गठबन्धनबाट भावी प्रधानमन्त्री को ?

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
5 Min Read
Aa

काठमाडौं । शनिबार सम्पन्न भएको नेकपा(एमाले) केन्द्रीय समिति बैठकले देशको भावी प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने र त्यसका लागि निर्वाचनमा बहुमत दिलाउन जनतालाई आह्वान गर्ने निर्णय गर्‍यो ।

२ दिनसम्म चलेको बैठकमा अध्यक्ष केपी ओलीले १९ बुँदे राजनीतिक प्रतिवेदन पेश गर्दै मंसिर ४ मा हुने निर्वाचनमा बहुमत ल्याउन पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिने कुरा पनि पारित भयो ।

२०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनमा रहेका दलहरु नेकपा (एमाले) र माओवादी केन्द्रले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि बढाएर निर्वाचनमा होमिएको थियो । निर्वाचनअघि राष्ट्रवादी छवि बनाएका ओलीलाई प्रधानमन्त्री बनाउन जनताले दुई तिहाइ नजिक मत दिएका थिए । तर, पार्टीभित्र कलह मत्थर बनाउन नसक्दा दुई दुई पटक प्रतिनिधि सभा विघटन गरे ।

दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बने पनि ओलीले त्यसलाई जोगाउन सकेनन् । अदालतको आदेशमा पुष्पकमल दाहालसहित टिम माओवादीमै फर्कियो, तर एमाले पनि सग्लो रहेन ।

माधव नेपाल, झलनाथ खनालसहितले पार्टी फुटाएर नेकपा(एकिकृत समाजवादी) गठन गरे । पाँचवर्षे कार्यकालमा राष्ट्रवादी छविमा गिरावट आए पनि पुनः एमालेले अध्यक्ष ओलीलाई केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्दै आगामी प्रधानमन्त्रीको रूपमा अघि सार्‍यो ।

प्रमुख प्रतिपक्ष दलले ओलीलाई प्रधानमन्त्री बनाएर चुनावमा होमिने निर्णय गरे पनि सत्ता गठबन्धनले भने प्रधानमन्त्रीको साझा उमेदवार बनाउन सकेको छैन ।

सिट बाँडफाँटमा रूमलिएको गठबन्धनका दलहरूले भावी प्रधानमन्त्रीको साझा उमेदवार बनाएर चुनावमा होमिने संकेत पनि गर्न सकेको छैन । गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरी सिट बाँडफाँटनै टुंगो लाग्न नसकेको अवस्थामा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा छलफल भइनसकेको बताउँछन् ।

“गठबन्धनभित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने लेवलमा छलफल भएको छैन । सरकारमा भएका दलहरुबीच छलफल भएको भए अलग कुरा हो । हामीले भावी प्रधानमन्त्रीको विषयमा अहिलेसम्म छलफल गरेका छैनौँ,” बाह्रखरीसँग पुरीले भने ।

वर्तमान गठबन्धनको भविष्यको ग्यारेन्टी कसैसँग छैन । गठबन्धनमा आवद्ध दलहरुले चुनाव पश्चात् पनि गठबन्धनलाई निरन्तरता दिने बताइरहेका छन् ।

पाँचथर पुगेका कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले आइतबार चुनावपछि गठबन्धकै सरकार बन्ने दाबी गरे ।

पार्टी प्रवक्ता प्रकाशशरण महत भने अहिले कसको नेतृत्वमा सरकार बन्छ भनेर छलफल सुरु भइनसकेको बताउँछन् ।

“कार्यदललाई सिट बाँडफाँटको मापदण्ड र संख्यासहित प्रतिवेदन बुझाउने मात्र अधिकार हो । प्रधानमन्त्रीको विषय उनीहरुको अधिकार क्षेत्रमा पर्दैन । गठबन्धनको शीर्ष नेताहरूमा पनि अहिले छलफल सुरु भइसकेको अवस्था छैन,” उनले बाह्रखरीसँग भने ।

