कस्तो दुर्घटना पर्खिरहेछन् कम्युनिस्ट पार्टीहरूले ?

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
25 Min Read
Aa

नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाउँदा, यसका गतिविधि वा आन्दोलनतिर फर्कनुपर्ने हुन्छ । खासमा प्रजा परिषद् पार्टीको गठन (वि.सं. १९९३) र त्यसका क्रियाकलापपछि नेपालमा राजनीतिक चिन्तनको विकास हुन थालेको हो । अक्टोबर क्रान्ति, सफलतातिर उन्मुख चीनको नयाँ जनवादी क्रान्तिका साथै भारतमा चलेको अंग्रेजविरोधी आन्दोलनले पनि नेपालमा राजनीतिक चिन्तनको विकास हुन केही भूमिका खेलेको देखिन्छ ।

नेपाली कम्युनिस्ट आन्दोलनका सबैजसो नेताहरू सुरुमा अन्य संगठनबाट खासगरी लोकतान्त्रिक आन्दोलनबाट आएका हुन् । २००६ सालमा कम्युनिस्ट पार्टी गठन हुनुअघि नेपाल प्रजापरिषद्, नेपाली राष्ट्रिय कांग्रेस आदिको गठन भएको थियो । राजनीतिक रुपमा विभिन्न अवधारणा वा विचारधाराका मानिस त्यतिबेला राणाशासनविरुद्ध सक्रिय थिए । जस्तो कि कवि गोपालप्रसाद रिमाल । उनी साहित्यमा जस्तै क्रान्तिकारी राजनीतिक व्यक्तित्व पनि थिए । उनले पनि राजनीतिको एउटा धारको नेतृत्व गरेका थिए । उनले नेतृत्व गरेको धार केही हदसम्म समाजवादबाट प्रेरित पनि देखिन्थ्यो । लोकतन्त्र वा प्रजातन्त्रको स्थापना मात्रै होइन, आर्थिक समानता पनि हुनुपर्छ भन्ने विचार त्यस दलको थियो । त्यतिखेर राणाशासनविरुद्ध मानिसलाई जगाउन रिमालहरूले भूमिगत रूपले गाउने गरेको गीत (हरफहरू अहिले मलाई सम्झना भएन) झन्डैझन्डै कम्युनिस्टले गाउने खालको थियो । उनीहरूले गाउने गरेको गीतको बोल मलाई कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यले सुनाएका थिए । उनले यो गीत कतै आफ्नो अन्तर्वार्ता वा लेखमा सन्दर्भवश पूरै उद्धृत गरेको मलाई सम्झना छ ।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन हुँदा प्रजापरिषद् पार्टी, कांग्रेस हुँदै विभिन्न धारका मानिस यस पार्टीमा आएका थिए । कम्युनिस्ट विचारधारा विश्वमा सबैभन्दा राम्रो विचारधारा हो, सुन्दर संसार निर्माण गर्नका लागि वैचारिक तहमा योभन्दा राम्रो बाटो अहिलेसम्म आएको छैन भनी बुझेका बौद्धिकहरू यस पार्टीमा जोडिँदै गए । यो पार्टी जनताको जगबाट, जनताका बीच क्रियाशील भएका व्यक्तिहरूको माझबाट, त्यहाँ कुनै गतिविधि भएर बनेको भने होइन । बौद्धिक तहमा माथि पार्टी बन्यो र तलतिर (जनतासम्म) गयो ।

२००७ सालको आन्दोलनका क्रममा ‘दिल्ली सम्झौता’ भएपछि नेकपाले यसलाई धोका भनेको थियो । हामीले चाहेको परिवर्तनको मुद्दालाई, लोकतान्त्रिक आन्दोलनलाई दरबारमा बुझाइयो, त्यसमा पनि मूल सत्ताधारी राणाहरूसँग सम्झौता गरियो, क्रान्ति अझै पूरा भएको छैन, अधुरो छ भन्ने नेकपाको धारणा थियो । सम्झौता दिल्लीमा भएकामा पनि नेकपाको विमति थियो । यसले हाम्रो स्वतन्त्रताको मुद्दामा भारतलाई पनि तानेको छ, यसले हाम्रो राष्ट्रियतालाई संकटमा पारेको छ भन्ने धारणा नेकपाका नेताहरूको थियो ।

आफ्नो यो राष्ट्रवादी विचार र भावनालाई नेकपाले जनतासम्म पुर्‍याउन बल गर्‍यो । एक खालको राष्ट्रवादी भावनाबाट अभिप्रेरित भएरै सुरुवाती चरणमा नेकपा किसान र मजदुरहरूका बीचमा पुग्यो भन्ने लाग्छ ।

