काठमाडौँ — उत्कृष्ट पुनरागमन गर्दै नेपालले यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न १ सय ९२ रनको लक्ष्य पाएको छ । पहिलो १० ओभरमा बिनाक्षति ७० रन जोडेर आक्रामक सुरुआत गरेको यूएईलाई नेपालले ४३.२ ओभरमा १ सय ९१ रनमा अलआउट गरेको हो ।
ललित राजवंशी र सोमपाल कामीले ३–३ विकेट लिँदै यूएईको मध्यक्रमलाई भत्काएका थिए । ललितले १० ओभरमा ४१ र सोमपालले ७.२ ओभरमा ३५ रन खर्चे । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए ।
मोहम्मद वासिम र वृत्य अर्भिन्दले टस जितेर ब्याटिङमा आएको यूएईलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । उनीहरुले १२ ओभर भित्र ७२ रन जोडेका थिए । वृत्यलाई २५ रनमा आउट गरी नेपालले पहिलो विकेट लिएको थियो । दीपेन्द्रसिंह ऐरीको बलमा सोमपाल कामीले मिडविकेटमा क्याच लिएपछि वृत्य ३९ बलमा २५ रन बनाई आउट भए ।
वामिसले ५० रन बनाए । उनी ललित राजवंशीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शिकार भए । वामिसले ४६ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । सोमपालले पूर्व कप्तान रोहन मुस्ताफालाई ४ रनमा बोल्ड गरे ।
ललितले जस्तै कुशल भुर्तेलले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो विकेट लिए । कुशलको लेग स्पिनमा यूएईका कप्तान सीपी रिजवान २२ रनमा नेपालका कप्तान रोहित पौडेलबाट समातिए । रिजवानले ३४ बल खेली २ चौका प्रहार गरे ।
एलिसन सराफुले ३५ रन बनाए । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । डेब्यु गरिहेका विष्णु सुकुमरन १५ रनमा आउट भए । बसिल हमिदले २६ बल खेली १ चौका र २ छक्का प्रहार गरि २४ रन जोडे ।
पहिलो खेलमा ८४ रनले पराजित भई तीन खेलको शृंखलामा पछाडि परेको नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । हरिशंकर शाहको स्थानमा आरिफ शेखलाई ल्याइएको छ । हरिशंकरले पहिलो खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए
प्रतिक्रिया दिनुहोस्