महिला कामदारमाथि चरम अत्याचार गर्ने नेत्री पक्राउ

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

भारतको राँचीमा घरेलु कामदारमाथि चरम अत्याचार गर्ने भारतीय जनता पार्टीकी नेत्री सीमा पात्रालाई प्रहरीले पक्राउ गरेको छ ।विगत दुई दिनदेखि लुकिरहेकी उनलाई अरगोडा प्रहरीले पक्राउ गरेको हो । आज उनलाई अदालतमा पेश गरिनेछ ।

आईएएस अधिकारी महेश्वर पात्राकी पत्नी सीमाले २९ वर्षकी आदिवासी अपांगता भएकी महिलालाई दासी बनाएर राखेकी थिइन् । पीडित महिलाको नाम सुनिता हो ।

उनलाई पेटभरि खान दिइँदैनथियो र फलामे छडले हिर्काइन्थ्यो । तातो तावाले पनि उनलाई पोल्ने गरिएको थियो । अहिले उनलाई राँचीको रिम्स अस्पतालमा भर्ना गरिएको छ ।

सीमा पात्राले आफूमाथि लागेका सबै आरोप झूटो भएको बताएकी छन् । आफूलाई फसाइएको उनको भनाइ छ ।

यातनाको खबर सार्वजनिक भएपछि भाजपाले सीमालाई पार्टीबाट निकालेको छ ।

पीडित सुनितालाई राष्ट्रिय महिला आयोगको टोलीले भेटघाट गरेको छ । टोलीले छिट्टै प्रतिवेदन पेश गर्नेछ ।

पात्रा दम्पती राँचीको भीआईपी इलाकामा बस्छन् । उनीहरूका दुई सन्तान छन् ।

पीडित सुनिताले आफूमाथि शुरूदेखि नै अत्याचार हुँदै आएको बताइन् । उनी काम छोडेर जान चाहेको भए पनि आठ वर्षदेखि बन्धक बनाइएको बताउँछिन् । घर जान्छु भन्दा नराम्ररी कुटपिट गरिने गरिएको उनको भनाइ छ । बिरामी हुँदा उपचार समेत नगराइने गरेको उनी बताउँछिन् ।

सुनिताले कसोकसो गरी मोबाइलमा सरकारी कर्मचारी विवेक आनन्द बास्केलाई मेसेज पठाएर आफूमाथि भएको अत्याचारको जानकारी दिइन् । त्यही सूचनाका आधारमा अरगोडा प्रहरी कार्यालयमा जाहेरी दर्ता गरियो । त्यसपछि राँची प्रहरी र जिल्ला प्रशासनको टोलीले सुनिताको उद्धार गर्‍यो ।

आफ्नी कामदारमाथि अत्याचार गर्ने सीमालाई भाजपाले बेटी बचाओ बेटी पढाओ अभियानको प्रदेश संयोजक समेत बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्