एमाले पाल्पाले संविधान दिवस मनायो

मिलन वि.क
मिलन वि.क ३ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

पाल्पा, ३ असोज । नेकपा एमाले पाल्पाको आयोजनामा संविधान दिवसका अवसरमा सोमबार तानसेनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे नेपालको संविधानका बारेमा चर्चा गर्नुभएको थियो । संविधानमा सबै वर्ग, लिङ्ग र समुदायको अधिकारका बारेमा उल्लेख रहेको बताउनुभयो । तर कार्यान्वय पक्ष दरिलो नभएको उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले नेपाली जनता आफैले लेखेको संविधान भएको बताउनुभयो । यस्तो खुसियालीमा पाल्पामा सरकारीस्तरको कुनै पनि कार्यक्रम आयोजना नहुन दुःखद भएको बताउनुभयो ।

अहिलेको गठबन्धन सरकारले संविधानको धज्जी उडाउने काम गरिरहेको छ । संविधान भत्काएर एसपीपी जस्ता राष्ट्रघाती सम्झौता, नागरिकता विधेयक ल्याएर भारतीयलाई तुरुन्तै नागरिकता दिनेगरी कानुन बनाउनु खोज्नुले यो सरकार नेपाल र नेपाली जनताको हितमा नरहेको पुष्टि भएको दाबी गर्नुभयो । संविधान रक्षाका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई विजयी गराउन अपिल गर्नुभयो ।

गैरे नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिश हुनुभएको छ ।

यस्तै प्रदेश सदस्य पर्शुराम भट्टराइले यो संविधान समाजवाद उन्मुख भएको बताउनुभयो । उहाँको एमाले पाल्पा क्षेत्र नम्बर २ ‘क’बाट प्रदेससभा निर्वाचनका लागि सर्वसम्मत एकल उम्मेदवारको नाम सिफारिश भएको छ ।

अब हुन गइरहेको निर्वाचन अग्रगामी र पश्चगामीबीचको लडाइँ भएको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । गठबन्धनका नाममा संविधानलाई कुल्चेर काम गरिरहेको दक्षिण पन्थी दललाई पराजित गरेर एमालेका उम्मेदवारलाई जिताउन उहाँले अपिल गर्नुभयो ।

अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामजी पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीले संविधानको कार्यान्वयनमा एमालेले मुख्य भूमिका खेल्नुपर्ने अवस्था आएको बताएका थिए । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य ठाकुरप्रसाद लोहागुन, तीर्थप्रसाद गौतम, शिक्षक संगठनका नेता रामप्रसाद ढकाल लगायतले सुझाव दिनुभएको थियो ।

यस वर्ष पाल्पामा संविधान दिवसका अवसरमा सरकारी निकायका कुनै पनि कार्यक्रम आयोजना भएन।

प्रतिक्रिया दिनुहोस्