सुरुसुरुमा आन्दोलनका धाराका बीच त्यति धेरै फरक देखिँदैन । उदाहरणका लागि, २००४ सालमा भएको मजदुर आन्दोलन, जसमा गिरिजाप्रसाद र नरबहादुर कर्माचार्य दुवै नेता थिए । छुट्टै पार्टी गठन नभइसकेको अवस्थामा जहानियाँ राणाशासनविरुद्ध एक खालको भावना र विद्रोहको माहोल बनेको थियो । यो आन्दोलनमा विभिन्न विचारधाराका मानिस थिए । सुरुको अवस्था के देखिन्छ भने जो प्रतिबद्ध भएर कम्युनिस्ट आन्दोलनमा लागेका थिए, उनीहरू तल जनतासम्म जान थाले ।

नेकपालाई २००९ सालदेखि २०१२ सालसम्म केआई सिंहको जेल विद्रोहको निहुँ पारेर प्रतिबन्ध गरियो । यस अवधिमा खुला कामका लागि ‘जनअधिकार सुरक्षा समिति’ गठन गरेर नेकपाले विभिन्न आन्दोलनका माध्यमबाट आफ्नो भूमिका निर्वाह गर्नुको विकल्प थिएन ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अर्थात् रुस र चीनका बीचमा देखिएको वैचारिक विवादको प्रभाव पनि नेपाली कम्युनिस्ट आन्दोलनमा परेको छ । यसले नेकपालाई विभिन्न धारामा बाँडिन प्रेरित गरेको छ भन्ने मलाई लाग्छ ।

केही आन्दोलनको चर्चा

काठमाडौंमै २०१०/११ सालदेखि नेकपाका ठुल्ठूलै आन्दोलन भएका छन् । खुर्सानी आन्दोलनलाई उदाहरणका रूपमा लिन सकिन्छ । किसानसँग सस्तोमा खुर्सानी किनेर साहुहरूले खासगरी मारवाडी व्यापारीहरूले भारत निर्यात गर्न काठमाडौंमा खुर्सानी डम्प गरेर राखेका थिए । त्यसका विरुद्ध नेकपाले सुनियोजित आन्दोलन गरेको थियो । व्यापारीले लुकाएर राखेको त्यो खुर्सानी जफत गरेर पार्टीले काठमाडौंका विभिन्न ठाउँमा सस्तो मूल्यमा बिक्री वितरण गरेको थियो । काठमाडौं र यसको पेरिफेरीमा किसान आन्दोलन पनि भए, जसको नेतृत्व निर्मल लामा लगायतका नेताहरूले गरेका थिए । लामा आन्दोलनबाटै उदाएका नेता हुन् ।

मोहियानी हकलाई लिएर पनि आन्दोलन भएका थिए । काठमाडौंमा २०११ सालतिर त्रिपुरेश्वरमा हंसमान र त्रिचन्द्र कलेजपछाडि बालचन्द्र शर्मा, अङ्गुरबाबा जोशी र कृष्णप्रसाद पन्तका विरुद्ध मोहियानी हकका विरुद्ध आन्दोलन भएको थियो । किसानहरूलाई मोहियानी हक नदिई जबर्जस्ती घर बनाउन खोज्नेहरू किसानहरूलाई मोहियानी हक दिन बाध्य भएका थिए । २०१० को दसैंताका काठमाडौंमा च्याङ्ग्राकाण्ड पनि घटेको थियो । जनताले बाहिरबाट दसैंमा बेच्न ल्याएका च्याङ्ग्रा लुटेर सस्तोमा लिएका थिए । यो काण्ड नेकपाले गरेको भनेर बदनाम गर्न खोजिए पनि यसमा पार्टीको कुनै भूमिका थिएन । त्यतिखेर उपत्यकाको मध्यभागमा पार्टीको नेतृत्वमा अखिल नेपाल किसान सङ्घ निकै सक्रिय थियो भने उपत्यकाको काँठकाँठमा शुद्धीकरण किसान सङ्घ क्रियाशील थियो । यो पार्टीको नेतृत्वमा भने थिएन । उपत्यका बाहिर पश्चिममा भीमदत्त पन्तले गरेको चर्चित आन्दोलन सबैलाई थाहा भएकै विषय हो ।

