पाँचखाल बृहत् खानेपानीको काम समयमै सक्न मुस्किल

Khabar Khurak
Khabar Khurak १६ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काभ्रेको पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ ।आयोजनाको निर्माणको काम तीव्ररुपमा अघि बढेको बताइए पनि सामग्री अभावका कारण समयमै आयोजना सम्पन्न नहुने भएको हो ।

निर्माण कम्पनीले खानेपानी वितरणका लागि पोलेथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ । केही स्थानमा पाइप बिछ्याउने तथा धारा वितरणका क्रममा विवाद भएको छ ।

विक्रम संवत् २०७६ भदौमा सम्झौता भएको आयोजना आउँदो पुस महिनामा सम्पन्न गर्नुपर्ने समय सीमा तोकिएको थियो ।

निर्धारित समयमा आयोजनाको आयोजना सम्पन्न नहुने भएको उपभोत्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताए । उनका अनुसार संरचना निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका ७ हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । कोरोना संक्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामलाई पछिल्लो समय तीव्र पारिएको हो ।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका साथै सडक निर्माणको काम भइसकेको छ । हाल मूल र रिजर्भ ट्यांकीसम्म पहुँचमार्गको काम भइरहेको लामिछानेले बताए । उनका अनुसार कोरोना संक्रमणका लहर तथा गत असार–साउनमा सुनकोशी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्‍याएका कारण आयोजनाको काममा ढिलाइ भएको हो ।

सरकारले चालू आवको बजेट वक्तव्यमा २०७९ भित्र पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्ने उल्लेख छ । परियोजनाको २०७६ भदौ १२ गते शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोत्ताबीच सम्झौता गरिएको थियो । आयोजनाको काम नेपाली कम्पनी कन्काई विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) ले गरिरहेका छन् ।

खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीले आयोजना अनुगमनका क्रममा सरकारले दिएको समय सीमाभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले निर्माण कम्पनीलाई गुणस्तरीय सामग्री प्रयोग गर्न समेत निर्देशन दिए । खानेपानी आयोजना १ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा सक्ने सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्