३६ वर्षपछि शिक्षामन्त्री पौडेल हलमा

Khabar Khurak
Khabar Khurak २० भाद्र २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं : ‘प्रकाश चलचित्र हेर्नु मेरा निम्ति अवसर हो’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शनिबार जमलस्थित विश्वज्योति हल प्रवेश गर्दै भने। किनभने उनी ३६ वर्षपछि दोस्रो पटक हलमा पाइला टेकेका थिए। उनी भन्छन्, ‘यही चलचित्रले हल प्रवेश गर्ने मौका जुर्‍यो। ३६ वर्षअघि एक पटक आएको रहेछु। अहिले दोस्रो पटक हो। शिक्षासँग जोडिएको चलचित्र भएकाले जसरी पनि आउन जरुरी ठानें।’

हलमा चलचित्र सुरु हुनुअघि आयोजित अन्तरक्रियामा बोल्दै शिक्षामन्त्री पौडेलले जुम्लामा अझै पनि भौतिक पूर्वाधारदेखि धेरैमा परिवर्तन जरुरी भएको औंल्याए। चलचित्र हेरेर बाहिरिएपछि शिक्षामन्त्री पौडेलले प्रस्तुत प्रतिविम्व अहिलेको परिस्थितिमा मेल नखाएको प्रत्रिक्रिया दिए। यसै प्रसंगमा चलचित्रमा एउटै पार्टीको मात्र प्रस्तुतिले जनयुद्ध र राजनीतिक पूर्वाग्रह राखेको देखिएको उनले टिप्पणी गरे। हलबाट बाहिरिएलगत्तै उनले भने, ‘चलचित्रमा प्रयोग गरिएका कतिपय दृष्य र बिम्बहरू राजनीतिक पूर्वाग्रहसहित प्रयोग गरिएको लाग्यो। चलचित्र जनयुद्ध लडेर आएको पार्टीप्रति लक्षित देखियो’, शिक्षामन्त्री पौडेलले भने, ‘शिक्षकसँग सम्बन्धितभन्दा एउटा आस्थासँग सम्बन्धित देखें।’

मन्त्री पौडेलले नेपालमा शिक्षाको स्तर चलचित्रमा प्रस्तुत भएकोभन्दा धेरै अघि बढेको बताए। सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको र अहिले शिक्षामा धेरै सुधार भइसकेको भन्दै उनले ४० वर्ष पहिलेको जस्तो चलचित्रमा देखाइएको तर्क गरे। समग्रमा चलचित्र राम्रो बनेको र एउटा सन्देश दिन खोजेको भन्दै उनले चलचित्रमा प्रस्तुत गरिएको समावेशी र गरिवीप्रति भने ऐक्यबद्धता रहेको जनाए।

नेपाल शिक्षक महासंघकी अध्यक्ष  कमला तुलाधरले चलचित्रमा कुनै एक पार्टीलाई मात्र देखाइनु प्रतिबिम्ब मात्रै भएकाले पूर्वाग्रह नभएको बताइन्। ‘अहिले सरकारी विद्यालयका शिक्षकलाई नपढाउने, बसीबसी तलब खाने, राजनीतिमा सहभागी हुन्छन् भन्ने आरोप २०४० सालदेखि झेल्दै आएका छन्। यसलाई सुधार्नका लागि हामीले प्रयास गरिरहेका छौं। यसकारण अहिले धेरै सामुदायिक विद्यालय उदाहरणीय बनेका छन्’, उनले भनिन्।

चलचित्रका लेखक विकास सुवेदी आफै पनि शिक्षकका छोरा भएकाले सरकारी विद्यालयको शिक्षक नियुक्तिदेखि उपलब्धिसम्म जानकार भएकाले सोही कथाबस्तु देखिएको बताए। ‘हामी नेपाललाई सिंहदरबारको वरीपरीबाट हेर्छौं। विशेषतः थानकोट पारीबाट वा साँगामाथिबाट मात्रै काठमाडौंलाई हेर्ने दृष्टिकोण जहिलेसम्म रहन्छ, तबसम्म एकात्मक राज्य संरचनाको राजनीतिमा प्रयोग गरिरहेको देखिन्छ। यसर्थ समग्र नेपाल समेटिनु पर्छ’, उनले भने, ‘हाम्रा जीवन, भूगोल र त्यहाँको भोगाइहरू बाहिर आउनु पर्छ। चलचित्र सामान्य विषय होइन। चार वटा गीत, द्वन्द्व र अन्त्यमा हिरोले बचाउने मात्रै होइन। चलचित्र साहित्यको उच्चतम बिन्दु हो’, उनले भने।

चलचित्रमा आमाको भूमिकामा रहेकी दिया मास्के काठमाडौंकी हुन्। तर, उनी कर्णालीको परिवेश र त्यहाँको जीवनशैली, भाषालगायतलाई अँगाल्न कठिन भए पनि कलाकार भएकाले हरेक भूमिकालाई निर्वाह गर्नुपर्ने बाध्यता भएको बताउँछिन्। ‘फरक परिवेश अनुसारको नयाँ भूमिका, पात्र र बोलीचाली गाह्रै भए पनि रमाएर सिकें। म काठमाडौंमा नेवार परिवारमा हुर्केकी हुँ। आफ्नै संस्कार र भाषा बुझेकी मैले त्यहाँको परिवेशमा भिज्न सुटिङ अघि नै जुम्लाका स्थानीय महिलाबाट भाषा सिकें’ उनले भनिन्, ‘उनीहरू नै मेरा गुरु हुन्।’ प्रकाशका निर्माता महेन्द्र अधिकारीले कर्णालीको कथामा लगानी गरेको बताए। ‘मैले कर्णालीको सोचमा लगानी गरेको हो। यो सोच पवित्र छ। लगानी संधै नाफाका लागि मात्रै गरिँदैन’, उनले भने। दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, राजन खतिवडा, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्