पाल्पामा पनि गिद्ध सचेतना दिवस मनाइयो

मिलन वि.क
मिलन वि.क २३ भाद्र २०७९, बिहीबार
3 Min Read
Aa

मिलन विश्वकर्मा
पाल्पा, २३ भदौ । पाल्पामा पनि बुधबार विविध कार्यक्रमको आयोजना गरी १४औं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ ।

अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति तानसेन नगरपालिका–९ मदनपोखराले जेष्ठ नागरिक तथा एसइई मेधावी छात्र, छात्रालाई सम्मान गरेर यो दिवस मनाएको हो । जेष्ठ नागरिक तुलसादेवी पाण्डेय, देबका न्यौपाने, भुवानीदेवी पराजुली, एसइई मेधावीतर्फ बैभब घिमिरे, सन्ध्या पाण्डेय, उपभोक्ता दिलमाया थापा, गणेशप्रसाद खनाल, पूर्वअध्यक्ष सुरेसकुमार भट्टराईलाई सम्मान गरिएको छ ।

यस वनमा कुचीकारका रुपमा चिनिने गिद्ध बस्ने गर्छन् । यसको संरक्षणमा जेष्ठ नागरिकको अनुभव आदानप्रदान र गिद्धको महत्वबारे पछिल्लो पुुस्तालाई जानकारी हस्तान्तरण गर्नका लागि यसरी दिवशका अवसरमा सम्मान गरिएको वन उपभोक्ता समितिका अध्यक्ष हरिचन्द्र भुसालले बताउनुभयो । उहाँकाअनुसार उत्कृष्ट उपभोक्ता र समितिका पूर्वअध्यक्षलाई सम्मान गरिएको छ ।

उनीहरूलाई वन वातावरण तथा भु–संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश कार्यालयका सचिव उद्वबबहादुर घिमिरेले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभएको हो । वनले गरेको रचनात्मक कामको उहाँले प्रशंसा गर्नुभयो ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको १ देखि ७ गतेसम्म गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको उहाँले बताउनुभयो । नेपालमा गिद्ध संरक्षणका लागि २०६३ सालदेखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध गरिएको उहाँले बताउनुभयो । यसको संरक्षणमा लाग्न यहाँका उपभोक्तालाई सचिव घिमिरेले सुझाव दिनुभयो ।

पछिल्लो समयमा गिद्ध लोप हुँदै गएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो । खानाको रुपमा सिनोको अभावका भएपछि लोप हुँदै गएको हो । सिनोको व्यवस्था गरेर लोप हुँदै गएको गिद्ध संरक्षणमा लाग्न यहाँका उपभोक्तासँग वन कार्यालय आवश्यक सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । वनलाई व्यवस्थापन गर्न यहाँका अनावश्यक कटुसका रुख फडानी गर्ने व्यवस्था मिलाएको उनले बताउनुभयो । काटिएका ती कटुसका काठमा सिटाके च्याउ उत्पादन गर्न थालिएको छ । वनलाई वहुउपयोगी रुपमा उपयोग गरेर आम्दानी लिन उपभोक्तालाई सुझाव दिनुभयो ।

यहाँ एउटा ठुलो सिमलको रुख छ । त्यही रुखमा बस्दै आएका करिब सय भन्दा बढी गिद्ध संरक्षण अभियानका क्रममा यस वनको विकास भएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । तर खानाको अभावले अधिकांश गिद्ध यहाँ छाडेर अन्यत्र बास सरिसकेका छन् । यस वनको आकर्षकको रुपमा रहेका गिद्धलाई यहीँ वनमा बस्ने व्यवस्थाका लागि उपाय खोज्न आवश्यक रहेको बताउनुभयो । यस वनमा हाडखोर प्रजातीको गिद्ध पाइन्छ।

वन महासंघ पाल्पाका अध्यक्ष निरञ्जन भुसालले वन नीतिले सामुदायिक वनमा उपभोक्तालाई काम गर्न अप्ठ्यारो रहेको बताउनुभयो ।
समितिका कोषाध्यक्ष केशवप्रसाद बस्यालले स्वागत गर्नु भएको कार्यक्रममा उपाध्यक्ष दिनेश बस्यालले सञ्चालन गर्नुभएको थियो ।
समितिका अध्यक्ष हरिचन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सन्देशमुलक साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको भएपनि २००९ देखि अन्तराष्ट्रिय रुपमा मनाउन थालिएको हो ।
गिद्ध आफैले सिकार गर्दैन। मरेको प्राणीको सिनो मात्र खाने हुँदा वातावरणलाई प्रदुषण र दुर्गन्धरहित बनाउन यसको भूमिका रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्