प्रचण्ड र आरजु राणा प्रधानमन्त्री हुनु भनेको देशका लागि दुर्भाग्य हो : महेश बस्नेत

Khabar Khurak
Khabar Khurak १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले अहिलेको सरकार देश र जनताको सरकार नभएको आरोप लगाएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै एमाले नेता बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले चलाइरहेको बताए ।

‘श्रीमान् पदमा भएको कुराको अनुचित लाभ उठाएर अर्बाैं कमाउने खेलमा प्रधानमन्त्री पत्नी लागेकी छन्,’ उनले भने, ‘आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री हुने दौडमा एमाले अध्यक्ष केपी शर्मा ओली १ नम्बरमा, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा २ नम्बरमा, प्रचण्ड ३ र आरजु राणा ४ नम्बरमा छन् ।’

प्रचण्ड र आरजु राणा प्रधानमन्त्री हुनु भनेको देशका लागि दुर्भाग्य हुने उनले बताए ।

काठमाडौंका मेयर बोलन्द्र शाहप्रति लक्षित गर्दै बस्नेतले भत्काएर देश नबन्ने हुँदा निर्माण गरेर मात्रै देश बन्ने भएकाले काम गरेर खाने मानिसको उठिबास लगाउन नहुने बताए ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भने, ‘विकल्प दिएर मात्रै भत्काउनु उचित हुन्छ ।’ आगामी निर्वाचनमा एक बुथ २०० युथको अवधारणा एमालेले अगाडि सारेकाले सोही अनुसार तयारी गर्न बस्नेतले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

‘निर्वाचनमा गठबन्धनले शक्तिको व्यापक दुरुपयोग गर्ने सम्भावना भएकाले तयारी अवस्थामा रहन युवाहरूलाई आग्रह गर्दछु,’ उनले भने ।

कार्यक्रममा एमाले नेता सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, शिवराम तिमल्सिना लगायतले मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर जिल्लालाई एमालेमय बनाउन सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, जसपा लगायतका पार्टी परित्याग गरी २७० जना एमालेमा प्रवेश गरेका एमाले सचिव मोहनवीर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्