काठमाडौं भाद्र १२,काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ । आइतवार बसेको नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साहले सबै वडाहरूमा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका थिए । बैठकले मेयरको प्रस्ताव अनुमोदन गरेको छ ।
काठमाडौं महानगरको ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्न लागिएको बालेनले बैठकमा बताएका थिए ।
काठमाडौं महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।
त्यसबाहेक, काठमाडौं महानगरभित्रको बजारमा बिक्री वितरण हुने खाद्यन्न, तरकारी र फलफूलको गुणस्तर परीक्षणको लागि पाँच जना फुड टेक्नोलोजी विज्ञ पनि करार सेवामा राख्ने प्रस्ताव काठमाडौं महानगरको कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्