मंसिर ४ निर्वाचन : काठमाडौंमा माओवादीबाट क–कसले गरेका छन् दाबी ?

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौंबाट नेकपा माओवादी केन्द्रका ४ जना नेताले चुनाव लड्ने आकांक्षा राखेका छन् । पार्टी सचिव हितमान शाक्य, पोलिटब्युरो सदस्य हिमाल शर्मा, केन्द्रीय सदस्य अनिल शर्मा र केन्द्रीय सदस्य अञ्जना विशंखेले चुनाव लड्ने तयारी गरेका छन् ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये माओवादीले कम्तीमा चार क्षेत्र पाउनुपर्ने दाबी गरेको बागमती प्रदेशका एक नेताले जानकारी दिए । हितमानले क्षेत्र नम्बर १० वा ९ मध्ये एकबाट, हिमालले ६ वा ७ बाट र शर्माले १ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

काठमाडौं जिल्लाका संयोजक उमेश स्थापितले क्षेत्र नम्बर ८ र अञ्जनाले क्षेत्र नम्बर १० बाटै चुनाव लड्ने आकांक्षा गरेकी छन् । २०७४ सालको चुनावमा हितमान क्षेत्र नम्बर १० र अनिल १ बाट,  झक्कुप्रसाद सुवेदी ६ बाट चुनाव लडे पनि पराजित भएका थिए ।

हिमाल दोस्रो संविधानसभा चुनावमा लडे पनि पराजित भएका थिए । काठमाडौंमा माओवादीले २०७० साल र २०७४ सालमा एक सीट पनि जितेको छैन । पहिलो संविधानसभा चुनावमा क्षेत्र नम्बर १०, ७ र २ गरेर तीन क्षेत्र जितेको थियो ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा पनि काठमाडौंका ११ पालिकामा माओवादी शून्य भयो । पालिकामा कमजोर भएपनि माओवादी वडामा समेत उस्तै छ । चन्द्रागिरी नगरपालिकाका २ र ५ वडा अध्यक्ष र शंकरापुर नगरपालिकामा एक नम्बर वडा अध्यक्ष मात्रै माओवादीले जितेको थियो ।

स्थानीय तहमा माओवादी कमजोर भएकाले आगामी प्रदेश र संघको चुनावमा नेताहरुले टिकट पाएपनि चुनाव जित्न कठिन देखिएको छ । गठबन्धन भएकाले चुनाव जित्न सहज हुने भन्दै माओवादीका चार नेताले टिकट पाउनुपर्ने दावीसहित लविङ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्