नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले अतिरिक्त समयमा काम गरेबापत ‘ओभर टाइम’ भत्ता (ओटी) नै वर्षको २ अर्ब हाराहारीमा बुझ्ने गरेको पाइएको छ ।’बिहान ८ बजे आसपासमा त विद्युतीय हाजिरीमा लाइन नै हुन्छ । त्यसरी हाजिरी गरेर तत्कालै फर्किनेहरू साँझ फेरि आएर हाजिरी गर्ने गरेका छन्,’
कतिपय कर्मचारीले हाजिरीका लागि पुगेकै भरमा तलब र भत्ता पचाउने गरेका छन् । प्राधिकरणमा ओटीको दुरुपयोग कतिसम्म बढेको छ भन्ने कुरा आर्थिक वर्ष २०७६/०७७ मा कर्मचारीहरूले बुझेको ओटीको तथ्यांकले नै देखाउँछ ।
उक्त आर्थिक वर्षमा प्राधिकरणका कर्मचारीहरूले १ अर्ब ९१ करोड रुपैयाँ ओटी बुझेका थिए । पछिल्ला दुई आर्थिक वर्षमा पनि सोही हाराहारीमा ओटीमा खर्च भएको प्राधिकरण स्रोतको दाबी छ ।
आर्थिक वर्ष २०७६/०७७ मा नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रमा मात्रै ओटीमा २ करोड २६ लाख ७१ हजार ८५० रुपैयाँ खर्च भएको देखिन्छ ।
बानेश्वर वितरण केन्द्रमा २०७८ को जेठ महिनामा मात्र ८३ जना कर्मचारीहरूले ६ लाख ९९ हजार ४४६ रुपैयाँ ओटी बुझेका थिए । एक महिनामा न्युनतम २० देखि अधिकतम ८० घण्टासम्म ओभर टाइम काम गरेको देखाएर कर्मचारीहरूले अतिरिक्त पारिश्रमिक बुझेका छन् ।
विदुरकुमार कडरियाले ७१ घण्टा ओटीबापत १६ हजार ४७५ रुपैयाँ, राजेन्द्र श्रेष्ठले ७१ घण्टा ओटीबापत १४ हजार ७४१ रुपैयाँ, राधाकृष्ण श्रेष्ठले ७१ घण्टा ओटीबापत १३ हजार ५८ रुपैयाँ, सुनिल तण्डुकारले ७१ घण्टा ओटीबापत १२ हजार ८५० रुपैयाँ बुझेका छन् ।
सोही वितरण केन्द्रमा २०७८ चैत १६ गतेदेखि २०७९ वैशाख १५ गतेसम्मको तथ्यांक हेर्दा ७१ जना कर्मचारीहरूले ओटी भत्ता खाएका छन् । विदुरकुमार कडरियाले १५९ घण्टा, प्रेम कुमार महतोले १४० घण्टा, पार्वती नेपालीले १४० घण्टा, बलभद्र झाले १२४ घण्टा, केशवप्रसाद पराजुलीले ११२ घण्टा, सुमनकुमार श्रेष्ठले १०७ घण्टा, दिलिपकुमार थापा मगरले १०५ घण्टा, नवराज ढुंगानाले १०५ घण्टा ओटी भत्ता एक महिनामै बुझेका छन् ।
केन्द्रीय कार्यालयमै नियमविपरीत अधिकृतसम्मले बुझे ओटी
नेपाल विद्युत् प्राधिकरणको सामान्य सेवा विभागमा पनि अनावश्यक रूपमा कर्मचारीहरूलाई ओटी भत्ता खुवाउने गरिएको तथ्य फेला परेको छ । प्राधिकरणको नियमअनुसार सहायक स्तरका कर्मचारीहरूले मात्र ओटी खान पाउँछन् । तर प्राधिकरणको केन्द्रीय कार्यालयमै नियमविपरीत अधिकृत स्तरका कर्मचारीहरूले पनि ओटी बुझेका छन् ।
२०७६ पुस १६ गतेदेखि माघ १५ गतेसम्म १ महिनामा त्यहाँ कार्यरत सबै सहायक कर्मचारीहरूले ओटी भत्ता बुझेका छन् ।
फिल्डमा काम गर्ने कर्मचारीहरूलाई अतिरिक्त समयमा काम गरेबापत ओटी भत्ता दिनु स्वाभाविक हो ।
तर, कार्यालयभित्र कार्यालय समयमै काम सम्पन्न गर्नुपर्ने दायित्व बोकेका कर्मचारीहरूलाई पनि अस्वाभाविक रूपमा नियमविपरीत ओटी भत्ता खुवाएको पाइएको छ ।
सहायक निर्देशक प्रमिला अर्यालको काम सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्य हेर्नु हो ।
दैनिक गर्नुपर्ने कामहरू सम्पन्न गरी रेकर्ड व्यवस्थापन गर्न अतिरिक्त समय बसी कार्य गर्नुपर्ने भन्दै उनलाई ओटी भत्ता खुवाइएको छ ।
प्रशासकीय अधिकृत मदन गिरीको काम सामान्य प्रशासन शाखाको प्रमुख भई सम्पूर्ण प्रशासनिक कार्य गर्नु हो ।
प्रधान कार्यालयको सुरक्षा, सरसफाइसम्बन्धी कार्यको अनुगमन र विभिन्न दैनिक प्रशासनिक कार्यहरू कार्यालय समयका अतिरिक्त बिहान बेलुका बसेर गर्नुपर्ने भन्दै उनलाई पनि ओटी खुवाइएको छ ।