ठूलो किसान आन्दोलन तराई क्षेत्रमा भएको थियो । विगतको कम्युनिस्ट आन्दोलनमा अलि बढी चर्चा हुने भनेकै तराईको किसान आन्दोलन हो । खासगरी रौतहटको किसान आन्दोलनका बारेमा हामीले धेरै कुरा सुन्दै आएका छौं । २०१३–१४ सालतिर त्यहाँ ठूलै किसान आन्दोलन भएको हो । ‘तमसुक फट्टा’ आन्दोलनका रूपमा चर्चामा आएको त्यस आन्दोलनमा सामन्तहरूको करोडौं करोड रुपैयाँको तमसुक जलाइएको थियो । किसानले ५–६ महिनासम्म गाउँगाउँमा जुलुस निकाल्दै साहु सामन्तहरूका तमसुक खोसेर लिने र च्यात्ने काम गरेका थिए । किसानहरूको यस आन्दोलनलाई दमन गर्न नेपाली पुलिस फोर्स अपर्याप्त मानेर सरकारले भारतीय पुलिस फोर्स समेत ल्याएको थियो । यी पुलिस फोर्सले किसानलाई नराम्ररी कुटपिट गरे र दमन गरे । किसानले यसको प्रतिरोध गर्नसक्ने अवस्था रहेन । कतिसम्म भने किसानहरूलाई उनीहरूले च्यातेको तमसुक समेत फेरि लेख्न लगाइयो । २०१५ सालमा भएको आम चुनावमा नेपाल कम्युनिस्ट पार्टीका विजयी चारजना सांसद्मध्ये दुई रौतहटबाटै निर्वाचित भएका थिए । यसको कारण एक, त्यहाँ चुनावअघि भएको किसान आन्दोलन थियो भने दोस्रो, जनता आफूमाथि भएको यस निर्मम दमनको बदला लिन चाहन्थे र यो बदला उनीहरूले कम्युनिस्ट पार्टीका उमेदवारलाई जिताएर लिए । झापामा पनि किसान आन्दोलन भयो । तर यस्ता गतिविधिलाई नेकपाले निरन्तरता दिन सकेन, पार्टीका नेतामा क्रमशः वैचारिक विचलनहरू देखिन थाले ।

नेपाली कम्युनिस्ट आन्दोलनले विगतमा जेजस्ता अभियान, आन्दोलन सञ्चालन गरेको थियो, तिनीहरूको खोजीनिती गर्ने, अभिलेखीकरण गर्ने, बाहिर ल्याउने, छलफल चलाउने र जनताको बीचमा पुर्‍याउने काम हुने सकेको छैन । आफ्ना गतिविधिलाई जनतामा पुर्‍याउने र आफ्नो इतिहासलाई सुरक्षित राख्ने कार्यलाई कम्युनिस्टहरूले कुनै महत्त्व दिने गरेका छैनन् ।

नेपालमा कम्युनिस्ट पार्टी अलि समय नहुँदै वा परिपक्व स्थिति नबनीकनै गठन भएको थियो कि भन्ने मलाई लाग्न थालेको छ । यसो भन्नुका कारण धेरै छन् । यस पार्टीलाई सुरुको समयमा जे जति नेताले नेतृत्व गरे, तिनले कम्युनिस्ट चिन्तनलाई बेस ठानेर ग्रहण त गरे तर त्यसलाई आत्मसात् भने गरिसकेका थिएनन् ।

वैचारिक बेमेल

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अर्थात् रुस र चीनका बीचमा देखिएको वैचारिक विवादको प्रभाव पनि नेपाली कम्युनिस्ट आन्दोलनमा परेको छ । यसले नेकपालाई विभिन्न धारामा बाँडिन प्रेरित गरेको छ भन्ने मलाई लाग्छ ।

टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वकाल (१३ माघ २०१२–११ साउन २०१४) मा उनको पार्टी प्रजापरिषद्सँग नेकपाले संयुक्त मोर्चाका रूपमा काम गरेको थियो र यसका लागि ‘जनतान्त्रिक मोर्चा’ बनाइएको थियो । पार्टीमाथि लागेको प्रतिबन्ध हटाउनका लागि नेकपाका केही नेताले राजावादी ‘टोन’ पनि अगाडि ल्याउन थाले । नेकपाको प्रतिबन्ध फुकुवा भई वैधानिक भए राजतन्त्रलाई मान्ने भन्ने खालको शब्दावली मनमोहनजीहरूबाट सार्वजनिक रूपमै आएको थियो । यस खालको सोच पार्टीमा अलि अघिदेखि नै देखापर्न थालिसकेको हो । यहाँदेखि नै नेकपाको आन्दोलन शिथिल हुन थालेको देखिन्छ ।

२०१९ सालदेखि नेकपा राम्ररी नै टुटफुटतिर लाग्यो, राजावादी केशरजंग रायमाझीलाई पार्टीले निकाल्यो । पहिलेदेखि नेतृत्व गर्दै आएका नेताहरूको जुन नीति–कार्यनीति छ, त्यसमा अन्तद्र्वन्द्व हुन थाल्यो । जस्तो ः पुष्पलालले अगाडि सारेको संयुक्त मोर्चाको नीति । नेपाली कांग्रेससँग मिलेर क्रान्ति गर्नुपर्छ भन्ने उनको जुन धारणा थियो, त्यसमा एउटा ठूलो पंक्ति विरोधी रूपमा अगाडि आयो । २०२३ सालसम्म तितरबितर भएर सोलोडोलो कम्युनिस्ट पार्टी झन्डै अस्तित्वमै नरहेको जस्तो देखिन्थ्यो । पुष्पलालले यसपछि नै पार्टीलाई पुनर्गठित गरे । २०२८ सालसम्म आउँदा नेपाली कम्युनिस्ट आन्दोलनमा नक्सलवाडी आन्दोलनको प्रभाव समेत देखियो । यतिबेला झापामा जुन आन्दोलन भयो, उत्पीडित वर्गलाई मुक्ति गर्ने भन्दा पनि वर्ग शत्रुलाई खत्तम गर्ने अभियानका रूपमा देखापर्‍यो त्यो । त्यसमा केही क्रान्तिकारीपन थियो नै, तर त्यो मार्क्सवादसँग बाझिएको थियो । जसको प्रभाव विद्यार्थी आन्दोलन, किसान आन्दोलन लगायतमा पर्‍यो ।

