पाल्पा, २१ कात्तिक । तानसेन नगरपालिका–१० तेल्घामा नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमबार एक कार्यक्रमकाबिच कृष्णबहादुर रानाको नेतृत्वमा २० जनाभन्दा बढी कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका एमाले जिल्ला कमिटीका सदस्य लोचनप्रसाद तिमिल्सेनाले बताउनुभयो । उनीहरूलाई एमाले पोलीटब्यूरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुरप्रसाद गैरे, २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई लगायतका नेताले अबिर र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
कार्यक्रममा युवा नेता ठाकुरप्रसाद गैरेले पाल्पामा एमालेको जीत सुनिश्चित रहेको बताउनुभएको छ । पछिल्लो समयमा अन्य पार्टीबाट एमालेमा प्रवेश गर्नेहरूको आकर्षण बढेको छ । लाल किल्लाको रुपमा रहेको पाल्पामा अत्याधिक मतसहित एमालेका उम्मेदवार विजयी हुने उहाँले ठोकुवा गर्नुभयो । आफूहरूले जितेपछि यहाँका जनताको मर्म र भावनाअनुरुप काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराइले आफू निर्वाचित भएपछि यहाँको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य गोपाल पौडेल, जिल्ला कमिटी सचिव रामजी पोखरेल, सदस्यहरू लोचनप्रसाद तिमिल्सेना, गणेश विष्ट लगायतले विकासवादी पार्टी एमाले भएको भन्दै ध्वजावाहक सूर्य चिन्हमा मतदान गरी इमानदार र निष्ठावान उम्मेदवारलाई अमूल्य मत दिएर विजयी गराउन अपिल गर्नुभयो ।
एमाले वडा कमिटीका अध्यक्ष बाबुराम रावलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तानसेन नगरकमिटी अध्यक्ष गुराँस आत्रेयले गर्नुभएको थियो ।
आजै तेल्घाका विभिन्न ठाउँमा उम्मेदवारले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
यसअघि आइतबार करिब ३० जना नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्