Ad imageAd image

नेपालले युएईलाई ३ विकेटले हरायो, शृंखलामा १-१ को बराबरी

खबर खुराक
खबर खुराक ३० कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

३० कात्तिक, काठमाडौं । मध्यक्रमले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित रचेको छ ।

यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य ७ विकेट गुमाएर भेट्टाउँदा मध्यक्रमका कुशल भुर्तेल, गुल्सन झा र आरिफ शेखले संहालिएर ब्याटिङ गरे । ४७.५ ओभरमा सोमपाल कामीले चौका प्रहार गरी नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् ।

थोरै लक्ष्य पछ्याएको नेपालको सुरुवाती तीन विकेट सस्तैमा गुमाउँदा दवावमा परेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका अर्जुन साउद पहिलो ओभरमै रनको खाता नखोली आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके ।

- Advertisement -
Ad image

कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो खेलमा रन बनाउन सकेनन् । उनी ८ रनमै युएईका रोहन मुस्तफाबाट एलबीडब्यूको शिकार बने । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले ५९ बलमा ४ चौकासहित २६ रन बनाएर पारी संहाल्ने प्रयास गरेका थिए ।

दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे । २९.१ ओभरमा कुशल भुर्तेल ३५ रनको स्कोरमा आउट हुँदा नेपाल १०६-६ को कठिन स्थितिमा थियो ।

तर, सातौं विकेटका लागि आरिफ शेख र गुल्सन झाले ६२ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाले जितको आधार बनाएको छ । गुल्सनले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्बाधिक ३७ रन बनाए । आरिफ ३३ रनमा अविजित रहे । सोमपाल कामीले पनि १६ बलमा २ चौकासहित अविजित १६ रन बनाए ।

बलिङमा युएईका रोहन मुस्तफाले ३, हजरत विलालले २ तथा बसिल हमिदले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुनुअघि १९१ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्