हामीकहाँ सानोतिनो विवादलाई ठूलो बनाउने, विवादलाई सहनै नसक्ने, विवादलाई सही तरिकाले समाधान गर्न चासो नलिने तथा यसका लागि पहल नगर्ने र आफूलाई बेठीक लागेपछि फुटेर अर्को पार्टी बनाइहाल्ने प्रवृत्ति विद्यमान छ । यसो हुनुमा मध्यमवर्गीय व्यक्तिवाद तथा अवसरवादको प्रभावले काम गरेको हो भन्ने देखिन्छ । यसलाई नेता हुने प्रवृत्ति पनि भन्न सकिन्छ । फुटेपछि अर्को पार्टीको नेता हुन पाइयो नि ।

मध्यमवर्गीय अवसरवाद

नेपालमा कम्युनिस्ट पार्टी अलि समय नहुँदै वा परिपक्व स्थिति नबनीकनै गठन भएको थियो कि भन्ने मलाई लाग्न थालेको छ । यसो भन्नुका कारण धेरै छन् । यस पार्टीलाई सुरुको समयमा जे जति नेताले नेतृत्व गरे, तिनले कम्युनिस्ट चिन्तनलाई बेस ठानेर ग्रहण त गरे तर त्यसलाई आत्मसात् भने गरिसकेका थिएनन् । किनभने तिनले आफूलाई सांस्कृतिक र वैचारिक रूपबाट रूपान्तरित गर्नुपर्छ भन्ने कुरालाई खासै महत्त्व दिएनन् । त्यतिबेला एक किसिमले नेकपाको नेतृत्व गर्नेहरूमा सबैजसो मध्यम वर्गीय बुद्धिजीवी नै थिए । पार्टीमा सबैले मानेका र इमानदार नेता पुष्पलाल थिए । उनी पनि हुनेखाने वर्गकै थिए । पार्टीका अरू संस्थापक पनि मध्यम वर्गीय नै थिए ।

संस्थापकहरू मार्क्सवादी विचारधाराबाट प्रभावित थिए, त्यसले अहिलेसम्म काम गरिरहेकै छ । तर भित्रैदेखि कम्युनिस्ट विचारधारालाई आत्मसात् गरेर अगाडि बढ्ने काम पहिले पनि भएन र अहिले पनि हुन सकेको छैन ।

अहिले कम्युनिस्ट पार्टीहरू फुट्ने र नेताहरू गुटबन्दीमा लाग्ने जुन प्रवृत्ति देखिन्छ, त्यो पार्टीभित्रको आन्तरिक, वैचारिक विवादलाई टुंगोमा पुर्‍याउने सही तरिका अपनाउन नसक्नुको परिणाम हो । चिनियाँ कम्युनिस्ट पार्टी अहिलेसम्म विभाजित भएको छैन । त्यहाँभित्र वैचारिक विमतिका धारा र स्कुलहरू छन्, उनीहरूबीच भौतिक आक्रमणसम्म हुने गरेको नदेखिने होइन । तर फुटेर छुट्टै पार्टी गठन भएको देखिँदैन । हामीकहाँ सानोतिनो विवादलाई ठूलो बनाउने, विवादलाई सहनै नसक्ने, विवादलाई सही तरिकाले समाधान गर्न चासो नलिने तथा यसका लागि पहल नगर्ने र आफूलाई बेठीक लागेपछि फुटेर अर्को पार्टी बनाइहाल्ने प्रवृत्ति विद्यमान छ । यसो हुनुमा मध्यमवर्गीय व्यक्तिवाद तथा अवसरवादको प्रभावले काम गरेको हो भन्ने देखिन्छ । यसलाई नेता हुने प्रवृत्ति पनि भन्न सकिन्छ । फुटेपछि अर्को पार्टीको नेता हुन पाइयो नि ।

नयाँ जनवादी क्रान्ति मान्नेहरू जो–जति छन्, उनीहरू एक ठाउँमा बस्न सक्थे, तर उनीहरू स–सानो विवादमा फसिरहेका छन् । जस्तो ः हिजो कांग्र्रेस पार्टीसँग मिलेर क्रान्तिमा सहभागी हुने कि नहुने, ऊ प्रजातान्त्रिक शक्ति हो कि होइन ? यो त्यति ठूलो विवाद होइन, आन्तरिक छलफलबाटै तर्कसंगत रूपमा निष्कर्षमा पुगिने कुरा हो । तर यत्तिमै भनियो, गद्दार पुष्पलाल । पहिले यसो भन्नेले पनि अहिले पुष्पलाल त्यस रूपमा गलत थिएनन् भन्न थालेका छन् । यसको अर्थ, विचारधाराभित्रै कमजोरी निकै छन् ।

