लागूऔषध तस्करी भनेपछि ठूल्ठूला माफियाहरू तपाईं हाम्रो मस्तिष्कमा आउँछन् ।लागूऔषध कारोवारमा पैसाको खोलो बग्छ, भनिन्छ । तर, प्रहरीले यस्ता एक व्यक्तिलाई पक्राउ गरेको छ, जसले गाउँबाट ऋण लिएर लागूऔषध तस्करीमा लागेको बयान दिएका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोले भदौ १० गते सार्वजनिक गरेका धादिङ खनियाबास गाउँपालिका– १ का सुकबहादुर तामाङ लागूऔषध एम्फेटामाइन तथा चरेस ५ केजीसहित पक्राउ परेका थिए ।
उनको साथबाट प्रहरीले ६ लाख ७५ हजार रुपैयाँ नगद र विभिन्न देशका सक्कली तथा नक्कली पैसा समेत बरामद गरेको थियो ।
पक्राउ परेका तामाङले लागूऔषध खरिद गर्नका लागि गाउँबाट ५ लाख रुपैयाँ लिएको बयान प्रहरीलाई दिएका छन् ।
‘उनको साथबाट बरामद नगदको स्रोत खोज्दा गाउँबाट ऋण लिएको बताएका छन् । ऋण लिए/नलिएको पुष्टि गरिरहेका छौं,’ ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकास खनालले लोकान्तरसँग भने, ‘उनी बारम्बार बैंकक जाने आउने गरेकाले उनले लागूऔषध खरिदका लागि ऋण लिएको हो भन्ने देखिन्छ ।’
उनी यसअघि पाकिस्तानमा १ केजी खैरोहेरोइनको क्याप्सुल पेटमा राखेर श्रीलंका जान लागेको अवस्थामा पक्राउ परेका थिए ।
प्रहरीका अनुसार सन् २०१८ जनवरी १८ अर्थात् २०७४ माघ १० गते उनलाई पाकिस्तानी प्रहरीले लाहोर एयरपोर्टमा पक्राउ गरेको थियो । उनलाई लागूऔषध ओसापसारको अभियोगमा पाकिस्तानको क्रिमिनल लको दफ ९ (बी) अनुसार १६ महिना जेल सजाय गरिएको थियो ।
अनुसन्धानमा खटिएका अधिकारीका अनुसार पेटमा बोकेर लाने एउटा क्याप्सुलको तौल १० ग्राम हुन्छ । त्यस्ता १ सय ८ वटा क्याप्सुल खाएर उनी श्रीलंका जान लागेका थिए । त्यसरी पाकिस्तानमा बरामद भएको १ किलो ८० ग्राम खैरो हेरोइनलाई १ किलो मात्र देखाएको उनले प्रहरीलाई बयान दिएका छन् ।
त्यदि ८० ग्राम बढी खैरो हेरोइन देखएको भए त्यहाँको कानूनअनुसार उनलाई ५ वर्षसम्म जेल सजाय हुन्थ्यो ।
‘उसको नेक्सस बलियो छ भन्ने त्यो कुराले पनि बुझिन्छ,’ ब्यूरोका एक अधिकारीले भने ।
यसको विषयमा आधिकारिक धारणा परराष्ट्र मन्त्रालयमार्फत पाकिस्तान सरकारलाई पत्र पठाएको एसएसपी खनालले बताए ।
‘उसले भनेको कुरा सत्य हो कि होइन, अन्यत्र कनेक्सन छ कि छैन भन्ने जान्नका लागि हामीले पाकिस्तान सरकारलाई पत्र पठाएका छौं, त्यसको जवाफ के आउँछ हेरौं,’ एसएसपी खनालले लोकान्तरसँग भने ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लागूऔषध बोक्नका लागि उनी नेपालबाट पाकिस्तान गएको देखिएको छ ।
प्रहरीका अनुसार उनलाई लागूऔषधका अर्का तस्कर फूलमान तामाङले पाकिस्तान पठाएका थिए । उनी पनि धादिङकै हुन् ।
विदेश धाउँदा भिसाले ५ वटा पासपोर्ट भरिए
प्रहरीको अनुसन्धानमा उनी विदेश आउजाउ गर्दा भिसाले ५ वटा पासपोर्ट भरिएको देखिएको छ । उनी सबैभन्दा पहिला मलेसिया गएको पाइएको छ । त्यहाँ केही समय बसेपछि नेपाल फर्किएर उनी फेरि कतार गएका थिए । त्यहाँ केही समय बसेर फर्किएका उनी धेरैपटक बैंकक र थाइल्यान्ड गएको उनको पासपोर्टबाट देखिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