‘सिभिल इञ्जिनियर’ खेमराज भण्डारी र राजु भट्टराई केन्द्रीय सेवा शाखाका प्रमुख हुन् । केन्द्रीय कार्यालयअन्तर्गत विभिन्न निर्माणसम्बन्धी कार्यको अनुगमन गर्नुपर्ने भएकाले अतिरिक्त समयमा बसी काम गर्नुपर्ने भन्दै दुवैलाई ओटी खुवाइएको छ ।
‘मेकानिकल इञ्जिनीयर’ हरिनारायण यादवको काम सवारीसम्बन्धी आइपर्ने कार्यहरूको व्यवस्थापन गर्नु हो ।
केन्द्रीय कार्यालयअन्तर्गत सम्पूर्ण अटोमोबाइल्ससम्बन्धी कार्य व्यवस्थापन गर्नुपर्ने भएकाले अतिरिक्त समयमा बसी काम गर्नु भन्दै उनलाई ओटी भत्ता खुवाइएको छ ।
सहायक कम्प्युटर अधिकृत निलम पौडेल सामान्य प्रशासन महाशाखा तथा सामान्य सेवा विभागको दैनिक प्रशासनिक कार्यहरू व्यवस्थापन गर्छन् । कार्यालयका सम्पूर्ण चिट्ठीपत्रहरू, टिप्पणी भिसाका चिट्ठीपत्रहरू कम्प्युटराइज्ड गर्नुपर्ने भन्दै उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।
सहायक प्रशासकीय अधिकृत बमबहादुर श्रेष्ठ दैनिक प्रशासनिक काम गर्छन् । उनलाई पनि ओटी भत्ता खुवाइएको छ । वरिष्ठ सहायक अञ्जु कटुवालको काम सामान्य प्रशासन शाखाको दर्ता, चलानी, फाइलिङ गर्ने, विद्युतीय सुविधा रेकर्ड कम्प्युटराइज्ड गरी नियमित राख्ने हो । उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।
वरिष्ठ सहायक जनार्दन त्रिपाठीको काम सवारी इन्धनको कुपन काट्ने, सवारी व्यवस्थापनसम्बन्धी आइपरेको काम गर्ने हो । विभागको काम कार्यालय समयमा नसकिएको कार्य गर्न भन्दै उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।
वरिष्ठ सहायक ‘मिटर रिडर सुपरभाइजर’ सानुमाया ठकुरी सामान्य सेवा विभागको निर्देशकका पीए हुन् । निर्देशकको सचिवालयमा बसी दर्ता चलानी गर्ने, विभागमा निर्देशक कार्यालयमा बस्दा समेत बस्नुपर्ने भन्दै उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।
वरिष्ठ सहायक ‘मिटर रिडर सुपरभाइजर’ जगदीशप्रसाद जैसीको कम सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने, ‘फाइलिङ’ गर्ने हो । उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।
‘मेकानिकल सुपरभाइजर’ प्रदीपकुमार यादवको काम सवारी साधन व्यवस्थापन गर्नु हो । उनलाई पनि ओटी भत्ता खुवाइएको छ । ‘फोरमेन’ सुशीला बास्तोलाको काम केन्द्रीय सेवा शाखाको मातहतमा रहेर कार्य गर्नु हो । केन्द्रीय कार्यालयका मर्मत सम्भारसम्बन्धी कार्य गर्नुपर्ने भन्दै उनलाई ओटी भत्ता खुवाइएको छ।
‘सिनियर मिटर रिडर’ प्रमिला आचार्यको काम मूल दर्ता चलानीसम्बन्धी कार्य गर्ने, फोटोकपी गर्ने, फ्याक्स पठाउने हो। उनलाई पनि ओटी भत्ता खुवाइएको छ।
कार्यालय सहयोगी कमल पोडेको काम महाशाखा प्रमुखको कार्यकक्षमा आगन्तुकहरूलाई जलपान गराउने, चिट्ठीपत्र बुझाउन जाने हो । महाशाखा प्रमुख रहुञ्जेल कार्यालयमा बस्नुपर्ने भन्दै उनलाई ओटी भत्ता खुवाइएको छ ।
कार्यालय सहयोगी कान्छा कुचिकारको काम मूल दर्तामा आउने दैनिक चिट्ठीपत्रहरू दर्ता भइसकेपछि सम्बन्धित कार्यालयमा बुझाउन जाने हो । कार्यालय समयअघि र पछि कार्यालय खोल्ने तथा बन्द गर्नुपर्ने भन्दै उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।
कार्यालय सहयोगी बालकृष्ण पोडे, खेमबहादुर राईको काम पनि त्यही हो । ती दुवै जनालाई ओटी भत्ता खुवाइएको छ ।
यसरी हेर्ने हो उक्त शाखामा कार्यरत २० जना कर्मचारीहरूमध्ये सहायक निर्देशक प्रमिला अर्यालले ६२ घण्टा, सिभिल इञ्जिनीयरहरू खेमराज भण्डारीले ७० घण्टा, राजु भट्टराईले ६७ घण्टा, हरिनारायण यादवले ६२ घण्टा ओटी भत्ता बुझेका छन् ।
प्रतिक्रिया दिनुहोस्