कम्युनिस्ट आन्दोलनभित्र अहिले सैद्धान्तिक, वैचारिक, कार्यनीतिक, रणनीतिक जे जति विवाद छन्, ती विवादका बारेमा एकै ठाउँमा बसेर छलफल गर्न सकिन्छ र गर्नुपर्छ । अन्यथा नेपालमा क्रान्ति सम्पन्न गर्न सकिँदैन भन्ने खालको चिन्तन कम्युनिस्ट नेताहरूमा देखिएको छैन । कसैबाट अलिकति भिन्न मत, विरोध वा आलोचना आउने बित्तिकै उसलाई दुश्मनको रूपमा लिने जुन चिन्तनको विकास भएको छ त्यो एकदमै गलत छ ।

केही दिनअघि चार कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरे । ती चार पार्टी छुट्टाछुट्टै हुनुपर्ने कारण के छ ? वैचारिक विवाद हुँदै नभएको होइन, होलान् तर छलफल गरेर समाधानै गर्न नसकिने विवाद छैनन् । मध्यमवर्गीय अवसरवाद वा नेता हुने प्रवृत्तिले समस्यालाई गम्भीर बनाइरहेको छ ।

कम्युनिस्ट पार्टीहरू फुट्ने क्रम चलिरहँदा पनि यसमा लाग्ने जनमत ठूलै हो । ०१५ सालदेखि अहिलेसम्मका चुनाव हेर्दा त्यही देखिन्छ । यस्तो किन भयो भने, मध्यम र निम्न वर्गका बढी जनताले कम्युनिस्ट विचारधारामा आस्था राखेका छन् । खेतीले खान नपुग्ने, रोजगारी वा पेसा व्यवसाय गरे पनि लाउन–खान धौ पर्ने वर्ग वा समुदायका मानिसलाई, दलित, सुकुम्बासी, पछि पारिएका समुदायलाई कम्युनिस्ट पार्टीले केही गर्छ कि भन्ने आशा अझै छ ।

मुद्दा छाडियो

मैले ०६८–०६९ सालतिर केन्द्रीय कमिटीको बैठकमै भनेको थिएँ– हाम्रो कम्युनिस्ट पार्टीले पहिलेदेखि अभ्यास गर्दै र आवाज उठाउँदै आएको तीनवटा कुरालाई परित्याग गरिसक्यो– राष्ट्रियताको सवाल, जनजीविकाको मुद्दा र जनतन्त्रको आन्दोलन । अहिले एमसीसी लगायतले देखाउँछ, राष्ट्रियतामा हामी कहाँ छौँ ? भूमिहीनहरूको, सुकुम्बासीहरूको, गरिबीको रेखामुनिका जनताको आधारभूत समस्या पूर्ति गर्ने वर्गीय चिन्तनका विषयमा पार्टीको, पार्टीका नेताहरूको रुचि नै देखिँदैन । संविधानसभाबाट संविधान बनेको कुरालाई एक अर्थमा जनतन्त्रका रूपमा लिन सकिएला । यद्यपि जनतालाई अधिकारसम्पन्न बनाउने, जनतन्त्रका सबै सवाललाई सम्बोधन गर्ने काम हुन सकेको छैन । संविधान संशोधन गर्ने, प्रत्याह्वान (काम नगरे जिताएर पठाएको मान्छेलाई फिर्ता गर्ने) अधिकार खोइ ? समावेशिताभित्र किसान र मजदुर किन परेनन् ?

कम्युनिस्ट पार्टीहरू फुट्ने क्रम चलिरहँदा पनि यसमा लाग्ने जनमत ठूलै हो । ०१५ सालदेखि अहिलेसम्मका चुनाव हेर्दा त्यही देखिन्छ । यस्तो किन भयो भने, मध्यम र निम्न वर्गका बढी जनताले कम्युनिस्ट विचारधारामा आस्था राखेका छन् । खेतीले खान नपुग्ने, रोजगारी वा पेसा व्यवसाय गरे पनि लाउन–खान धौ पर्ने वर्ग वा समुदायका मानिसलाई, दलित, सुकुम्बासी, पछि पारिएका समुदायलाई कम्युनिस्ट पार्टीले केही गर्छ कि भन्ने आशा अझै छ । तर कम्युनिस्ट पार्टी किन आवश्यक छ, कस्तो विचारधारा वा व्यवस्था सही हो ? कम्युनिस्ट नेताको आचरण, विचार र व्यवहार कस्तो हुनुपर्छ भन्ने चेतना नागरिकमा जति हुनुपर्ने हो त्यति फैलिएको छैन । यसो हुनुमा पनि पार्टीहरूकै कमजोरी छ । उनीहरूले जनतालाई सही किसिमले प्रशिक्षण गर्न सकेका छैनन् र गर्ने इमानदारिता पनि देखाइरहेका छैनन् ।