‘उनी कयौंपटक थाइल्याण्ड र बंैकक गएको देखिन्छ । किन बढी आउजाउ गर्थे भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ ब्यूरोका प्रमुख एसएसपी विकास खनालले लोकान्तरसँग भने ।
अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार उनकी श्रीमती वा कुनै आफन्तले थाइल्यान्डमा बसेर लागूऔषध कारोवार गर्ने गरेको देखिन्छ । तर उनले आफ्नो श्रीमतीसँग सम्बन्धविच्छेद भएको बताएका छन् । थाइल्यान्डमा चिनियाँ नागरिकसँग लागूऔषध खरिद गर्ने गरेको बयान प्रहरीलाई दिएका छन् ।
‘उनले हामीलाई चिनियाँ नागरिकसँग सम्बन्ध भएको बताएका छन्, तर उनको अन्य गतिविधि र प्रमाण हेर्दा त्यस्तो देखिँदैन, पक्कै पनि कुनै आफन्त त्यहाँ हुनुपर्छ,’ अनुसन्धानमा खटिएका अधिकारीले थपे ।
प्रहरीका अनुसन्धानमा उनले कयौंपटक थाइल्यान्डबाट लागूऔषध खरिद गरेर नेपाल ल्याउने गरेको पाइएको छ, तर कहिले कति ल्याएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
के छ अन्तर्राष्ट्रिय माफियासँगको सम्बन्ध ?
कयौंपटक विदेश आउजाउ गरेको र पाकिस्तानको जेलमा हुँदा समेत लागूऔषध खरिदबिक्री गर्ने गरेको बयान सुकबहादुरले प्रहरीलाई दिएका छन् ।
‘मैले पाकिस्तानको जेलमा हुँदा समेत लागूऔषध खरिद गरेको छु,’ उनको बयानलाई उद्धृत गर्दै ब्यूरोका अधिकारीले लोकान्तरसँग भने ।
उनले पाकिस्तानको जेलमा चिनजान भएका व्यक्तिसँग थाइल्यान्डमा लागूऔषध खरिद गर्ने गरेको प्रहरीलाई बताएका छन् ।
ब्यूरोका प्रमुख एसएसपी विकास खनालका अनुसार धेरैपटक विदेश आउजाउ भएकाले उनको अन्तर्राष्ट्रिय माफियासँगको सम्बन्धका बारेमा इन्टरपोलमार्फत जानकारी लिनका लागि पत्राचार गरिएको छ ।
‘अहिले उनको अन्तर्राष्ट्रिय कनेक्सन देखिएको छैन, हामीले केही तथ्यांकहरू छन् कि भन्ने विषयमा बुझिरहेका छौं,’ एसएसपी खनालले लोकान्तरसँग भने ।
५ हजारमा किनेर १५ हजार प्रतिग्रामसम्म एम्फेटामाइन बिक्री
सुकबहादुरले ५ देखि ७ हजार प्रतिग्राममा एमफेटामाइन किनेर १५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीलाई बताएका छन् ।
उक्त लागूऔषध १० हजार रुपैयाँ प्रतिग्राममा बेच्दै गरेको अवस्थामा तारकेश्वर नगरपालिका– १० लोकतान्त्रिक चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
‘एम्फेटामाइन महंगो लागूऔषध अन्तर्गत पर्छ, त्यो नेपालमा एलिट वर्गका मान्छेले किन्ने गरेका छन्,’ ब्यूरोका अधिकरीले लोकान्तरसँग भने, ‘यो ५ हजारमा किनेर १५ हजार प्रतिग्रामसम्ममा बिक्री हुने गरेको पाइएको छ ।’
प्रहरीका अनुसार उनले एम्फेटामाइन (आइस) ७९ ग्राम थाइल्यान्डबाट आफैंले ल्याएका थिए । प्रहरीले उनको साथबाट ४ केजी ९५ ग्राम चरेस, ९० ग्राम गाँजा, ३ लाख ७५ हजार नेपाली रुपैयाँ, २३६ थान नक्कली अमेरिकन डलर, नक्कली १ हजारको नोटसमेत बरामद गरेको छ ।
यसका साथै पाकिस्तान, भुटान, म्यानमार, माल्दिभ्स, फिलिपिन्स, यूएई, मलेसिया, भारत र बंगलादेशको मुुद्रा समेत बरामद गरेको छ ।
उनको साथबाट सालकको ११ वटा खपेटा, जनावरको दाँत ६ वटा, पन्छीको खुट्टा ३ वटा, जनावरको हड्डी ८ वटा समेत बरामद गरिएको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्