नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आइतवार बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले सचिवालय गठन गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा ४ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।
परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहेका छन् ।
एमालेको शनिवार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नेलगायत पार्टीको सचिवालयले गरेको निर्णय अनुमोदन गरेको थियो । एमालेले अध्यक्ष ओलीकै संयोजकतवमा घोषणापत्र मस्यौदा समिति पनि गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्