अहिले कम्युनिस्ट पार्टीहरूले एकदिने, दुईदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने गरेका छन् । त्यसमा समसामयिक अवस्थाका बारेमा, त्यसमा पनि राजनीतिको तात्कालिक विषयमा मात्रै एकोहोरो कुरा सुनाइन्छ । सैद्धान्तिक र वैचारिक प्रशिक्षण दिइँँदैन । त्यहाँ राष्ट्रको आर्थिक र सांस्कृतिक पाटोमाथि बहस हुँदैन । दार्शनिक र नैतिक पाटाका बारेमा चर्चा हुँदैन । जीवनका विविध पक्षमाथि मार्क्सवादको आफ्नै खालको चिन्तन छ, तर तिनका बारेमा कुनै छलफलसम्म गरिँदैन । हाम्रो भूगोलमा प्राचीनकालदेखि विविध दर्शन र विचार निर्माण भए । जस्तो ः सांख्यदर्शन, बौद्धदर्शन आदि । यिनमा द्वन्द्ववाद, भौतिकवाद सबै छन् । तर यिनको अध्ययन, चिन्तनमननमा हाम्रो अलिकति पनि चासो छैन । केवल चुनाव जित्ने मुद्दातिर मात्र मूलधारका पार्टीहरूको चासो छ । एकताका चर्चा हुन्थ्यो– नेवि संघमा आबद्ध दश व्यक्तिभन्दा एकजना अखिल बौद्धिक रूपमा बलियो हुन्छ । अहिले झन्डै यसको ठीक उल्टो स्थिति भएको त होइन ? सोच्नैपर्ने स्थिति छ । हामीमा अध्ययन, चिन्तन–मननको अभ्यास हराउँदै गएको छ ।

कम्युनिस्ट पार्टीका चुनावकेन्द्रित राजनीतिक नाराहरू अझ भनौँ समाजवादी नाराहरू अनेक छन्, तर आर्थिक नारा खोई ? मार्क्सवादले भन्छ, सबै कुराको जग अर्थतन्त्र हो । मार्क्‍सवादले उत्पादन सम्बन्ध र प्रणालीहरूको कुरा गर्छ । हाम्रा कम्युनिस्ट पार्टीका कुरा चाहिँ समाजवादका छन्, तर अर्थनीति चाहिँ मानवता र आम उत्पीडित समुदाय, राष्ट्रका दुश्मनहरू उही साम्राज्यवादीले जोड दिँदै आएको नवउदारवादको छ । यसको विकल्पमा कम्युनिस्ट पार्टीहरूले आफ्नै अर्थनीति अघि सार्नुपर्ने होइन ?

हामीकहाँ माओवादीले ठुल्ठूला कम्युनको कुरा गरेको, केही ठाउँमा कम्युनको अभ्यास गर्न खोजेको पनि देखियो, तर नेतामै त्यो जीवनपद्धति देखिएन ।

अहिले धेरै पार्टीका धेरै कार्यकर्ता हुँदा उनीहरूले मार्क्सवादी विचार जनतासँग बेचिरहेका छन् । तर, उनीहरू स्वयंमा मार्क्सवादी छैनन्, उनीहरूमध्ये धेरैले मार्क्सवाद बुझेका पनि छैनन् ।

म धेरै लामो समय पार्टी पंक्तिमा रहेर काम गरेको मान्छे हुँ । मलाई अहिले कस्तो लाग्न थालेको छ भने मार्क्‍सवादका धेरै कुरा त मैले बुझेकै रहेनछु, बुझ्न धेरै बाँकी रहेछ, म त आफैं जान्ने भएर पो हिँडेको रहेछु ।

समस्या यो पनि हो, मार्क्सवादका आधारभूत कुरा बुझिएन, बुझाइएन । मार्क्सवादलाई गहिरोसँग बुझ्ने, त्यसका अन्तरकुन्तरमा पस्ने, त्यसका कमी–कमजोरी केलाउने काम हामीले गर्दै गरेनौँ । अहिले नेताहरूले खुलेआम भनिरहेछन्– धेरै पढ्यो भने बिग्रन्छ भनेर । मार्क्स मार्क्स भएकै ब्रिटिस लाइब्रेरीको अध्ययनबाट हो । उनले त्यहाँ निरन्तर अध्ययन र खोजीनिती गरिरहन्थे । मार्क्‍सवादका अर्का महान् नेता लेनिनले भनेका छन्– मानव समाजले आर्जन गरेको ज्ञानबाट समृद्ध भइएन भने कम्युनिस्ट हुन सकिँदैन । हामीचाहिँ उल्टो दिशामा हिँडिरहेका छौं ।

