माओवादी पाल्पा जिल्ला सदस्यसहित ३० जना एमाले प्रवेश

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २१ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

पाल्पा, २१ कात्तिक । नेकपा माओवादी केन्द्र पाल्पाका सदस्य विष्णु अधिकारीसहित ३० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तानसेनमा आयोजित एक कार्यक्रमकाबिच नेकपा एमालेका केन्द्रीय पोलिटब्यूरो सदस्य ठाकुर गैरे, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य नारायणप्रसाद आचार्य, प्रदेश सदस्य डाक्टर पुरनमान बज्राचार्य, जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, सचिव रामजी पोखरेलले अबिर, माला लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । प्रवेश गर्ने सबैजना माओवादीको कार्यकर्ता रहेका एमाले पाल्पाका कार्यालय सचिव दीपक विश्वकर्माले बताउनुभयो ।

पार्टी प्रवेश गर्दै विष्णु अधिकारीले मुलुकको विकास र समृद्धिका लागि काम गर्ने राष्ट्रवादी पार्टी नेकपा एमाले भएका कारण आफू यही पार्टीमा प्रवेश गरेको बताउनुभयो । माओवादीले आफ्नो नीति सिद्धान्त छाडेर केवल सत्ता स्वार्थका लागि गठबन्धन गरेको छ । जनयुद्धको लक्ष्यअनुसार काम नगरी माओवादी कार्यकर्तालाई धोका दिने काम गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा ठाकुर प्रसाद गैरेले आगामी मंसिर ४ पछि एमालेको नेतृत्वमा बहुमतको सरकार बन्ने बताउनुभयो । पाल्पामा विकास गर्ने पार्टी एमाले हो । एमालेप्रति जनताका लहर बढ्दै गएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेका उम्मेदवारको विजयी सुनिश्चित भएको गैरेले बताउनुभयो । उहाँ पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

कार्यक्रममा पाल्पा क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि सिंगो जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराखेर काम गर्ने बताउनुभयो । एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, सचिव रामजी पोखरेलले निष्ठावान, इमानदार र विकासवादी एमालेका सबै उम्मेदवारलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्