लगातार १४ महिनासम्म घाटामा रहेको शोधनान्तर स्थिति पहिलो पटक बचतमा गएको छ । गत असोज महिनामा शोधनान्तर स्थिति करिब साढे १२ अर्ब रुपैयाँले बचतमा रहेको हो ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार असोज महिनामा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको असोजसम्ममा शोधनान्तर स्थिति ७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १ लाखले बचतमा रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज महिना) मा रेमिटान्स आय स्थीर रहेपनि आयातमा कमी भएको र नेपालले प्राप्त गर्ने वैदेशिक सहायता (ऋण र अनुदान) मा बृद्धि भएपछि शोधनान्तर स्थिति बचतमा गएको हो । देशमा भित्रिने र देशबाट बाहिर जाने रकमको हिसाब नै शोधनान्तर स्थिति हो ।
प्रतिक्रिया दिनुहोस्