नैतिकताको अभाव

कम्युनिस्ट विचारधारालाई मान्ने अलि चेतनशील वा शिक्षित मानिसमा यसप्रति वितृष्णा पनि छ । उनीहरूलाई विशेषगरी कम्युनिस्ट नेताको आचरण, विचार, व्यवहार, जीवनपद्धति, शैलीप्र्रति वितृष्णा उत्पन्न भएको देखिन्छ । एउटै पार्टीका नेताहरू नै मिलेर बस्न सकेका छैनन् । जस्तो ः माओवादी शान्ति प्रक्रियामा आइसकेपछि मोहन वैद्य एकातिर, प्रचण्ड एकातिर, बाबुराम अर्कोतिर बसे, घर–महल भाडामा लिएर । यिनीहरू एउटै घरमा बस्न किन नहुने ? सामूहिक जीवनपद्धति बनाउन उनीहरूले किन नहुने ? भारतमै पनि सानासाना कम्युनिस्ट पार्टीका नेताले समेत सामूहिक जीवन पद्धति चलाएको हामीले देखिरहेका छौं ।

हामीकहाँ माओवादीले ठुल्ठूला कम्युनको कुरा गरेको, केही ठाउँमा कम्युनको अभ्यास गर्न खोजेको पनि देखियो, तर नेतामै त्यो जीवनपद्धति देखिएन । उनीहरूमा व्यक्तिवादी चिन्तन हाबी हुँदै गयो । आफ्नो परिवार र नातागोताको उत्थानमै उनीहरूको चासो गयो । नातावाद, कृपावादलाई प्रश्रय पुर्‍याउने गरी उनीहरू अगाडि बढ्दै गए । मार्क्‍सवादमा त उत्पीडित जनता केन्द्रमा हुनुपर्ने, तर हाम्रा नेताहरूको दृष्टिमा खै ती कहाँ छन् ?

नेताको विचार गलत भएर पनि नैतिक रूपमा सही छ भने उसको गलत विचार केही हदसम्म छोपिन्छ । उदाहरणका रूपमा भारतीय नेता गान्धीलाई लिन सकिन्छ । अंग्रेजहरूको उपनिवेशबाट भारतलाई मुक्त गर्ने विषयमा उनको योगदानलाई उपेक्षा गर्न सकिन्न । तर उनका विचार र नीतिले उत्पीडन र गरिबीमा रहेका भारतीय जनतालाई त्यसबाट पूर्ण रूपमा मुक्त गर्ने काम गर्दैन भन्ने प्रस्ट नै छ, उनीहरूको अवस्थामा केही सुधार गर्न मद्दत गरे पनि । उनको उच्च किसिमको नैतिकता, आचरण र व्यवहारका कारण उनका यी कमीकमजोरीप्रति आम जनताले धेरै चासो राखेको देखिँदैन । यद्यपि उनको नैतिकताकै बारेमा पनि प्रश्नहरू खडा नभएका होइनन् ।

कम्युनिस्टले सकेसम्म ज्ञान आर्जन गर्नुपर्छ र त्यसलाई आलोचनात्मक दृष्टिले हेर्न सक्नुपर्छ । तर अनौठो कुरो, आलोचनात्मक प्रवृत्तिकै विरोधमा नेताहरू देखापरिरहेका छन् ।

हामीकहाँ भन्न त सर्वहाराको पार्टी भनिएको छ, तर त्यस पार्टीको नेताको झोला अर्कैले बोकिदिनुपर्छ, उसलाई छाता अर्कैले ओढाइदिनुपर्छ, जँघार तर्न उसलाई अरूले बोक्नुपर्छ । हाम्रो अभ्यास र परिदृश्य यही छ । यो सामन्ती मनोवृत्ति हो । एकजना पुँजीपतिले समेत यस्तो गर्दैन, उसले सकभर आफ्नो काम आफैँ गर्छ । यसरी कम्युनिस्ट नेताहरू आर्थिक भ्रष्टाचारदेखि यौनका मामिलामा पनि नैतिक रूपमा पतन भइरहेका उदाहरण भेटिन्छन् ।

छोराछोरी अन्तर्जातीय प्रेममा पर्छन्, विवाह गर्छन् तर कम्युनिस्ट नेता बाबुआमाले त्यसमा हस्तक्षेप गर्छन्, छुटाउँछन् । के यो सामन्ती मनोवृत्ति होइन ? बरु पुँजीवादीले यस्ता कुरालाई व्यक्तिगत र स्वविवेकको निर्णय भनेर छाडिदिन्छन् । कम्युनिस्ट पार्टी वा नेताले राम्रा नारा दिए पनि व्यवहारमा त्यसलाई लागू गर्ने प्रयास गर्दैनन् । त्यसैले जनताको आँखामा अहिले उनीहरूको विचार नै ढोंगी र पाखण्डका रूपमा प्रमाणित हुन थाल्दै छ । कतिपय नेता यसका अपवाद होलान् । उदाहरणका लागि मोहन वैद्य । उनको वैचारिक प्रतिबद्धतामा खोट लगाउने ठाउँ छैन, इमानदारिता र नैतिक मामिलामा पनि उनलाई दोष लगाउने ठाउँ छैन । तर नेपाली कम्युनिस्ट आन्दोलनलाई आजको स्थिति अनुरूप अगाडि बढाउने विषयमा उनी दोषमुक्त देखिँदैनन् । यी यावत् कारणले कम्युनिस्ट पार्टीप्रति जनताको जुन आकर्षण र मोह थियो, त्यसमा कमी आइरहेको छ र कतिपय अवस्थामा वितृष्णा बढ्न थालेको देखिन्छ ।

