कांग्रेस सांसदले देउवालाई भनिन् – माओवादीसँगको अपवित्र गठबन्धन तोडेर एक्लै चुनावमा जाऔं

Khabar Khurak
Khabar Khurak १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडाैं भदौ १३, नेपाली कांग्रेसकी एक सांसदले नेकपा माओवादी केन्द्रसँगको गठबन्धनलाई अपवित्र भन्दै एक्लै चुनावमा जान सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेकी छन् ।

नेपाली कांग्रेसकी एक सांसदले नेकपा माओवादी केन्द्रसँगको गठबन्धनलाई अपवित्र भन्दै एक्लै चुनावमा जान सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेकी छन् ।

माओवादीसँगको अपवित्र चुनावी गठबन्धनले कांग्रेसलाई हित नगर्ने उनले दाबी गरिन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद पार्वती डिसी चौधरीले माओवादीसँगको तालमेल जनताप्रतिको बेइमानी भएको दाबी गरेकी छन् । उनले यसो भन्दा एमाले सांसदले ताली बजाएका थिए ।

‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक अनुरोध गर्न चाहन्छु – माओवादीसँगको चुनावी अपवित्र गठबन्धनले न देशलाई न पार्टीलाई, गठबन्धनले दुवै पार्टीलाई फाइदा गर्दैन । यो अपवित्र गठबन्धन जनतासंँगको बेइमानी पनि हो,’ उनले भनिन्, ‘कांग्रेसलाई बचाउन एक्लै चुनावमा जाने घोषणा गर्नुस् । मंसिरमा कांग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्दैन, अन्तिम समयमा राम्रो काम गर्नु न । अन्यथा वर्तमानदेखि भावी पुस्ताले सराप्ने छन् ।’

यसअघिको संसद बैठकमा उनले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको कदमको स्वागत गरेकी थिइन् । पार्टी सभापतिले कांग्रेस सदस्य मनोनयन गर्दा आफूलाई नराखेको भन्दै उनले कांग्रेस परित्याग गर्ने घोषणा गरेकी थिइन् । उनी दाङबाट समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्