Ad imageAd image

बागमती प्रदेश : प्रदेशसभा छाडेर संघतिर अघि बढ्ने दाउमा छन् यी नेता

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
12 Min Read
Aa

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका सदस्यहरु पनि प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तरखरमा छन् । उनीहरु प्रत्यक्ष र समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने तयारीमा जुटेका हुन् ।

बागमती प्रदेशका ११० जना सांसदमध्ये प्रदेशसभामा हाल १०७ सदस्य कायम छन् । तीमध्ये आगामी निर्वाचनमा २२ जना सांसद प्रदेश छोडेर संघको निर्वाचन लड्ने तयारीमा जुटेका हुन् । प्रदेशबाट संघमा चुनाव लड्ने २२ जना सांसदमध्ये सबैभन्दा धेरै एमालेका छन् ।

प्रदेशसभामा सभामुखसहित एमालेका ४४ जना सांसद रहेकोमा ९ जना संघीय चुनावको तयारीमा लागेका छन् । यसअघि प्रदेशको मुख्यमन्त्रीसमेत भइसकेका एमालेका २ जना सांसद सहित ९ जना आगामी निर्वाचनमा संघमा जान इच्छुक देखिएका छन् ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता डोरमणि पौडेलले आगामी निर्वाचनमा आफू कुनै पनि पदमा उम्मेदवार नहुने घोषणा गरेका छन् । उनले प्रदेशसभा या प्रतिनिधिसभामा उम्मेदवार बन्ने आफ्नो इच्छा नरहेको बताइसकेका छन् तर पार्टीले उचित ठानेर उम्मेदवार बन्नुपर्ने अवस्था आएमा आफू संघीय चुनावमा उम्मेदवार बन्न सक्ने उनले बताएका छन् ।

- Advertisement -
Ad image

२०७४ को निर्वाचनमा मकवानपुर–१ को (ख) बाट चुनाव लडेर प्रदेश सांसद चुनिएका पौडेल आगामी निर्वाचनमा मकवानपुर १ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न इच्छुक रहेको उनी निकट स्रोत बताउँछ ।

अर्की पूर्वमुख्यमन्त्री एवम् एमाले नेतृ अष्टलक्ष्मी शाक्य पनि प्रदेश छोडेर संघमा जाने तयारीमा छिन् । २ महिना १० दिन बागमती प्रदेशको मुख्यमन्त्री सम्हालेकी उनले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट संघीय सांसद बन्ने आकांक्षा देखाएकी छन् ।

२०७४ को निर्वाचनमा पनि संघतर्फ दाबी गरेकी उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन कै लागि प्रदेशसभाको उम्मेदवार बनाइएको थियो । सो निर्वाचनमा उनी काठमाडौं–८ (क)बाट निर्वाचित भएकी थिइन् ।

प्रदेशबाट संघमा जाने दाउमा रहेका एमालेका अर्का व्यक्ति हुन् बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ । उनी प्रदेशसभामा उम्मेदवार बन्ने इच्छा नरहेको बताउँदै आएका छन् । उनी कुनै पनि अवस्थामा संघ कै सांसद बन्ने तयारीमा जुटेका छन् ।

सभामुख श्रेष्ठ २०७४ को निर्वाचनमा काठमाडौं–२ (क) बाट निर्वाचित भएका थिए । उनी आगामी निर्वाचनमा काठमाडौं–२ बाटै संघीय निर्वाचन लड्ने तयारीमा रहेको बुझिएको छ ।

संघीय निर्वाचनको तयारीमा रहेका एमालेका अर्का नेता हुन् अरुणप्रसाद नेपाल । उनी बागमती प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुन् । एमाले विभाजन हुन अघि उनी माधव नेपाल समूहमा थिए । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमलाई संविधान विरोधी भन्दै उनले पदबाट राजीनामा दिएका थिए । तर, पार्टी विभाजनको समयमा भने उनी एमालेका १० भाइसँगै एमालेमै रहे । उनी पनि आगामी निर्वाचनमा प्रदेशसभा छोडेर संघतर्फ उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

उनी सिन्धुपाल्चोक–१ (क)बाट निर्वाचित सांसद् हुन् । उनी सिन्धुपाल्चोकबाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेको बुझिएको छ भने उनको निर्वाचन क्षेत्र निर्धारण भएको छैन ।

रामेछापबाट चुनाव जितेर प्रदेशसभा सदस्य बनेका कैलाशप्रसाद ढुंगेल पनि आगामी निर्वाचनमा संघतर्फ जाने तयारीमा देखिएका छन् । साढे ३ वर्षसम्म प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हालेका उनी आगामी निर्वाचनबाट संघीय सांसद बन्ने दाउमा छन् । उनी रामेछाप–१ (क)बाट निर्वाचित सांसद् हुन् । उनी रामेछापबाटै संघीय निर्वाचनको तयारीमा लागेका छन् ।

देशभरबाट महत्वका साथ हेरिएको क्षेत्र हो चितवन–३ । चितवन–३ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो । आगामी निर्वाचनमा प्रचण्डले सोही क्षेत्रमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । सो क्षेत्रका एमालेका प्रदेश सांसद हुन् कृष्णप्रसाद भुर्तेल ।

भुर्तेल पनि आगामी निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभातर्फ प्रचण्डसँग चुनाव लड्ने तयारीमा छन् । सोही अनुसार उनी आन्तरिक तयारीमा जुटेका छन् । उनी २०७४ को निर्वाचनमा प्रदेशसभामा चितवन–३ (क)बाट निर्वाचित भएका थिए ।

नुवाकोट २ (क) बाट निर्वाचित एमालेका सांसद केशवराज पाण्डे पनि संघतर्फ जाने तरखरमा छन् । एमाले बागमती प्रदेशका अध्यक्षसमेत रहेका उनी प्रदेशबाट संघतर्फको चुनाव लड्ने तयारीमा लागेको बुझिएको छ । एकै कार्यकालमा २ पटकसम्म मन्त्री बन्ने मौका पाएका उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

काठमाडौं–३ (ख) बाट प्रदेश सांसद जितेका रामेश्वर फुयाल पनि संघको चुनावमा होमिने तयारीमा छन् । उनी काठमाडौं–३ बाटै संघीय चुनाव लड्ने तयारीमा जुटेको बुझिएको छ । उनी डोरमणि पौडेल नेतृत्वको सरकारका पालामा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन् ।

एमाले नेतृ रचना खड्का दोलखाबाट निर्वाचित प्रदेश सांसद् हुन् । उनी पनि आगामी निर्वाचनमा संघतर्फ चुनाव लड्ने तयारीमा जुटेकी छन् । २०७४ को निर्वाचनमा एमालेको समानुपातिक सूचीबाट प्रदेश सांसद बनेकी उनी आगामी निर्वाचनमा दोलखाबाटै संघीय सांसद बन्ने दाउमा रहेकी छन् ।

उनी बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत भइसकेकी छन् । उनले सो मन्त्रालयको जिम्मेवारीमा करिव २ महिना बिताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्