आलोचना र आत्मालोचनाको अभाव 

कम्युनिस्टले सकेसम्म ज्ञान आर्जन गर्नुपर्छ र त्यसलाई आलोचनात्मक दृष्टिले हेर्न सक्नुपर्छ । तर अनौठो कुरो, आलोचनात्मक प्रवृत्तिकै विरोधमा नेताहरू देखापरिरहेका छन् । हामीकहाँ आलोचना गर्‍यो भने विरोधी भइहाल्छ । मार्क्सवादले भन्छ– आलोचनात्मक विवेक नभएको मान्छे मार्क्सवादी नै हुँदैन । मार्क्सवादले आलोचना र आत्मालोचनालाई पार्टीभित्र पनि निकै महŒव दिन्छ र प्रमुख विषयका रूपमा लिन्छ । हामीकहाँ आलोचनाको संस्कार नै नभएसरह छ । त्यसैले पार्टी सदस्यहरू दासहरूको रूपमा परिणत भइरहेका छन् । यो अलि बढी भनेजस्तो देखिएला, यथार्थ यही हो । आलोचना र आत्मालोचना कम्युनिस्ट सङ्गठन सञ्चालनको एउटा आधारभूत परिपाटी हो । तर न नेताहरू कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्तको यस आधारभूत सवाललाई मान्न तयार देखिन्छन्, न त कार्यकर्ता नै यसलाई आफ्नो हतियारका रूपमा लिन उत्सुक देखिन्छन् । नेताले आलोचना सुन्नासाथ दुश्मन ठान्ने प्रवृत्ति भएको हाम्रो आजको अवस्थामा कार्यकर्ताले कसरी आलोचना गर्ने साहस गरोस् । यस स्थितिमा कार्यकर्ता दासबाहेक अर्काे के नै हुन सक्छ र ?

अहिले कम्युनिस्ट नेताहरूले चुनाव लडेर सांसद, मन्त्री, मेयर आदि हुने संसदीय व्यवस्था र वर्ग उत्थानको चिन्तनभन्दा पर सोच्न सकेकै छैनन् । यसभन्दा पर पुग्ने यिनीहरूले भविष्य देखेकै छैनन् । यसको पनि कारण छ– केही समययता लगातार विश्व कम्युनिस्ट आन्दोलनले असफलता बेहोर्दै आएको छ । कम्युनिस्ट नेतृत्वमा बनेका सरकारहरू पतन भएका छन् । यसको कारण खोजेर यसबाट सकारात्मक शिक्षा लिनुको सट्टा नेतृत्व नै यसको नकारात्मक प्रभावबाट आन्तरिक रूपले ग्रस्त छ र बाहिर जे–जस्तो कुरा गरे पनि उसको कम्युनिस्ट विचारधाराप्रतिको प्रतिबद्धता आन्तरिक रूपले धर्मराइरहेको छ ।

मलाई लाग्छ, एउटा ठूलो दुर्घटना नभई नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढ्नेछैन । यो भनेको– नेताहरूको विचार र व्यवहार सही भएन, यिनीहरू सुध्रिनुपर्छ भनेर कार्यकर्ताले कि लखेट्नुपर्‍यो, अथवा हामी खत्तम भयौँ भनी कम्युनिस्टहरूले एकै ठाउँमा उभिएर आत्मालोचना गर्नुपर्‍यो र अगाडि बढ्नुपर्‍यो । आन्दोलन खत्तमै भयो भन्ने वितृष्णा एउटा चरम बिन्दुमा नपुगेसम्म वा नेताहरूलाई कार्यकर्ता वा जनताले नलखेटेसम्म आन्दोलनले तत्काल सही बाटो लिने देखिँदैन ।

कम्युनिस्ट नेताहरूले अहिलेको आफ्नो विचार, आचरण, व्यवहार, जीवनपद्धति आदि नबदली हुँदैन । यसका लागि आचारसंहिता बनाएरै लागू गर्नुपर्ने हुन्छ । संसदीय ढर्राभन्दा माथि उठेर, एक ढिक्का भएर सही चिन्तन र सही विधि–प्रक्रियामा पार्टीलाई सञ्चालन गर्न पहल गर्ने हो भने यस अवस्थाबाट पार पाउन र ठूलो कम्युनिस्ट जनमतलाई एकीकृत गर्न नसकिने होइन ।

प्रतिक्रिया दिनुहोस्