काठमाडाैं | भदौ १२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे गठबन्धनमा रहेका दलहरुले एमालेविरूद्ध भ्रम फैलाएको आरोप लगाएका छन् ।
एमालेको निर्वाचन परिचालन समितिको बैठकलाई आइतवार सम्बोधन गर्दै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने धारणा रहेको ओलीले बताए । एमालेले आइतवार ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा निर्वाचन परिचालन समितिको बैठक आयोजना गरेको थियो ।
‘नेकपा (एमाले)ले जनताका हरेक समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छ र समाधान गर्छ’, ओलीले भने, ‘त्यसैगरी नागरिकताको समस्या पनि समाधान हुनुपर्छ भनेरै आफ्नो नेतृत्वको सरकारका पालामा विधेयक ल्याएको हो तर माओवादीले तीन वर्षसम्म संसदीय समितिमा रोकेर राख्यो ।’
बैठकमा ओलीले निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र संकल्पका साथ लाग्न निर्देशन दिएका छन् । निर्वाचनमा पार्टीले विजय हासिल गर्नु भनेको एमालेका लागि मात्र नभई सिंगो राष्ट्र जोगाउनका लागि भएको ओलीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्