पाल्पा, २१ कात्तिक । प्रेस चौतारी पाल्पाले प्रकाशन गरेको पाल्पा प्रेस चौतारी बुलेटिनको विमोचन तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
नेकपा एमालेको तर्फबाट पाल्पामा उम्मेदवार रहनुभएका दुई प्रतिनिधिसभा सदस्य र ४ जना प्रदेशसभा सदस्यका उम्मेदवारहरुको जीवनी, राजनीतिक यात्रा, प्रतिबद्धता सहित प्रेस चौतारीको इतिहास तथा विभिन्न विषयहरुलाई समेटेर प्रेस चौतारीले बुलेटिन प्रकाशन गरेको हो ।
प्रमुख अतिथि नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरे, क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्य, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, क्षेत्र नं. १ (२)का प्रदेशसभा सदस्य उम्मेदवार खेमबहादुर सारु, क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्य परशुराम भट्टराई, संविधानसभा सदस्य नारायणी शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की लगायतले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि गैरेले प्रेस चौतारीले प्रकाशन गरेको उक्त बुलेटिनले पार्टीका उम्मेदवारको जीवनीसँगै प्रतिबद्धताहरुलाई समेत राम्रोसँग समेटेको बताउनुभयो । उहाँले एमाले पार्टी र अभियानहरुलाई पाल्पाली सञ्चारकर्मीहरुले राम्रो महत्व दिई प्रकाशन प्रसारण गर्नुभएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यले घरदैलो तथा भेटघाटका क्रममा मतदाताहरुमा उत्साह देखिएको र मतदाताहरु सूर्यमा मतदान गर्न आतुर रहनुभएको बताउनुभयो । क्षेत्र नं. १ (२)का प्रदेशसभा सदस्य उम्मेदवार खेम बहादुर सारुले मतदाताहरुले दिनुभएको उत्साहले आफूहरुमा अझ अगाडि बढ्ने प्रेरणा मिलेको बताउनुभयो क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराइले पनि मतदाताहरुमा उत्साह रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस चौतारी केन्द्रीय सदस्य मिलन विश्वकर्मा, प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रेस चौतारी पाल्पाकी उपाध्यक्ष बन्दना पोखरेलको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्