, मन्त्री बन्ने र केही नभए भुइँमा बसेर पनि भोजपुरे जनताको सेवा गर्ने आफ्नो चाहना रहेको भन्दै सांसद, मन्त्री बन्न अन्त जाने कुनै सोच तथा चाहना नरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र बिस्वास गरीराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो शून्य दशमलव १ प्रतिशत पनि चाहना र सोच छैन र भोजपुरे जनताले माया  विस्वास गरेसम्म म सांसद र मन्त्री, केही नभई भुँइमा बसेर नि भोजपुरे जनताको सेवा गर्न चाहन्छु ! त्यसैले सांसद र मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच र चाहना छैन ।’

उनको नाम भोजपुरबाट पनि सिफारिस गरिएको छ । दुवै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको मूल्यांकन र चाहनाको आधारमा भएको समेत उनले बताएका छन् ।

‘म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधै मान्नपर्छ नै । हाम्रो पार्टीको गठबन्धनबाटै चुनाव लड्ने निर्णय छ त्यसैले  उम्मेदवारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु, गठबन्धनभित्र उछिनापाछिन गर्ने पक्षमा म छैन र नेताले चुनाव लड्नै पर्छ र सांसद बन्नै पर्छ भन्ने नि छैन, पार्टी र गठबन्धनले मलाई उम्मेदवार नबनाउने निर्णय ग¥यो भने म उम्मेदवार नबन्न तयार छु’ उनले लेखेका छन ।सजिलो देख्दा उछिन पाछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस नभएको भन्दै उनले पार्टीको निर्देशन भयो भने जस्तोसुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्