ज्योतिषको भविष्यवाणी अनुसार ७ पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेका शेरबहादुर देउवा मंसिर ४ पश्चात् छैटौंपटक सरकार प्रमुख बन्ने तयारीमा छन् ।

कांग्रेसले पनि उनैलाई अघि लगाएर चुनाव लड्ने तयारी गरिरहेको एक नेता बताउँछन् ।

पार्टी महामन्त्री गगन कुमार थापा पनि प्रधानमन्त्री बन्नुपर्ने चर्चा पनि कांग्रेस वृत्तमा छ । गगन थापा पनि सरकार सञ्चालनका लागि भन्दै प्रोजेक्ट गभर्मेन्टको काममा तल्लीन छन् ।

तर, प्रवक्ता महत पार्टीबाट देउवाको विकल्पमा अर्को प्रधानमन्त्रीको उमेदवार नभएको बताउँछन् ।

“अहिले पार्टी सभापति प्रधानमन्त्री हुनुहुन्छ, भावी प्रधानमन्त्रीका लागि पनि उहाँ स्वाभाविक हो,” उनले भने,“उहाँकै नेतृत्वमा स्थानीय निर्वाचन सफल भयो । गठबन्धन उहाँकै कारण सम्भव भएको छ । त्यसकारण हामी गठबन्धनभित्र उहाँलाई प्रधानमन्त्री बनाउपर्छ भन्नेमा एकमत हुन्छ ।”

गएको असार ११ गते माओवादी अध्यक्ष प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री बन्ने र देशलाई नयाँ युगतिर लैजान मन भएको सार्वजनिक कार्यक्रममा उल्लेख गरेका थिए । अर्थात् प्रचण्ड पनि प्रधानमन्त्री बन्ने दाउमा छन् । नेकपा सरकार हुँदा पनि अढाई वर्ष प्रधानमन्त्री बन्ने सपना उनको पूरा हुन सकेन । वर्तमान गठबन्धनमा पनि आलोपालोको सर्त देउवासमक्ष प्रचण्डले राख्ने सम्भावनालाई नकार्न सकिन्न । पार्टी सचिव लिलामणी पोखरेल प्रधानमन्त्री कुन दलबाट बनाउने भन्ने गहन विषयमा गठबन्धनभित्र सहमति हुनुपर्ने धारणा राख्छन् ।

“हामी यतिबेला कुन निर्वाचन क्षेत्र कसलाई भनेर गठबन्धनमा छलफल गरिरहेका छौँ । केही दिनमा यसले निष्कर्ष पाउँछ अनि हामी पार्टीबाट उमेदवार छनोट गर्न लागि पर्छौं,” पोखरेलले भने,“ गठबन्धन गरेर जाने भएपछि सिट बाँडफाँटनै टुंगो नलागेसम्म कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा स्वाभाविक हुँदैन । यस विषयमा गठबन्धनभित्र छलफल गर्न बाँकी नै छ।”

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्छु भनेर सार्वजनिक गरिसक्नुभएको छ नि भन्ने प्रश्नमा सचिव पोखरेल देशका लागि पदमा रहेर काम गर्न सकिने अध्यक्षको धारणामात्र भएको टिप्पणी गरे ।

नेकपा(एकिकृत समाजवादी) ले भने प्रधानमन्त्रीको दाबी नगर्ने संकेत देखाएको छ ।

उसको ध्येय गठबन्धनको सहयोगमा राष्ट्रिय राजनीतिमा आफूलाई महत्वपूर्ण शक्तिको रुपमा उभ्याउने देखिन्छ । महासचिव वेदुराम भुसाल व्यक्ति र पदभन्दा पनि पार्टी महत्वपूर्ण भएको बताउँछन् ।

“हामी व्यक्तिवादी पार्टी हैनौं । पहिले पनि कुनै व्यक्तिलाई उमेदवारको रुपमा अघि सारेका थिएनौ । अहिले पनि कुनै व्यक्तिलाई उमेदवारको रुपमा अघि सार्दैनौं,” भुसालले भने ।

प्रतिक्रिया दिनुहोस्