Ad imageAd image

सुकुम्बासीका मुद्दा उठाएर सुकुम्बासी नै उम्मेदवार

खबर खुराक
खबर खुराक ३० कार्तिक २०७९, बुधबार
4 Min Read
Aa

३० कात्तिक, काठमाडौं । सर्लाही हजारियाका मनोज सहनी पछिल्लो दुई महिनादेखि आफ्नो दलको लागि भोट माग्दै चुनावी मैदानमा छन् । श्रम गरेर बचेको समय साँझ बिहान सहनी वरपरका गाउँमा पैदलै डुल्छन् ।

न पार्टीको झण्डा, न कुनै दलबल र बाजा गाजा, पछिल्लो दुई महिनादेखि यसै गरी चुनावी प्रचारमा छन् उनी । उनको खल्तीमा पार्टीले उपलब्ध गराएको केही चुनावी पर्चा छ । मतदाता र आफूले चिनेको मानिस जहाँ भेट्छन् त्यही आफ्नो पार्टीलाई भोट हाल्न र सुकुम्बासी समस्या समाधान गर्नमा सघाउन उनी आग्रह गर्छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दलले उनलाई आगामी चुनावका लागि समानुपातिककको बन्द सूचीमा राखेको छ । आफैं सुकुम्बासी सहनी आफ्नो दलले समानुपातिकमा न्यूनतम मत सीमा (थ्रेस होल्ड) पूरा गरे संसदमा पुगेर सुकुम्बासी समस्या समाधानका लागि कानुन बनाउने मतदातालाई बुझाइ रहेका छन् ।

‘हाम्रो त पार्टी नै सुकुम्बासी न पैसा न पहुँच, जनताको दैलोमा पैदलै’, सहनी भन्छन्, ‘घर घर पुगेर मतदातालाई गोलाकार भित्रको षट्कोण चिह्नमा भोट हाल्न भन्दै हिँडेको छु ।’

- Advertisement -
Ad image

लामो समयदेखि देशले सुकुम्बासी समस्या भोगे पनि यसको समाधानका लागि ठूला दलहरुले कहिल्यै चासो नदिएका कारण आफै चुनावी आन्दोलनमा होमिएको उनले बताए ।

दाङको लमही नगरपालिका–३ अलकापुरकी सुमित्रा कुमाल आफैं सुकुम्बासी हुन् । उनी राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दलसंग जोडिएको १३ वर्ष भयो । सुकम्बासी, हरवा चरवा, कम्लहरी गरी १३ लाख भन्दा धेरै मानिसहरुको समस्या समाधानमा आफ्नो दलले आवाज उठाउने भन्दै उनी पनि यसपटक सो दलको समानुपातिक उम्मेदवार छिन् ।

छरछिमेकका घर, खेत र दोबाटोमा पुगेर उनी आफ्नो दललाई थ्रेसहोल्ड पूरा गर्ने मतका लागि खटेको एक महिना भयो । ‘सुकुम्बासी समस्यालाई सबैले हेला गरेँ । हामी त पार्टी पनि सुकुम्बासी एजेण्डा पनि सुकुम्बासी’, कुमाल भन्छिन् ‘हामीलाई लालपूर्जा खोइ ? हाम्रो उचित व्यवस्थापन खोइ ? आफ्नो आवाज आफैं उठाउन हामी चुनावमा होमिएको हो ।’

चुनाव प्रचार र अभियानका लागि स्रोत साधन र प्रचार सामग्री समेत आफ्नो पार्टीसंग नभएको उनले सुनाइन् । पार्टीले थोरै मात्र पर्चाहरु छपाउन सकेको भन्दै उनले मतदातालाई साँचेर पर्चा बाँड्ने र मुखैले चुनाव चिह्न र दलको नीतिबारे बुझाउन काम गरिरहेको उनको दाबी छ ।

कपिलवस्तुकी खुना विक र तेजबहादुर परियार, पर्साकी प्रमिला वाइवा, सर्लाहीकी रीना देवी, मकवानपुरकी शशिकुमारी पौडेल लगायत देशका ३० भन्दा बढी जिल्लाका उम्मेदवार यसैगरी प्रचारमा हिँडेको सो दलले जनाएको छ ।

सुकुम्बासी, कम्लरी, मुक्त हरवा, चरवाको व्यवस्थापनलाई मुद्दालाई प्राथमिकतामा राखेर आफ्नो पार्टीले काम गरिरहेको र यस पटकको निर्वाचनमा देशैभर राज्य र दलहरुले नहेरेको समस्याले थिचिएकाहरु आफैं उम्मेदवार रहेको पार्टीका अध्यक्ष जयवन्त बिक्रम शाह बताउँछन् ।

रामेछापमा एउटा प्रदेशसभामा प्रत्यक्षसहित ३० भन्दा बढी जिल्लाको प्रतिनिधित्व गर्नेगरी दलले समानुपातिकमा उम्मेदवार उठाएको र अधिकाशं उम्मेदवारहरु सुकुम्बासी, अर्ध सुकुम्बासी, मोही, कम्लरी, मुक्त हरवा चरवा भएको शाह बताउँछन् ।

‘उत्पीडित लाखौं घर परिवारको यो मुद्दा हामी २०३६ साल देखि आवाज उठाइरहेका छौं । तर, कहिल्यै दिगो समाधान भएन’, अध्यक्ष शाह भन्छन् ‘यो पटक हामीलाई कानुन बनाउने संसदमा जनताले पु¥याए भने सुकुम्बासीको समस्या सुकुम्बासीले नै समाधान गर्नेछन् ।’

राष्ट्रिय मुक्ति आन्दोलन पार्टीले राज्य सत्ताको हकमा भ्रष्टाचार र कुशासन मुक्त देश, जनजीविकाको हकमा १० लाख घर परिवारको भूमि, लालपुर्जा र घरविहीन वा स्थानविहीनताको समस्या समाधान र फोहोरमुक्त देश निर्माणलाई चुनावी एजेण्डा बनाएको शाह बताउँछन् ।

पार्टीका अनुसार नेपालमा ५ लाख परिवारहरु सुकुम्बासी, अर्ध सुकुम्वासी, मोही, आंकडा र उखडावाला, मुआब्जा, सट्टटा भर्नावाला, आठ र नौं नम्बरी वाला छन् । उनीहरुसंग जोतभोग गरेका जग्गाको लालपूर्जा छैन । यस्तै, ५ लाख परिवार मुक्त हरवा, चरवा, ओगाइ, तराई, कम्लहरी, हली, गोठाला, वादी देउकी र झुमाहरु छन् ।

यिनीहरुले पनि जोतभोगको अधिकार र जग्गा पाउनुपर्ने अवस्था रहेको अध्यक्ष शाहले बताए । यिनै समस्या समाधान गर्न आफ्नो पार्टीको उम्मेदवार पनि सुकुम्बासी, मोही, मुक्ता हरवा कमैया र अपाङ्ग रहेको भन्दै उनले पार्टीलाई चार लाख हाराहारी समानुपातिक मत ल्याएर थ्रेस होल्ड कटाउने चुनौती रहेको शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्