काठमाडौं । काठमाडौंको बुद्धनगरमा निर्माणाधीन साढे ६ तले घरबाट हामफालेर ज्यान गुमाएकी किशोरीको ‘सुसाइड नोट’ फेला परेको छ ।
बुधबार साँझ करिब ६ बजे निर्माणाधीन घरको पाँचौँ तलाबाट दुई किशोरकिशोरीले हामफालेका थिए । उनीहरूको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो ।
उनीहरू दुवैजना मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा–९ मा अध्ययनरत थिए ।
भारतको विहार स्थायी घर भई काठमाडौंको पेप्सीकोलामा बस्दै आएका १४ वर्षीय किशोर र काठमाडौंकै घट्टेकुलो बस्दै आएकी १४ वर्षीया किशोरीको मृत्यु भएको हो ।
बुधबार उनीहरू दुवैजना विद्यालय पोसाकमा स्कुल गएका थिए । सोही पोसाकमै उनीहरूले उक्त घरबाट हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
उनीहरू दुईजना प्रेम सम्बन्धमा रहेको हुन सक्ने र केही समस्या आएकाले गलत बाटो रोजेको हुन सक्ने प्रहरीको बुझाइ छ ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार मृतक किशोरीको ‘ब्याग’मा उनको ‘सुसाइड नोट’ भेटिएको छ । ती अधिकारीले भने, “सुसाइड नोटमा ‘ममी, मलाई माफ गरिदिनु, मैले गल्ती गरेँ’ लगायत कुराहरू लेखिएका छन् । अन्य कुरा अनुसन्धानमै छन् ।”
उनीहरू विद्यालयबाट कति बेला निस्किएका थिए, के–के भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज संकलन गरिरहेको छ । घटनाको प्राविधिक पाटोबाट समेत प्रहरी अनुसन्धानमा सक्रिय रहेको परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्