पर्यटनमन्त्री श्रेष्ठ भन्छन्- समृद्धिको जनआकांक्षा गठबन्धनले पूरा गर्छ

खबर खुराक
खबर खुराक २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ- ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षालाई वाम-लोकतान्त्रिक गठबन्धनले पूरागर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौँको कलंकीमा आज साेमबार गठबन्धनको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम-लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकांक्षा आफूहरूले पूरा गर्ने बताए ।

प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे ।

सत्ता गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरागर्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको बताउँदै उनले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एक ढिक्क भएको बताए ।

साथै उनले काठमाडौँ -८ मा आफूले सुरू गरेका कयौँ परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको बताए ।

मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको ब‍ताए ।

प्रतिक्रिया दिनुहोस्